भ्रष्टाचारीलाई रोक्दा ज्यान मार्ने धम्की आएको मस्कको दावी
काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट साथी एलन मस्कले ठूलो दाबी गरेका छन् । ट्रम्प प्रशासनमा आफ्नो भूमिकाका कारण र सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) मा गरिएको ठूलो कटौतीका कारण आफ्नो ज्यान खतरामा परेको दावी गरेका हुन् । डीओजीई राष्ट्रपति ट्रम्पले स्थापना गरेका हुन् । डीओजीईको काम सरकारी जागिर र खर्चमा कटौती गर्नु हो । यस विभागका प्रमुख मस्क हुन् । मस्कले सरकारी कर्मचारीको सङ्ख्या घटाउन र करदाताको पैसा दुरुपयोग हुनबाट रोक्न प्रयास गरिरहेका छन् । फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा मस्कले भनेका छन्, ‘सरकारी कामकाजमा भ्रष्टाचार गरिरहेका व्यक्तिहरूलाई मैले रोक्दा उनीहरू मलाई मार्ने धम्की दिन थाले ।’ उनले थपे कि टेस्ला कम्पनीलाई पनि नोक्सान पुर्याउने प्रयास भइरहेको छ । किन छ मस्कलाई ज्यानको खतरा? मस्क भन्छन्, ‘उनीहरू मलाई मार्न चाहन्छन् किनकि म उनीहरूलाई ठगी गरेर पैसा कमाउनबाट रोकिरहेको छु । टेस्लालाई पनि नोक्सान पुर्याउन खोजिरहेका छन्, किनकि हामी सरकारमा भइरहेको यो भयानक बर्बादी र भ्रष्टाचार रोकिरहेका छौं । मलाई लाग्छ ती खराब मानिसहरू हुन् । खराब मानिसहरूले खराब काम गर्छन् ।’ अदालतको हस्तक्षेप एक संघीय न्यायाधीशले डीओजीईलाई यूएसएड बन्द गर्नबाट रोक लगाएका छन् । न्यायाधीशले भनेका छन् कि यस्तो गर्नु अमेरिका संविधानको उल्लङ्घन हुन सक्छ । अदालतले ट्रम्प प्रशासनलाई यूएसएडका सबै कर्मचारीहरूलाई पुनः इमेल र कम्प्युटर एक्सेस दिन आदेश दिएको छ । तर, अदालतले हटाइएका कर्मचारीहरूलाई पुनः जागिरमा फर्काउने आदेश भने दिएको छैन । टेस्लाविरुद्ध प्रदर्शन एलन मस्कको यो बयान यस्तो समयमा आएको छ जब उनको इलेक्ट्रिक कार कम्पनी टेस्लाविरुद्ध केही हप्तादेखि प्रदर्शन भइरहेको छ । मार्च १८ मा लस भेगासस्थित टेस्लाको एक सर्भिस सेन्टरमा लागो लगाउँदा ५ वटा कारमा क्षति पुगेको छ । प्रहरी अधिकारी डोरी कोरेनले भने, ‘यो टेस्लाको भवनमा जानाजानी गरिएको आक्रमण हो ।’ मस्कले संघीय कर्मचारी कटौती र मानवतावादी कार्यक्रमसँग सम्बन्धित सम्झौता रद्द गर्न खेलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै टेस्ला गाडीमाथि आगजनी गरेका हुन् । मस्कको दाबी अनुसार यी सबै घटनाहरू उनकै विरुद्धको षड्यन्त्र हुन् किनकि उनले सरकारी भ्रष्टाचार रोक्न प्रयास गरिरहेका छन् । अमेरिकी महान्यायाधिवक्ता पाम बन्डीले मंगलबार टेस्लामाथि भएका पछिल्ला हिंस्रक आक्रमणहरूको लहर आन्तरिक आतंकवादभन्दा कम नभएको बताएकी थिइन् । उनले सबै आक्रमणकारी र त्यसमा संलग्न सबैलाई कारबाही गर्ने चेतावनीसमेत दिइन् ।
अन्तत : पृथ्वीमा फर्किए विलमोर र विलियम्स
काठमाडौं । नासाका अन्तरिक्ष यात्री बुच विलमोर र सुनीता विलियम्स पृथ्वी फर्किएका छन् । उनीहरू स्थानीय समयअनुसार मंगलबार बेलुका फ्लोरिडाको टलाहासी तट नजिकै स्पेसएक्स ड्रागन क्याप्सुलमा सफलतापूर्वक अवतरण गरेका हुन्। विलमोर र विलियम्स उनीहरूका सहकर्मी नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्जान्द्र गोर्बुनोभसँग पृथ्वीमा फर्किएका हुन् । उनीहरूलाई समुद्रमा अवतरण गरिएको हो । जसलाई ‘स्प्ल्यास डाउन’ भनिन्छ । यो