अमेरिका-जापानबीच ‘सबैभन्दा ठूलो व्यापार सम्झौता’, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका छन् । जसअनुसार जापानी निर्यातमा अमेरिका प्रवेश गर्दा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार दर लाग्नेछ । रिपोर्टअनुसार जापानी सवारीसाधनमा लाग्ने भन्सार पनि १५ प्रतिशतमा झारिनेछ । ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यस सम्झौतालाई ‘सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता’ भनी व्याख्या गरे । उनले भने, ‘जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्नेछ र अमेरिका त्यसबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।’ ट्रम्पका अनुसार जापानले ‘आफ्नो बजार सवारीसाधन, ट्रक, चामल, कृषि वस्तुहरू र अन्य सामग्रीका लागि खुला गर्नेछ ।’ उनले थपे, ‘यस सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ ।’ जापानले भन्सार दर घटायो रोयटर्सका अनुसार जापानी प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोबाट अमेरिका निर्यात हुने सवारीसाधनमा लाग्ने भन्सार दर हालको २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने बताएका छन् । सन् २०२४ मा जापानको कुल निर्यातमध्ये २८।३ प्रतिशत सवारीसाधन अमेरिका पठाइएको थियो । एननेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकबसेनले सीएनबीसीसँग भने, ‘एक वर्षअघि १५ प्रतिशत भन्सार दर अचम्मको कुरा हुन्थ्यो। तर आज राहतको सास फेर्न सकिन्छ ।’ जापानको अमेरिका निर्यातमा आधारित अटोमोबाइल कारोबार २०२४ को जुन महिनामा २६.७ प्रतिशतले घटेको थियो, जबकि मे महिनामा यो गिरावट २४.७ प्रतिशत थियो । जनवरीदेखि जुनसम्म अमेरिका पठाइएको कुल जापानी सामानको मूल्य १०.३ ट्रिलियन येन (७०.३४ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो । घोषणापछि जापानका मुख्य व्यापार वार्ताकार रियोसेई अकाजावाले एक्स (पुरानो ट्वीटर) मा ‘मिसन अकम्प्लिश्ड’ लेख्दै सम्झौतामा संलग्न सबैलाई धन्यवाद दिए । ट्रम्पले ट्रुथ सोशलमा पोस्टपछि दिएको सम्बोधनमा भनेका छन्, ‘हामी जापानसँग तरल प्राकृतिक ग्याससम्बन्धी छुट्टै सम्झौता पनि टुंग्याउँदैछौं ।’ ‘हामीसँग युरोप सम्झौता पनि भोलि आउँदैछ, उनले थपे । तर उनले थप विवरण भने खुलाएनन् । राजनीतिक संकटको बीचमा सम्झौता यो सम्झौता जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनको बहुमत गुमाएपछि आएको हो, जसले प्रधानमन्त्री इसिबाको नेतृत्वलाई सुदृढ पार्न सक्ने विश्लेषण गरिएको छ । हालै इसिबाले भनेका थिए कि उनी प्रधानमन्त्रीको रूपमा रहने छन्, तर जापानको माइनिची समाचारपत्रका अनुसार उनले अगस्टभित्र राजीनामा दिने तयारी गरिरहेका छन् । यामियोरी पत्रिकाका अनुसार इसिबा भन्सार वार्ताको प्रगति मूल्यांकन गरेपछि मात्र आफू बस्ने वा नबस्ने निर्णय गर्नेछन् । एचएसबीसी बैंकले दिएको टिप्पणीमा भनिएको छ, ‘प्रधानमन्त्री इसिबाका लागि यो अनुकूल अमेरिकी व्यापार सम्झौताले अविश्वास प्रस्ताव वा पार्टीभित्रको चुनौतिबाट जोगिन मद्दत गर्न सक्छ ।’ सम्झौतापछि जापानी सेयर बजार उकालो लाग्यो । निक्केई २२५ सूचकांक २ प्रतिशतभन्दा बढीले बढ्यो भने प्रमुख अटो कम्पनीहरूको सेयरमा तीव्र वृद्धि आयो । टोयोटामा ११ प्रतिशत, होन्डामा ८ प्रतिशत, निसानमा ८ प्रतिशत, माज्डाका मोटर्स १७ प्रतिशत र मित्सुबिसी मोटर्समा १३ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यसअघि जापानलाई पठाएको पत्रमा अगस्ट १ बाट जापानी निर्यातमा २५ प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए । विसडमट्रीका ग्लोबल मुख्य लगानी अधिकृत जर्मी श्वार्ट्जका अनुसार बजारमा देखिएको तीव्र प्रतिक्रिया यसको संकेत हो कि पहिले बजार अत्यधिक निराशावादी थियो ।
