महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै, साढे २९ करोडले गरे स्नान
काठमाडौं । ७७ देशका नियोग प्रमुख र कूटनीतिज्ञ सहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले शनिबार प्रयागराजमा महाकुम्भको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने जानकारी दिए । यसैबीच, मौनी अमावस्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबिन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रबार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ । सङ्गममा बुधबार बिहान भएको दुखद घटनामा कम्तिमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए । यस सम्बन्धमा जारी सूचनामा आयोगलाई भागदौडको कारण र परिस्थितिबारे अध्ययन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने जिम्मा दिइएको छ । आयोग गठन भएको एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्नेछ । उत्तर प्रदेश सूचना विभागका अनुसार महाकुम्भमा २९ करोड ६४ लाख भन्दा बढी भक्त पवित्र सङ्गममा पवित्र स्नान गरेका छन् । महाकुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ । यो विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट हो । महाकुम्भ वेबसाइटका अनुसार मण्डलीमा मुख्यतया तपस्वी, सन्त, साधु, साध्वी, कल्पवासी र जीवनका सबै क्षेत्रका तीर्थयात्रीहरू सामेल छन् । महाकुम्भ मेला सन् २०२५ जनवरी १३ देखि २६ फेब्रुअरीसम्म प्रयागराजमा आयोजना हुँदैछ ।
१२ लाखसम्मको आम्दानीमा कर छुट दिने भारतको घोषणा
काठमाडौ । भारतले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर छुट दिने घोषणा गरेको छ । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको सन् २०२५÷२६ को बजेटमा वार्षिक तलब १२ लाख ७५ हजारमा कुनै कर नलाग्ने घोषण गरेकी हुन् । यो घोषणासँगै नयाँ कर प्रणालीमा वार्षिक १२ लाख रुपैयाँसम्मको आम्दानीमा कुनै आयकर तिर्नुपर्ने छैन । यसले सबैभन्दा बढी फाइदा मध्यम वर्गलाई हुने बताइएको छ । साथै अर्थमन्त्री निर्मला सीतारमणको उक्त घोषणालाई सबैले स्वागत गरेका छन् । तर, कुनै व्यक्तिको वार्षिक आम्दानी १२ लाखभन्दा बढी भएमा आयकर स्ल्याब अनुसार कर तिर्नुपर्नेछ । तलब पाउने कर्मचारीको हकमा यो सीमा १२ लाख ७५ हजार रुपैयाँ छ र यो सीमा नाघ्ने वित्तिकै उनीहरु करको दायरामा आउनेछन् र स्ल्याब अनुसार मात्रै आयकर तिर्नुपर्नेछ । अर्थमन्त्री सीतारमणले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगहरूलाई समर्थन गर्ने र घरेलु भावनालाई बढावा दिनको लागि मुख्य उपायहरू सहितको बजेट ल्याएको बताइन् । बजेटले भारतको बढ्दो मध्यम वर्गको खर्च गर्ने क्षमता बढाउनमा पनि जोड दिने उनले दाबी गरिन् । ‘विगत एक दशकमा सरकारको विकास नीति र संरचनात्मक सुधारहरूले भारतलाई विश्वको सबैभन्दा द्रुत बृद्धि हुने प्रमुख अर्थतन्त्रको रूपमा स्थापित गरेको छ,’ उनले भनिन् ‘यसले भारतको सम्भाव्यतामा विश्वव्यापी विश्वासलाई बलियो बनाएको छ, जसले आगामी पाँच वर्षलाई समग्र विकास हासिल गर्न महत्त्वपूर्ण बनाएको छ ।’ अर्थमन्त्रीले सबै क्षेत्रको सन्तुलित विकास गर्ने लक्ष्य राखेको सरकारको भिजनलाई प्रकाश पारिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा, सरकारले भारतको पूर्ण क्षमतालाई उजागर गर्ने र यसको विश्वव्यापी हैसियत बढाउने लक्ष्य राखेको उनको भनाए छ । ‘हाम्रो अर्थतन्त्र सबै प्रमुख विश्वव्यापी अर्थतन्त्रहरूमध्ये सबैभन्दा छिटो बढिरहेको छ । हाम्रो वृद्धि ट्र्याक रेकर्ड र विगत १० वर्षको संरचनात्मक सुधारहरूले विश्वव्यापी ध्यान आकर्षित गरेको छ । यो अवधिले भारतको क्षमता र क्षमतामा विश्वास बढाएको छ,’ उनले भनिन्, ‘हामी आगामी पाँच वर्षलाई सबै क्षेत्रको सन्तुलित बृद्धिलाई उत्तेजित गर्दै ‘सबका विकास’ को अनुभूति गर्ने अनुपम अवसरका रूपमा हेर्छौं ।’
भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने, आज बजेट आउँदै
काठमाडौं । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५/२६ (अप्रिल २०२५-मार्च २०२६) को अवधिमा ६.३-६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४-२५ (अप्रिल २०२४-मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहकोे अनुमान गरिएको छ । अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरिन् । सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि-बजेट दस्तावेज हो । अर्थमन्त्रीले सीतारमणले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उनी लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।