१९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा

  काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फक्सवागनले भारतीय कर अधिकारीहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । यो विषय कर छलीसँग सम्बन्धित छ । यस मामिलामा कर अधिकारीहरूले कम्पनीलाई १.४ अर्ब डलर (१९ हजार करोड रुपैयाँ) को नोटिस जारी गरेका थिए । त्यसपछि कम्पनीको भारतीय एकाइले कर अधिकारीहरू विरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गरे । हाल भारतमा फक्सवागन समूहको नेतृत्व स्कोडा अटो फक्सवागन इन्डियाले गरिरहेको छ । बम्बई उच्च अदालतमा यस मामलाको सुनुवाइ फेब्रुअरी ५ मा हुने जनाइएको छ । खास कुरा के हो ? भारतीय भन्सार विभागले सेप्टेम्बर २०२४ मा स्कोडा अटो फक्सवागन इन्डियामाथि आरोप लगायो कि कम्पनीले फक्सवागन, स्कोडा र अडी कारहरूलाई छुट्टाछुट्टै पार्ट्सको रूपमा आयात गरेर करमा हेरफेर गर्‍यो । अधिकारीहरूले कम्पनीले कारलाई छुट्टा-छुट्टै भागहरूमा आयात गरेर कर बचाएको आरोप लगाए, जसले गर्दा सरकारलाई नोक्सान भयो । यस मामिलामा कम्पनीलाई १.४ अर्ब डलरको कर नोटिस दिइएको थियो । कर अधिकारीविरुद्ध जवाफी मुद्दा नोटिस पाएपछि कम्पनीले कर अधिकारीहरूविरुद्ध जवाफी मुद्दा दायर गरेको छ । यसमा कम्पनीले १.४ अर्ब डलरको मागलाई खारेज गर्न माग गरेको छ । रोयटर्सको एक रिपोर्टअनुसार कम्पनीले करको माग कार पाट्र्सको लागि सरकारको आयात नियमहरूको विपरीत रहेको जनाएको छ । यसले भारतमा कम्पनीको व्यावसायीक योजनामा कठिनाइ हुनेछ । करबारे के भन्छ कम्पनी ? कम्पनीले भनेको छ कि उसलाई थप कर तिर्नु पर्दैन किनभने उसले कारका पार्ट्सहरूलाई एकैसाथ एक ‘किट’को रूपमा आयात गरेन, बरु तिनीहरूलाई छुट्टा-छुट्टै मगाएको थियो । कम्पनीले भारतमा आफ्ना कारहरू बनाउन स्थानीय कम्पोनेन्टहरूको पनि प्रयोग गरेको जनाएको छ । ‘विदेशी लगानीकर्ताहरूलाई चोट’ कम्पनीले अदालतलाई कर विवादका कारण भारतमा उसको १.५ अर्ब डलरको लगानी जोखिममा रहेको जनाएको छ । साथै यो विदेशी लगानीको वातावरणको लागि पनि राम्रो होइन । कम्पनीले आफ्नो मुद्दामा नोटिसले विदेशी लगानीकर्ताहरूलाई चोट पुर्‍याएको उल्लेख गरेको छ । जुलाई २०१८ मा फक्सवागन समूहले भारत २.० परियोजनाको भागको रूपमा लगभग एक अर्ब युरो (करिब १४ हजार करोड रुपैयाँ) को लगानीको घोषणा गरेको थियो । कति कर लाग्छ ? यदि कुनै कम्पनीले विदेशबाट भारतमा पार्ट्सहरू मगाउँछ भने त्यसमा ५ देखि १५ प्रतिशत कर लाग्छ । त्यसैगरी, पूर्ण रूपमा बनेको कारमा ३० देखि ३५ प्रतिशत कर तिर्नुपर्छ । कर अधिकारीहरूको आरोप छ कि कम्पनीले पूर्ण रूपमा बनेका कारहरू मगाई तिनीहरूलाई पार्ट्सको रूपमा देखायो । यसले गर्दा कम्पनीले कर छली गर्‍यो । (एजेन्सीहरूको सहयोगमा) सान्दर्भिक सामग्री : एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने

यूएसएआईडी ‘कट्टर पागलहरूद्वारा चलाइएको’ ट्रम्पको भनाइ, बन्द गर्ने मस्कको दावी

काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफू र राष्ट्रपति डाेनाल्ड ट्रम्प मिली अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने प्रक्रियामा रहेको बताएका छन् । ‘सरकारी दक्षता विभाग’का प्रमुख मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (पूरानाे ट्वीटर)मा यूएसएआईडी बन्द गर्ने घोषणा गरेका हुन् । ‘हामी यसलाई बन्द गर्दैछौं,’ उनले भने । ‘हामी यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौं,’ उनले थपे । मस्कले कंग्रेसको स्वीकृति बिना संघीय एजेन्सी बन्द गर्न ह्वाइट हाउसको केकस्तो कानुनी अधिकार छ भन्नेबारे केही भनेनन् । उनले यस विचारमा ‘राष्ट्रपतिको पूर्ण समर्थन’ रहेको पनि उल्लेख गरे । ‘यूएसएआईडीको कुराको सन्दर्भमा मैले उनी (राष्ट्रपति) सँग विस्तृत रूपमा छलफल गरें । उनले यसलाई बन्द गर्नुपर्छ भन्ने कुरामा सहमति जनाए । मैले उनलाई केही पटक जाँच गरें र भनें, ‘के तपाईं निश्चित हुनुहुन्छ? उनले हो भनेर जवाफ दिए ‘, ट्रम्पले भने । ट्रम्पले आइतबार मस्कले ‘राम्रो काम गरिरहेको’ र यूएसएआईडीलाई ‘एक झुण्ड कट्टर पागलहरूद्वारा चलाइएको’ भनी आलोचना गरे । यद्यपि ट्रम्पले कंग्रेसको सहमति भए वा नभए पनि एजेन्सी बन्द गर्ने योजना बनाएको भन्ने कुराचाहिं खोलेका छैनन् । एनबीसी न्यूजले रिपोर्ट गरेअनुसार, ट्रम्प प्रशासनका अधिकारीहरूले यूएसएआईडीलाई विदेश विभागको अधिकारअन्तर्गत राख्ने बारे छलफल गरेका छन् । यस कदम जसलाई डेमोक्रेटिक सांसदहरू र कानुनी विशेषज्ञहरूले एजेन्सी स्थापना गर्ने कंग्रेसद्वारा अपनाइएको कानुनको उल्लंघन हुने तर्क गरेका छन् । ट्रम्पले ९० दिनको समीक्षापश्चात लगभग सबै अमेरिकी विदेशी सहायता रोक्ने पनि बताइसकेका छन् । कंग्रेसले खासगरी विदेशी सहायता र अन्तर्राष्ट्रिय केन्द्रित धार्मिक संस्थाहरूका लागि वार्षिक रूपमा यूएसएआईडीलाई खर्च गर्न पैसा विनियोजन गर्छ । कंग्रेसनल रिसर्च सर्भिसको गत महिनाको रिपोर्टअनुसार आर्थिक वर्ष २०२३ को लागि यसको बजेट लगभग ४० अरब डलर थियो । राष्ट्रपति जोन एफ केनेडीले कंग्रेसले विदेशी सहायताको पुनर्गठन पारित गरेपछि १९६१ मा कार्यकारी आदेशद्वारा यूएसएआईडी स्थापना गरेका थिए । स्रोतका अनुसार मस्कको घोषणा शनिबारको एक असामान्य घटनापछि आएको हो । शनिबार यूएसएआईडीका कर्मचारीहरूले मस्कको सरकारी दक्षता विभागका कर्मचारीहरूलाई सुरक्षित यूएसएआईडी प्रणालीहरूमा पहुँच गर्नबाट रोक्ने प्रयास गरेका थिए । यद्यपि यूएसएआईडीका सुरक्षा निर्देशक र उनका उपनिर्देशकलाई प्रशासनिक बिदामा राखिएको थियो । स्रोतका अनुसार दक्षता विभागका कर्मचारीहरूले यूएस मार्शल्सलाई बोलाउने धम्की दिएका थिए । अन्तत: कर्मचारीहरू सुरक्षित प्रणालीहरूमा पहुँच प्राप्त गर्न सक्षम भए । तर उनीहरूले कुन जानकारी प्राप्त गर्न सके भन्नेबारेमा स्पष्ट छैन । गत हप्ता नै ट्रम्प प्रशासन र मस्कका कर्मचारीहरूले यूएसएआईडीको आमूल परिवर्तन गर्ने योजना बनाएकाे स्पष्ट भइसकेको थियाे । यूएसएआईडीमा ५० भन्दा बढी करियर सिभिल सर्भेन्टहरूलाई गत सोमबार प्रशासनिक बिदामा राखिएको थियो । यूएसएआईडीको विगतमा मस्कको कम्पनीहरूमध्ये एक स्पेसएक्ससँग साझेदारी थियो । एजेन्सीले २०२२ मा रसियाको आक्रमणपछि युक्रेनको सरकारलाई ५ हजार स्टारलिंक स्याटेलाइट इन्टरनेट टर्मिनलहरू प्रदान गर्न स्पेसएक्ससँग साझेदारी गरेको घाेषणा गरेकाे थियाे । तर सोमबार मस्कले यूएसएआईडीलाई ‘आशाहीन’ को उपमा दिए । यतिमात्र हाेइन उनले यसलाई ‘किरा भएको स्याउ होइन, तर वास्तवमै किराहरूको बल मात्र’ रहेको पनि बताए । १९७४ को संघीय कानुन जसलाई ‘इम्पाउन्डमेन्ट कन्ट्रोल एक्ट’ भनिन्छ, यसका अनुसार राष्ट्रपतिले सामान्यतया कंग्रेसले स्वीकृत गरेको कोष रोक्न सक्दैन । केही ट्रम्प सहयोगीहरूले कानुन असंवैधानिक छ भन्ने तर्क गर्छन् । यसले अदालतमा सम्भावित लडाइँकाे संकेत गर्छ । ट्रम्पको आदेशले नेपालका ३०० बढी संस्था अलमलमा, डेढ खर्ब बढी अनुदान प्रभावित ट्रम्पको भन्सार महसुल : प्रतिशोधमा क्यानडा र मेक्सिको, वार्ताको तयारीमा चीन

नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

काठमाडौं । शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ । नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ । रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ । ‘नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कारहरू बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,’ ओएफभीले जानकारी दिएको छ । ओएफभीका निर्देशक ओयविन्ड सोलबर्ग थोरसेनले भने, ‘हामीले योभन्दा पहिले कहिल्यै विद्युतीय कारले यति धेरै हिस्सा ओगटेको जानेनौँ । यदि बाँकी वर्ष यस्तै रह्यो भने हामी चाँडै नै २०२५ को लक्ष्यको नजिक पुग्नेछौं ।’ ‘हामी विद्युतीय कारहरूलाई नै शत प्रतिशत हिस्सा ओगटेको देख्न चाहन्छौँ । लक्ष्यमा पुग्नका लागि अन्य मोडेलहरू भन्दा विद्युतीय कार छनौट गर्न लाभदायक बनाउने प्रोत्साहनहरू ल्याउन आवश्यक हुनेछ,’ उनले थपे । सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर–विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो । नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरूलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरूविरुद्ध प्रतिस्पर्धी बनाउँछ । उनीहरूले सडक कर छुट, सार्वजनिक कार पार्कहरूमा निः शुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन् । विद्युतीय कारको विक्री उच्च भएसँगै सामान्य कारहरूमा दिइएका केही कर छुट र प्रोत्साहनहरू वर्षौँदेखि फिर्ता लिइएको छ । ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो । फोक्सवागन आईडी ४ र निसान अरियालाई पछि पार्दै टोयोटा बिजेड फोर एक्स सबैभन्दा बढी बिक्री भएको थियो। तुलनात्मक रुपमा हेर्दा सन् २०२० पछि पहिलो पटक घटेको युरोपमा विद्युतीय कारको हिस्सा सन् २०२४ मा १३.६ प्रतिशत मात्र थियो भने गत वर्षको डिसेम्बर महिनामा यसको हिस्सा १५.९ प्रतिशत रहेको थियो । रासस