पृथ्वीमा फर्कनको लागि सरल तरिका हो । अन्तरिक्ष यात्रीहरू अब केही दिनको लागि स्वास्थ्य परीक्षणका लागि ह्युस्टनको नासाको जोनसन स्पेस सेन्टर जानेछन्, त्यसपछि मात्र घर जान पाउनेछन् । विलमोर र विलियम्स गत जूनमा पृथ्वीबाट करिब नौ दिनको परीक्षण उडानका लागि प्रस्थान गरेका थिए । तर, बोइङको स्टारलाइनर क्याप्सुलमा समस्या आएपछि उनीहरूको बसाइ लम्बिएको थियो । यस घटनाले क्याप्सुलले उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा ल्याउन सक्ने वा नसक्ने भन्ने चिन्ता बढाएको थियो । अन्ततः नासाले करिब तीन महिना अन्तरिक्ष केन्द्रमा डक भएको क्याप्सुललाई खाली फिर्ता पठाउने निर्णय गर्यो ताकि स्पेसक्राफ्टमा देखिएका समस्याहरूको ’खास कारणहरू अझ बुझ्न’ सकियोस् । नासाले विलमोर र विलियम्सलाई स्पेसएक्स ड्रागन स्पेसक्राफ्टमा फर्काउने घोषणा गर्यो । यसले नासाको अन्तरिक्ष यात्रीहरूको रोटेशन योजनामा परिवर्तन गरी स्पेसएक्सको क्रू-९ मिसनबाट दुई व्यक्तिलाई हटाएर उनीहरूलाई ठाउँ दिइयो । त्यो क्याप्सुल, जसले क्रू-९ का दुई सदस्यहरूलाई बोकेको थियो, सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसस) मा पुगेको थियो । आईएससमा नयाँ टोली आएपछी अन्तरिक्ष यात्रीहरू पालैपालको काम गर्छन् । नासाले सुरुमा स्पेसएक्सको क्रू-१० मिसनलाई फेब्रुअरीमा प्रक्षेपण गर्ने योजना बनाएको थियो, तर त्यसमा करिब एक महिना ढिलाइ भयो । चार नयाँ टोलीका सदस्यहरू बोकेको रकेट शुक्रबार बेलुकी प्रक्षेपण गरियो र त्यसको क्याप्सुल २९ घण्टापछि अन्तरिक्ष केन्द्रमा डक गरियो । स्टारलाइनर क्रू फ्लाइट टेस्ट बोइङका लागि अन्तिम परीक्षण थियो, जसले नासालाई आईएससतर्फ पालैपालो दुई कम्पनी– बोइङ र एलन मस्कको स्पेसएक्स पठाउने आफ्नो सपना पूरा गर्न सक्थ्यो । तर, अब बोइङको भविष्यमा मानवयुक्त अन्तरिक्ष योजनाहरू के हुने हुन्, त्यो स्पष्ट छैन । कम्पनीले आफ्नो स्टारलाइनर स्पेसक्राफ्टमा २ अर्ब डलरभन्दा बढी घाटा बेहोरेको छ । नासा अधिकारीहरूले स्टारलाइनरले अझ धेरै परीक्षण गर्नुपर्ने बताएका छन् । साथै यसको अर्को उडान बिना चालक दलको हुन सक्ने सम्भावना पनि उनीहरूले खुलाएका छन् । विलमोर र विलियम्सको यात्रा राजनीतिक मामिलामा पनि उल्झियो, जब राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाले । राष्ट्रपति ट्रम्पका निकट सल्लाहकार मस्कले क्रू-१० को छिटो प्रक्षेपणका लागि दबाब दिनुका साथै दुई अन्तरिक्ष यात्रीहरूलाई ‘अन्तरिक्ष केन्द्रमा फँसाइएको’ आरोप लगाए । बाइडेन प्रशासनले तिनीहरूलाई त्यहाँ राजनीतिक कारणले राखेको उनको दावी थियो । गत वर्ष मस्कले यी अन्तरिक्ष यात्रीहरूलाई चाँडै फर्काउने प्रस्ताव राखेको तर बाइडेन प्रशासनले अस्वीकार गरेको उनको आरोप थियो । ‘उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छोडियो, जुन राम्रो होइन,’ मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर्वार्तामा भनेका थिए। प्यारासुटमार्फत क्याप्सुललाई ल्यान्ड गरिँदै । तस्बिर : नासा नासाले क्रू-१० को प्रक्षेपण डिसेम्बरमा ढिलाइ गरेको थियो ताकि नयाँ ड्रागन क्याप्सुल तयार गर्न समय मिलोस् । तर, प्रतीक्षा समय घटाउन नासाले पुनः प्रयोग गर्न सकिने क्याप्सुल प्रयोग गर्ने निर्णय गर्यो । अगस्टमा नासाले घोषणा गरेको योजनाअनुसार