मस्तिष्क प्रविधिमा चीनले एलन मस्कको न्यूरालिंकजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । विगतमा अमेरिका अग्रणी मानिएको मस्तिष्क प्रविधि (ब्रेन-कम्प्युटर इन्टरफेस) क्षेत्रमा चीन तीव्र गतिमा अगाडि बढिरहेको छ । बेइजिङस्थित एक अस्पतालमा भएको एउटा क्लिनिकल परीक्षणमा एएलएस रोगी एक महिलाले बोल्न नसके पनि मस्तिष्कबाट ‘म खाना खान चाहन्छु’ भन्ने सन्देश कम्प्युटर स्क्रिनमा देखाउन सकियो । यो सफलता चीनमा विकास गरिएको वायरलेस चिप बेइनाओ-१ को प्रयोगबाट सम्भव भएको हो । बेइनाओ-१ नामक सिक्का आकारको चिप पाँचजना बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिएको छ । यस प्रविधिमा बिरामीका मस्तिष्कबाट आउने संकेतहरूलाई डिकोड गरेर कम्प्युटरमार्फत सन्देश वा मेसिनमा रूपान्तरण गरिन्छ । प्रमुख वैज्ञानिक लुओ मिनमिनले भने, ‘यो प्रविधिले बिरामीहरूलाई फेरि आफ्नो शरीरको नियन्त्रणमा रहेको महसुस गराउँछ ।’ उनको टोलीले आगामी वर्षमा ५० देखि १०० जना बिरामीमा परीक्षण विस्तार गर्ने योजना बनाएको छ । यदि प्रविधि सुरक्षित र प्रभावकारी प्रमाणित भयो भने विश्वभरि क्लिनिकल प्रयोग सुरु गर्न सकिने उनले जानकारी दिए । एलन मस्कको न्यूरालिंक र सिन्क्रोन जस्ता अमेरिकी कम्पनीहरू यस क्षेत्रमा अघि छन् । न्यूरालिंकले पनि हालसम्म पाँच जना बिरामीमा चिप प्रयोग गरिसकेको छ भने सिन्क्रोनले १० जनासम्म परीक्षण गरिसकेको छ । तर, वैज्ञानिक लुओ भन्छन्, ‘बेइनाओ-१ र न्यूरालिंक एक अर्काका प्रतिस्पर्धी होइनन् । यी दुई प्रविधि पूरक हुन्, न कि प्रतिस्पर्धात्मक ।’ चिनियाँ चिपले मस्तिष्कका धेरै भागबाट संकेत टिप्ने क्षमतामा अगाडि छ । यद्यपि एकल न्युरोनको सटीकतामा अमेरिकाको प्रविधि अगाडि देखिन्छ । ब्रेन टेक उद्योग सन् २०२४ मा २.६ अर्ब डलरको थियो, जुन सन् २०३४ सम्म १२.४ अर्ब डलर पुग्ने अनुमान छ । तर यो केवल आर्थिक विषय होइन । चीनका राष्ट्रपति सी जिनपिङले प्रविधिलाई ‘वैश्विक प्रतिस्पर्धाको मुख्य रणभूमि’ भनेका छन् । अमेरिकामा यसले चासोको विषय बनिरहेको छ, किनकि सेमीकन्डक्टरदेखि ब्रेन टेकसम्म चीनले रणनीतिक रूपमा लगानी बढाइरहेको छ । अमेरिकाको प्रविधि मस्तिष्कको ड्युरा म्याटरभित्र चिप राख्ने ‘इनभेसिभ’ विधिमा आधारित छ, जुन सटीक भए पनि उच्च जोखिमयुक्त हुन्छ । चीनले भने कम आक्रामक तर प्रभावकारी डाटा सङ्कलन गर्न सक्ने प्रविधि अपनाएको छ। यही कारण चीनको प्रविधिलाई सुरक्षित मानिएको छ । चीनको बीसीआई अनुसन्धानमा राज्यस्तरको सहयोग उल्लेखनीय छ । २०१८ मा बेइजिङ मेट्रोपोलिटन र विश्वविद्यालयहरूद्वारा स्थापित सीआइबीआरले २०२३ मा न्यूरोसाइबर न्युरोटेक नामक निजी कम्पनी स्थापना गरेको थियो, जसले बेइनाओ-१ जस्ता उत्पादनमा काम गरिरहेको छ । पूर्व अनुसन्धान सहायक लिली लिनले भनिन्, ‘चीनमा ब्रेन साइन्स नयाँ भए पनि यसको विकास गतिको हिसाबले अग्रणी हुँदै गएको छ। सरकारले यस क्षेत्रमा उदार अनुदान दिँदै आएको छ ।’ बिरामीका लागि समाधान बेइनाओ-१ प्रविधिको पछिल्लो परीक्षणलाई ‘विश्वकै पहिलो अर्ध-आक्रामक वायरलेस बीसीआई परीक्षण’ भनेर वर्णन गरिएको छ । लुओले भनिन्, ‘अहिलेसम्म हामी निष्कर्षमा पुगेका छैनौं कि कुन विधि दीर्घकालीन रूपमा बिरामीका लागि बढी लाभदायक छ । तर एउटा कुरा निश्चित छ- यो प्रविधिले हजारौं बिरामीलाई अभिव्यक्तिको नयाँ ढोका खोलिदिएको छ ।’
भारतका उपराष्ट्रपति धनखरले दिए राजीनामा
काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्दै राजीनामा दिने निर्णय गरेका हुन् । धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका छन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेका हुन् । आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि धन्यवाद दिए । उपराष्ट्रपतिको रूपमा धनखरले सन् २०२२ मा पदभार सम्हालेका थिए । उनको कार्यकाल सन् २०२५ सम्म थियो । तर स्वास्थ्य कारणले उनले यो महत्वपूर्ण निर्णय लिएका हुन् । धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ। यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ। उपराष्ट्रपतिको कार्यकालमा धनखरको योगदान अत्यन्त प्रेरणादायक र महत्त्वपूर्ण रहेको बताइएको छ । उनको कार्यकालको अवधिमा देशको संविधान र संसदीय प्रक्रियामा राम्रो ज्ञान र नेतृत्व देखाएको जानकारहरु बताउँछन् ।