६ दशकपछि सीईओ पद छोड्दै वारेन बफेट, बर्कशायर हाथवे अब कसले सम्हाल्ला ?
काठमाडौं । बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले ३१ डिसेम्बरमा आफ्नो पद छोड्दै छन् । यो अवकाशको घोषणा बर्कशायरको वार्षिक सेयरधनीको बैठकमा गरिएको हो । सन् २०२६ जनवरी १ देखि कम्पनीका उपाध्यक्ष ग्रेग एबेलले बर्कशायरको कार्यभार सम्हाल्नेछन् । ९५ वर्षीय बफेटले आफू नियमित रूपमा कार्यालय आउने र बोर्डका अध्यक्षको रूपमा कायम रहने बताएका छन् । तर, दैनिक कार्यसञ्चालनबाट उनको बिदाइ हुनु छ दशक लामो एउटा युगको अन्त्य हो । जसले अमेरिकी पुँजीवादलाई नयाँ रूप दियो र संघर्षरत एउटा टेक्सटाइल कम्पनीलाई विशाल वित्तीय साम्राज्यमा रूपान्तरण गर्यो । आज बर्कशायर अमेरिकाको नवौं सबैभन्दा मूल्यवान कम्पनी हो । यो देशको दोस्रो ठूलो प्रोपर्टी तथा दायित्व बीमा कम्पनीसमेत हो, जसको स्वामित्वमा करिब ७०० अर्ब डलर बराबरका कारोबारयोग्य सेयर, बन्ड र नगद छन् । दशकौंसम्म बर्कशायरले एसएन्डपी ५०० सूचकांकलाई निरन्तर पछाडि पारेको छ । यस अवधिमा बफेटले गीको र नेशनल इन्डेम्निटीजस्ता बीमा कम्पनीहरू, इस्कर मेटलवर्किङजस्ता उत्पादन कम्पनीहरू, डेरी क्वीनजस्ता खुद्रा ब्रान्ड, ठूला युटिलिटी कम्पनीहरू तथा अमेरिकाका सबैभन्दा ठूला रेलमार्गमध्ये एक बीएनएसएफसमेत अधिग्रहण गरे । उनले सयौं अर्ब डलर बराबरका सेयर खरिद–बिक्री गरे र अमेरिकन एक्सप्रेस, कोका–कोला र एप्पलजस्ता कम्पनीहरूमा दीर्घकालीन लगानीबाट ठूलो नाफा कमाए । वारेन बफेटलाई संसारकै महान् लगानीकर्तामध्ये एक मानिन्छ । उनले बर्कशायरलाई सानो टेक्सटाइल मिलबाट विशाल बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण गरे । सन् १९६२ मा उनले यो मिल प्रतिसेयर ७.६० डलरको दरमा किन्न सुरु गरेका थिए । आज बर्कशायरको एक सेयरको मूल्य ७ लाख ५० हजार डलरभन्दा बढी छ । बफेटको कुल सम्पत्तिमध्ये करिब १५० अर्ब डलर बराबरको हिस्सा बर्कशायरका सेयरमै रहेको छ । उनले पछिल्ला २० वर्षमा मात्र ६० अर्ब डलरभन्दा बढी दान गरिसकेका छन् । उत्तराधिकारीका रूपमा ग्रेग एबेलमाथि सबैको नजर रहने जनाइएको छ । बफेटजस्तो स्टक पिकिङका लागि एबेल परिचित छैनन् । उनले वर्कशायरको ऊर्जा व्यवसायबाट उचाइ हासिल गरेका हुन् । यस्तो अवस्थामा बफेटका प्रमुख लगानी सहायकमध्ये एक टोड कम्ब्स जेपीमोर्गन चेसतर्फ जानु केही लगानीकर्ताका लागि चिन्ताको विषय बनेको छ। एबेलले अब छिट्टै कठिन पूँजी बाँडफाँडसम्बन्धी निर्णय लिनुपर्नेछ । ब्याजदर घट्दै जाँदा बर्कशायरको ३८० अर्ब डलरको नगद भण्डारको अवसर लागत बढ्दै गएको छ । कम्पनीले सम्भवतः बीमा क्षेत्रमा अर्को ठूलो अधिग्रहण गर्न सक्छ, जहाँ बर्कशायरको चब्बमा पहिले नै ८ प्रतिशत हिस्सा रहेको छ । ग्रेग एबेलले बर्कशायरको दिशामा के परिवर्तन ल्याउँछन् भन्ने कुरामा लगानीकर्ताहरूले सूक्ष्म रूपमा नजर राख्नेछन् । तर, कुनै ठूलो उलटफेर हुने अपेक्षा गरिएको छैन । एबेलले सन् २०१८ देखि बर्कशायरका सबै गैरबीमा व्यवसायहरूको जिम्मेवारी सम्हाल्दै आएका छन् । बफेट बोर्डका अध्यक्षकै रूपमा रहनेछन् र हरेक दिन कार्यालय आउनेछन् । नयाँ लगानी अवसर पहिचान गर्न र एबेललाई सल्लाह दिन उनी सक्रिय रहनेछन् ।
जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने चीनको घोषणा
काठमाडौं । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषदको कस्टम्स ट्यारिफ कमिसनका अनुसार यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हुनेछ । यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजारबीच समन्वय बढाउने, स्रोतहरूको उपयोग सुधार गर्ने र उच्च गुणस्तरका वस्तुको आपूर्ति विस्तार गर्ने हो । चीनले केही महत्वपूर्ण कम्पोनेन्ट र उच्च प्रविधिका सामग्रीमा कर घटाएर उच्च स्तरको प्राविधिक आत्मनिर्भरतालाई समर्थन गर्नेछ । त्यस्तै, केही प्राकृतिक स्रोतमा कर घटाएर हरित विकासलाई प्रवर्द्धन गरिनेछ । स्वास्थ्य क्षेत्रमा पनि कर घटाइनेछ, जसले जनताको भलाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, चीनले ट्यारिफ हेडिङ र राष्ट्रिय उप-हेडिङ नोटहरू सुधार्ने योजना बनाएको छ । स्मार्ट बायोनिक रोबोट र बायो-एभिएसन केरोसिन जस्ता नयाँ उत्पादनका लागि पनि उप-हेडिङ थपिनेछ । चीनले आफ्ना ३४ व्यापारिक साझेदार देशसँग सम्झौताअनुसार पूर्वनिर्धारित शुल्क दर लागू गर्न जारी राख्नेछ । यसैगरी, ४३ अत्यन्त कम विकास भएका देशका लागि सतप्रतिशत शून्य शुल्क सुविधा पनि कायम रहनेछ ।
भियतनामको विद्युत् क्षमता ८७ हजार ६०० मेगावाट, ९९.८५ प्रतिशत घरमा पहुँच
काठमाडौं । भियतनामको विद्युत् प्रणाली अब दक्षिण-पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सार्वजनिक गरेको हाे । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब ८७ हजार ६०० मेगावाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ हजार ४०० मेगावाटले वृद्धि भएको हो । यस वृद्धि प्रमुख रूपमा नयाँ ऊर्जास्रोतहरू जस्तै जलविद्युत्, तापविद्युत् र नविकरणीय ऊर्जा परियोजनाहरूबाट भएको हो । सोही अवधिमा भियतनामको व्यावसायिक विद्युत् उत्पादन २ करोड ८७ लाख किलोवाट प्रतिघण्टा पुगेको छ । यसले देशको ऊर्जा आपूर्तिमा निरन्तर वृद्धि भएको र औद्योगिक तथा घरेलु आवश्यकताहरू पूरा गर्न पर्याप्त क्षमता विकसित भएको देखाउँछ । विद्युत् पहुँचको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । हाल देशभर १०० प्रतिशत कम्युनहरू (स्थानीय तह) र ९९.८५ प्रतिशत घरधुरीहरू राष्ट्रिय विद्युत् सञ्जालसँग जोडिएका छन् । यसले भियतनाममा विद्युत् पहुँच सुनिश्चित गर्न सरकारको प्रतिबद्धता स्पष्ट देखाउँछ र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई पनि ऊर्जा सुविधामा पहुँच प्रदान गरेको छ । विशेषज्ञहरूले भियतनामको ऊर्जा क्षेत्रमा देखिएको यो वृद्धि आर्थिक विकास, औद्योगिक विस्तार र जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । साथै, नविकरणीय ऊर्जा र स्मार्ट ग्रिड प्रविधिमा लगानी बढाइ रहेकोले देशको ऊर्जा प्रणाली दिगो र पर्यावरण मैत्री बन्ने अपेक्षा गरिएको छ ।