नै यी दुई अन्तरिक्ष यात्रीहरूलाई फर्काउने तयारी भएको हो । पानीमा ल्यान्ड भएको क्याप्सुल । तस्बिर : नासा आफ्नो लम्बिएको बसाइमा विलमोर र विलियम्स सामान्य रोटेशनको हिस्सा बने जहाँ अन्य अन्तरिक्ष यात्री झैं वैज्ञानिक प्रयोगहरू र नियमित मर्मत कार्यहरू गरे । विलियम्सले एउटा स्पेसवाक (अन्तरिक्षमा हिँडाइ) पनि गरिन् । विलियम्सले बारम्बार आईएससमा आफूहरूलाई ‘त्यागिएको’ महसुस नभएको बताएकी थिइन् । तर उनले आफ्नो परिवार र आफ्ना दुई कुकुरहरू भेट्न उत्साहित भएको उल्लेख गरेकी थिइन् ।
८० करोड मूल्य पर्ने विश्वकै महँगो कुकुर, देखाएरै पैसा कमाउँछन् मालिक
काठमाडौं । विश्वभर विभिन्न जातिका कुकुरहरू पाइन्छन् । त्यस्तै, धेरै यस्ता विशेष जातहरू पनि छन्, जुन मानिसहरूले घरमा पाल्न रुचाउँछन् । के तपाईंलाई थाहा छ संसारको सबैभन्दा महँगो कुकुर कुन हो ? यसको नाम काडाबम ओकामी हो । एक भारतीय डग ब्रिडरले यो नाम राखेका हुन् । यो वुल्फडग हो । यो कुकुरलाई ती भारतीयले ४.४ मिलियन पाउन्ड (करिब ८० करोड रुपैयाँ) मा किनेका हुन् । यो कुकुर ब्वाँसो र कौकासियन शेफर्डको मिश्रण हो । यो पहिले नै एक सेलिब्रिटी बनिसकेको छ । यो धेरै ठूला कार्यक्रमहरूमा देखिन्छ । मानिसहरू यसलाई हेर्न उत्सुक छन् । यसको उमेर अहिले मात्र आठ महिना छ र तौल ७५ किलो छ । यसको उचाइ ३० इन्च छ । यो कुकुर हरेक दिन तीन किलोग्राम काँचो कुखुरा खान्छ । यो एक वास्तविक ब्वाँसो र सेतो शेफर्डको क्रस हो। कसले किन्यो ? ५१ वर्षका एस सतीश यस कुकुरका नयाँ मालिक हुन् । उनी दुर्लभ जातहरूको संग्रह गरेर चर्चामा आएका छन् । एस. सतीश बेंगलुरुको प्रसिद्ध डग ब्रिडर हुन् । उनीसँग १५० भन्दा बढी विभिन्न जातका कुकुरहरू छन् । ओकामीको जन्म अमेरिकामा भएको थियो । यसलाई फेब्रुअरीमा एक भारतीय ब्रोकरमार्फत बिक्री गरिएको थियो । सतीश इन्डियन डग ब्रीडर्स एसोसिएशनका अध्यक्षसमेत हुन् । उनले भने, ’यो कुकुरको जात अत्यन्तै दुर्लभ छ र यो बिल्कुलै ब्वाँसोजस्तो देखिन्छ । यस जातलाई पहिले कहिल्यै बिक्रीका लागि प्रस्तुत गरिएको थिएन । यो कुकुर असाधारण छ र यसलाई संयुक्त राज्य अमेरिकामा हुर्काइएको थियो । मलाई कुकुरहरू मनपर्छन् । म असामान्य कुकुरहरूको मालिक बन्न चाहन्छु र तिनलाई भारतमा ल्याउन चाहन्छु । त्यसैले मैले यसमा ५० करोड भारु खर्च गरें ।’ कहाँ पाइन्छन् ककेसियन शेफर्ड ? ककेसियन शेफर्डहरू बलिया र बाक्लो रौं भएका हुन्छन् । तिनीहरू जर्जिया, आर्मेनिया, अजरबैजान र रसियाका केही भागहरूजस्ता चिसा क्षेत्रमा पाइन्छन् । यी अद्भुत गार्ड कुकुरहरू प्रायः ब्वाँसोहरूलाई पशुधनको बथानबाट टाढा राख्न प्रयोग गरिन्छन् । यी कुकुरहरूले पहाडमा भेडा र बाख्राको रक्षा गर्छन् । कुकुर देखाएर कमाइ गर्छन् सतीश सतीशले यो नयाँ कुकुरलाई धेरै ठूला कार्यक्रमहरूमा देखाएका छन् । जस्तै कि फिल्म प्रिमियरमा । यसले कर्नाटकमा सनसनी मच्चाएको छ । सतीशका अनुसार ओकामीले एक प्रिमियरमा रेड कार्पेटमा हिँडेको भिडियो अनलाइनमा लगभग ३० लाख पटक हेरिएको छ । मानिसहरू यो कुकुरलाई धेरै मन पराउँछन् । सतीशले कुकुरको दुर्लभ जातहरू देखाएर पैसा पनि कमाउँछन् । आफ्ना विशेष कुकुरसँग कार्यक्रमहरूमा गएर उनी ३० मिनेटका लागि २.५० लाख भारुदेखि पाँच घण्टाका लागि १० लाख भारुसम्म कमाउँछन् ।