अमेरिकाको ऋण पुग्न लाग्यो ३५० खर्ब डलर
काठमाडौं । विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र भएको अमेरिकाको ऋण दिनहुँ बढिरहेको छ । अमेरिकी संघीय सरकारको ऋण ३ सय ५० खर्ब डलर पुग्न २५ अर्ब डलरमात्र बाँकी छ । सन् २०१९ पछि यो १ सय ३० खर्ब डलरले बढेको छ, जुन भारतीय अर्थव्यवस्थाको आकारको लगभग तीन गुणा हो । देशको ऋण-जीडीपी अनुपात १ सय २२ प्रतिशत पुगेको छ । पछिल्लो पाँच वर्षमा १९ प्रतिशतले बढेको छ । संघीय सरकारको ऋणमा यति तीव्र वृद्धि अमेरिकाको इतिहासमा पहिले कहिल्यै देखिएको थिएन । यो ऋणको ब्याज तिर्न अमेरिकाले आफ्नो अन्य खर्चमा कटौती गर्नुपर्ने अवस्था आएको छ । अमेरिकाको ऋण हरेक तीन महिना करिब १० खर्ब डलरले बढिरहेको छ । यस वर्ष जनवरी ४ मा यो ३ सय ४० खर्ब डलर पुगेको थियो । यसअघि यो गत वर्ष सेप्टेम्बर १५ मा ३ सय ३० खर्ब डलर र जुन १५ मा ३ सय २० खर्ब डलर पुगेको थियो । ३ सय १० खर्ब डलरबाट ३ सय २० खर्ब डलर पुग्न आठ महिना लाग्यो । अमेरिकी ऋण भनेको अमेरिकी संघीय सरकारले आफ्नो खर्च धान्नका लागि लिने रकम हो । अमेरिकाको ऋण यही गतिमा बढिरह्यो भने सन् २०५४ सम्म देशको अर्थतन्त्रको १ सय ६६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसबाट अमेरिकामा सरकारको आम्दानी घट्ने र खर्च बढ्दै गएको स्पष्ट हुन्छ । विज्ञहरूका अनुसार यो देशको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो कुरा होइन । अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलर ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यदि यस्तो भयो भने ऋण चुक्ता हुने बित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कुल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्ने छ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेको र बेरोजगारी न्यून रहेका बेला अमेरिकाको ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया जब अर्थतन्त्र कमजोर हुन्छ, सरकारले वृद्धिदर बढाउन खर्च बढाउँछ । एजेन्सी
बंगलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा
बंगलादेश । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बंगलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ । एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तंथ्याकअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो भिडन्त हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब घटना थियो तर सरकारले सेना परिचालन गरेर, कर्फ्यु लगाएर र देशव्यापी रूपमा इन्टरनेट बन्द गर्दै सम्भावित उथलपुथल हुनबाट रोकेको छ । सुरुमा विरोध प्रदर्शन गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का कम्तीमा आधा दर्जन नेतालाई प्रहरीले हिरासतमा लिएपछि हजारौँ विद्यार्थीले उनीहरूको आन्दोलनमा सहभागिता जनाएका थिए । ‘सरकारले हाम्रो आन्दोलनप्रति पूर्ण असंवेदनशीलता देखाइरहेको छ,’ समूहका संयोजक अब्दुल कादरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भने, ‘हामीले देशभर विरोध र्यालीको आह्वान गरेका छौं । हामी बंगलादेशका सबै नागरिकलाई हाम्रो मागप्रति ऐक्यबद्धता जनाउन र हाम्रो आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’ विद्यार्थी अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूले आइतबार साँझसम्म प्रहरीले आफ्ना नेताहरूलाई रिहा नगरे एक हप्ता लामो आन्दोलन स्थगनको कार्यक्रमलाई सोमबारदेखि नै जारी राख्ने अन्तिम चेतावनी दिएका थिए । यस समूहको मागमा हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, उनका कैयौँ मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने र अशान्तिको उत्कर्षमा रहेका देशभरका विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्नुपर्ने पनि समावेश छ । बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार अशान्ति सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ । सैनिकहरूले अझै पनि सहरी क्षेत्रमा गस्ती गरिरहेका छन् र राष्ट्रव्यापी कर्फ्यु जारी छ तर गत हप्ताको सुरुदेखि यसलाई क्रमिक रूपमा खुकुलो पारिएको छ । बंगलादेशमा जारी अशान्तिको चरमोत्कर्षमा रहेको बेला देशव्यापी रूपमा अवरूद्ध गरिएको मोबाइल इन्टरनेट सञ्जाल ११ दिनपछि आइतबार पुनः सञ्चालनमा आएको छ । सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने योजना पुनः लागू गरिएको विरोधमा यसै महिना प्रदर्शन सुरु भएको थियो । सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बंगलादेशीहरू बेरोजगार रहेको समय आएको यस कदमले गम्भीर रोजगारी संकटटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ । आलोचकहरूका अनुसार यो योजना सत्तारुढ अवामी लिगका वफादारहरूलाई भर्ना गर्न दुरूपयोग गरिएको छ । सर्वोच्च अदालतले गत हप्ता आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर कोटा पूर्ण रूपमा खारेज गर्ने प्रदर्शनकारीहरूको मागलाई बेवास्ता गरेको थियो । सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले ‘वास्तविक विपक्षी दल’को सहभागिता नभएको गत जनवरीमा भएको चुनावमा लगातार चौथो कार्यकालका लागि अनुमोदित भएका थिए। उनको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।
ह्यारिसलाई राष्ट्रपति बनाउन २० करोड डलर सङ्कलन, समर्थन बढ्दै
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनको दौडमा यो अचम्म पार्ने उपलब्धि हो । आइतबार आफ्नो पछिल्लो कोष सङ्कलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा अर्थात् ६६ प्रतिशत सन् २०२४ को चुनावी चक्रमा पहिलोपटक योगदानकर्ताहरूबाट आएको बताएको छ । राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिने घोषणा गरेपछि र ह्यारिसलाई समर्थन गरेपछि उक्त अभियान बनाइएको थियो । एक लाख ७० हजारभन्दा धेरै स्वयंसेवकले ह्यारिस अभियानलाई फोन बैंकिङ, प्रचार र अन्य गेट–आउट–द–भोट प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निर्वाचन हुन एक सय दिन बाँकी छ । अभियानका सञ्चार निर्देशक माइकल टायलरले भने, ‘उपराष्ट्रपति ह्यारिसका लागि गति र ऊर्जा वास्तविक छ र यो दौडमा आधारभूत कुराहरू पनि छन्, यो निर्वाचन धेरै नजिक हुनेछ र केही राज्यमा थोरै मतदाताहरूले निर्णय गर्नेछन् ।’ ह्यारिसले शनिबार म्यासचुसेट्सको पिट्सफिल्डमा अभियान सुरु गर्दै सयौँ मानिसलाई धन सञ्चय अभियानमा आकर्षित गरिन् । उक्त स्थानमा राष्ट्रपति बाइडेन डेमोक्रेटिक टिकटको शीर्ष स्थानमा रहँदा अभियान सुरु गरिएको थियो । अभियानका अनुसार सुरुमा चार लाख डलर उठाउने अपेक्षा गरिए पनि करिब १४ लाख डलर सङ्कलन भयो । बाइडेन दौडबाट बाहिरिएपछि ह्यारिसले तुरुन्तै डेमोक्रेटिक समर्थन प्राप्त गरिन् । जुन २७ मा ट्रम्पविरुद्ध लज्जास्पद बहस प्रदर्शनपछि बाइडेनको उम्मेदवारी असफल भएको थियो । पूर्वसभामुख न्यान्सी पेलोसी, सिनेटका बहुमत नेता चक सुमर, हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिज, पूर्व हाउस माइनरिटी ह्विप जिम क्लाइबर्न, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले ह्यारिसलाई तुरुन्तै समर्थन गरिन् । पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाले शुक्रबार आफ्नो समर्थनको घोषणा गरेका छन् । ह्यारिसले शनिबार कोष सङ्कलन कार्यक्रममा चुनावी दौडमा ‘अन्डरडग’ रहको बताएकी छिन् । तर, उनको अभियानले गति लिइरहेको छ । बाइडेनको बहिर्गमन र ह्यारिसको समर्थनपछि पहिलो २४ घन्टामा चन्दादाताहरूबाट १५ करोड डलर हासिल गरेको डेमोक्रेटिक राजनीतिमा सबैभन्दा ठूलो सुपर पिएसी फ्युचर फरवार्डले गत साता घोषणा गरेको थियो । ह्यारिस पार्टीको सम्भावित उम्मेदवारका रूपमा देखा पर्नु भएपछि आफूहरूले समर्थनमा वृद्धि देखेको डेमोक्रेटिक हाउस र सिनेटका उम्मेदवारहरूले बताएका छन् ।