पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति
काठमाडौं । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताए । मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन गर्न विस्तृत अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा देखिएको छ । त्यसपछि पूर्वाधार क्षेत्रमा ३०७ अर्ब रुपैयाँ (१.१ अर्ब डलर) बराबरको क्षति भएको छ । बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरहरूमा क्षति पुगेको उनले जानकारी दिए । मन्त्री इकबालले भनेअनुसार, यी बाढीजन्य क्षतिहरूका कारण चालू आर्थिक वर्ष (जुलाई २०२५ देखि जुन २०२६ सम्म) मा पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले कमी आउनेछ । यसअघि ४.२ प्रतिशतको लक्ष्य राखिएको भए पनि अहिले ३.५ देखि ३.९ प्रतिशतको दरमा सीमित हुने अनुमान गरिएको छ । उनले भने, ‘यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुर्ननिर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछ । विशेषगरी पूर्वाधार पुनः निर्माण, जनजीविका पुनःस्थापना र भावी जलवायु जोखिमको सामना गर्ने क्षमता विकासमा ध्यान दिइनेछ ।’ रासस
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या ५० करोड नाघ्यो
बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र (सीएनएनआईसी) द्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, पछिल्ला ६ महिनाभित्र मात्रै करिब २६ करोड ६० लाख नयाँ प्रयोगकर्ता थपिएका छन् । सन् २०२४ को अन्त्यमा २४ करोड ९० लाख प्रयोगकर्ता रहेका थिए भने अहिले यो सङ्ख्या बढेर ५१ करोड ५० लाख पुगेको हो। यो वृद्धिसँगै चीनमा जेनेरेटिभ एआई प्रविधिको प्रयोग दर ३६.५ प्रतिशत पुगेको जनाइएको छ। यसले प्रविधिप्रति जनताको चासो र पहुँच द्रुत रूपमा फैलिएको संकेत गर्छ । विशेषज्ञहरूका अनुसार यस्तो प्रविधिले शिक्षा, व्यापार, सञ्चार तथा मनोरञ्जनका क्षेत्रहरूमा महत्वपूर्ण परिवर्तन ल्याइरहेको छ ।
अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै
काठमाडौं । पूर्व मेटा कार्यकारी तथा बेलायती राजनीतिज्ञ निक क्लेगले बुधबार कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बजार समायोजन (मार्केट करेक्सन) हुने सम्भावना ‘धेरै उच्च’ रहेको चेतावनी दिएका छन् । उनले कृत्रिम सुपर–इन्टेलिजेन्सको अवधारणामा पनि आपत्ति जनाएका छन् । बेलायतका पूर्व उपप्रधानमन्त्री रहेका क्लेगले पछि अमेरिकाको प्रविधि कम्पनी मेटामा नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए । उनले भने, ‘एआईको बूमका कारण अहिले ‘क्रेजी भेलुएसन’ देखिएका छन् ।’ सीएनबीसीको अन्तर्वार्ताका क्रममा उनले भने, ‘अहिले लगभग दैनिक वा घण्टैपिच्छे सम्झौता हुने अति तीव्र लहर चलेको छ । तपाईंले सोच्नैपर्छ — यो बजार अब कुनै न कुनै समय समायोजनतर्फ जाँदैछ ।’ उनका अनुसार यस्तो बजार सुधार हुने सम्भावना ‘धेरै उच्च’ छ । सामान्यतया बजारमा ‘बबल’ भन्नाले कम्पनीको वास्तविक आर्थिक आधार (फण्डामेन्टल) भन्दा धेरै बढेर मूल्याङ्कन हुने अवस्थालाई जनाइन्छ । क्लेगका अनुसार बजार सुधार यस कुरामाथि निर्भर गर्छ — ठूला टेक कम्पनीहरू जसले सयौं अर्ब डलर लगानी गरेर विशाल डेटा सेन्टरहरू बनाइरहेका छन्, ती लगानीहरू फिर्ता गर्न र आफ्नो व्यापार मोडललाई दिगो सावित गर्न सक्षम हुनेछन् कि हुँदैनन् । ‘यसले केही चुनौतीहरू अवश्य ल्याउनेछ,’ क्लेगले भने, ‘विशेषगरी त्यो आधारभूत ढाँचा जसमा यो सम्पूर्ण उद्योग आधारित छ — अर्थात् ठूला भाषा मोडेलमा आधारित एआई प्रणालीहरू ।’ क्लेगका अनुसार यो ‘प्याराडाइम’ भनेको कृत्रिम सुपर–इन्टेलिजेन्स हो — जसमा एआईले मानव बौद्धिकताभन्दा माथि पुग्ने अवस्था जनाइन्छ । यसलाई प्रायः ‘पवित्र लक्ष्य’ का रूपमा हेरिन्छ । यसको विपरीत, कृत्रिम साधारण बौद्धिकता (एजीआई) ले मानव–स्तरको क्षमतासम्म सीमित रहने बुझिन्छ । धेरै ठूला प्रविधि नेताहरू र लगानीकर्ताहरू जस्तै सोफ्टबैंकका संस्थापक मासायोसी सोन र मेटाका सीइओ मार्क जुकरबर्ग, सुपर–इन्टेलिजेन्सको पक्षमा छन् । जुकरबर्गले यस वर्षकै सुरुमा सो प्रविधिको विकासका लागि विशेष एआई प्रयोगशाला पनि स्थापना गरेका छन् । तर क्लेग भन्छन्, ‘मलाई लाग्छ एआई प्रविधिको केही सीमाहरू छन् जसकारण यो सबैले सोचेजस्तो अद्भूत वा सर्वशक्तिशाली हुन सक्दैन । तर यसको अर्थ यो होइन कि यो प्रविधि हराउनेछ, यो अझै बढ्नेछ र संसारमा ठूलो प्रभाव पार्नेछ ।’ क्लेगले भनेजस्तै मेटा स्वयं ‘डटकम बबल’ फुटेपछि पनि जीवित रह्यो र अहिले विश्वकै ठूला कम्पनीहरूमध्ये एक बनेको छ । अमेजन र गुगल पनि त्यस्तै यात्राबाट गुज्रिएका थिए — जसले देखाउँछ, बजार बबल फुट्दा पनि सबै कम्पनीहरूको अन्त्य हुँदैन । भेन्चर क्यापिटल क्षेत्रमा प्रायः भनिन्छ, ‘सबैभन्दा सफल कम्पनीहरू कठिन आर्थिक अवस्थामा जन्मिन्छन् ।’ किनभने त्यतिबेला लगानीकर्ताहरूले नाफा–नोक्सानीमा बढी ध्यान दिन्छन् र विवेकपूर्ण लगानी मात्र गर्छन् । यसले व्यवसायीहरूलाई कम स्रोतमै दक्षतापूर्वक काम गर्न बाध्य बनाउँछ जसले दीर्घकालमा तिनै कम्पनीहरूलाई जीवित राख्छ । क्लेगको धारणा अरू धेरै लगानीकर्ता र प्रविधि नेताहरूसँग मिल्दोजुल्दो छ — उनीहरू मान्छन् कि एआई क्षेत्रमा बबल बनेको छ, तर यसको अर्थ एआई हराउँदैछ भन्ने होइन । अमेजनका संस्थापक जेफ बेजोसले समेत केही हप्ता अघि इटालियन टेक वीकमा भनेका थिए, ‘अहिले एउटा औद्योगिक बबल बनेको छ, तर एआई साँच्चिकै वास्तविक हो — यसले प्रत्येक उद्योग परिवर्तन गर्नेछ ।’ क्लेगका अनुसार एआई तत्काल लागू गर्न सकिने धेरै क्षेत्र छन्, तर समग्र समाजले यो प्रविधि विस्तारमा अपनाउन केही समय लाग्नेछ । ‘सिलिकन भ्यालीमा धेरै हाइप छ,’ उनले भने, ‘त्यहाँका मानिसहरू भन्छन्, मंगलबार प्रविधि बनायौं भने बिहीबार सबैले प्रयोग गर्छन् । तर वास्तविकता त्यस्तो होइन ।’ ‘डेस्कटप कम्प्युटिङ प्राविधिक रूपमा सम्भव भएपछि हामी सबैले त्यसमा पुग्न २० वर्ष लाग्यो,’ उनले थपे । त्यसैले यहाँ गति (पेस) नै मुख्य कुरा हो । यो क्षेत्रअनुसार देशअनुसार फरक पर्न सक्छ, तर अहिलेका प्रविधिविद्हरूले अनुमान गरेजस्तो तीव्र गतिमा एआई फैलिने सम्भावना त्यति धेरै नरहेको उनको निष्कर्ष छ । ट्रम्पको बयानले ऊर्जा बजारमा हलचलल, भारतले अब रूसको तेल नकिन्ने ! टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो