युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो
अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।प्रशासनिक बिदाले ‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरू बाहेक… सबै युएसएड प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई’ प्रभावित गर्नेछ । ‘तपाईंलाई सेवाका लागि धन्यवाद’, विज्ञप्तिमा उल्लेख छ । यो कदम ट्रम्प र उनका अर्बपति सहयोगी एलन मस्कको अमेरिकी सरकारलाई सङ्कुचित गर्ने आमूल अभियानको एक हिस्सा हो । यसले वासिङ्टनलाई स्तब्ध पारेको छ र डेमोक्रेट तथा मानव अधिकार समुदायबाट आक्रोशपूर्ण विरोध निम्त्याएको छ । अमेरिकी विदेश नीतिको सहायता शाखा युएसएडले विश्वका सबैभन्दा गरीब क्षेत्रहरू सहित लगभग १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरूलाई आर्थिक सहयोग गर्दछ । मस्कको व्यापक व्यापारिक चासो रहेको चीन लगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि सङ्घर्षमा यसलाई संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्त्वपूर्ण स्रोतका रूपमा हेरिन्छ । मस्कले युएसएडलाई ‘अमेरिकालाई घृणा गर्ने चरम–वामपन्थी मार्क्सवादीहरूको सर्पको गुँड’ भनेका छन् र यसलाई बन्द गर्ने प्रतिज्ञा गरेका छन् । मस्कले प्रमाणित नगरेका अन्य आलोचनामध्ये उनले युएसएडले ‘दुष्ट सिआइए काम’ गर्छ र यहाँसम्म कि ‘जैविक हतियार अनुसन्धान, लाखौँ मानिसको ज्यान लिएको कोभिड–१९ सहितलाई कोष प्रदान गर्दछ’ भनी दाबी गरेका छन् । स्पेसएक्स र टेस्लाका सिइओ मस्कले राष्ट्रपतिसँगको अभूतपूर्व कदमलाई व्यक्तिगत रूपमा स्वीकृति दिएको बताए। मस्कको अमेरिकी सरकारसँग ठूलो सम्झौता छ र उनी ट्रम्पको अभियानका सबैभन्दा ठूला वित्तीय समर्थक हुन्। युएसएडमाथि भएको आक्रमण संयुक्त राज्य अमेरिकाले अमेरिकीहरूलाई बेवास्ता गर्दै विदेशीहरूमा पैसा बर्बाद गर्दछ भन्ने रिपब्लिकन पार्टीको कट्टर रूढीवादी र स्वतन्त्रतावादी शाखाहरूमा लामो समयदेखि चलिरहेको कथाको सन्दर्भमा आएको छ । युएसएडले आफूलाई ‘हाम्रो सुरक्षा र समृद्धिलाई अघि बढाउँदै चरम गरिबी अन्त्य गर्न र लचिलो, प्रजातान्त्रिक समाजहरूको प्रवर्द्धन गर्न’ काम गर्ने संस्थाको रूपमा वर्णन गर्दछ । डाटा उपलब्ध भएको सबैभन्दा हालैको वर्षका रूपमा रहेको सन् २०२३ सम्म कंग्रेसनल रिसर्च सर्भिस अनुसार युएसएडबाट सहायता प्राप्त गर्ने शीर्ष तीन देशहरू युक्रेन, इथियोपिया र जोर्डन थिए । सहायताका अन्य शीर्ष प्राप्तकर्ताहरूमा कङ्गो लोकतान्त्रिक गणतन्त्र, अफगानिस्तान, दक्षिण सुडान र सिरिया समावेश छन् । युएसएडको युक्रेनका लागि कोषको मात्रा उल्लेखनीय छ । अमेरिकी सरकारी तथ्याङ्कअनुसार युद्धग्रस्त युरोपेली देश युक्रेनले १६ अर्ब डलरभन्दा बढीको समष्टिगत आर्थिक सहयोग प्राप्त गरेको छ । सन् १९६१ मा स्थापित यस निकायको ४० अर्ब डलरभन्दा बढीको बजेट अमेरिकी सरकारको लगभग ७० खर्ब डलरको कूल वार्षिक खर्चमा सानो अंश मात्र हो । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) का अनुसार संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो आधिकारिक विकास सहायता प्रदायक हो । रासस
विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने
काठमाडौं । लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो पूर्ण विद्युतीय कार (ईभी) सार्वजनिक गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीले मंगलबार यसबारेमा घोषणा गर्दै यस वर्ष राजस्व र मुख्य आम्दानी कम्तीमा ५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको बताएको छ। फरारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेनेडेटो भिग्नाले प्रतीक्षित ईभी अक्टोबर ९ मा इटालीको मारेनेल्लोस्थित मुख्यालयमा आयोजना हुने क्यापिटल मार्केट्स डे कार्यक्रममा प्रदर्शन गरिने जानकारी दिए । फरारीले लामो समयदेखि आफ्नो ईभी सार्वजनिक गर्ने समय भनेर संकेत गर्दै आएको थियो । सीईओ भिग्राले ‘अनौठो र नवप्रवर्तनीय तरिकाले सार्वजनिक गरिने’ भन्दै कारको विस्तृत विवरण दिन अस्वीकार गरे । ६ नयाँ मोडल सार्वजनिक गर्ने योजना फरारीले यस वर्ष छवटा नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएको छ । सीईओ भिग्नाका अनुसार यो योजना अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति वा व्यापार युद्धको जोखिमले प्रभावित हुने छैन । फरारीले सन् २०१९ देखि हाइब्रिड मोडलहरू आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । २०२३ मा कम्पनीका ५१ प्रतिशत कार बिक्री हाइब्रिड मोडलका थिए । मंगलबार फरारीले घोषणा गरेअनुसार २०२५ मा मुख्य आम्दानी २.६८ अर्ब युरो (२.७७ अर्ब डलर) पुग्नेछ । २०२४ को २.५६ अर्ब युरोभन्दा वृद्धि हुने अनुमान छ। सेयर मूल्यमा ७.६ प्रतिशतले वृद्धि मिलान स्टक एक्सचेन्जमा फरारीका सेयर मूल्य मंगलबार ७.६ प्रतिशतले बढेको थियो । ’दृढ वृद्धि’ को अपेक्षा कस्टुमाइजेसन, बलियो उत्पादन संयोजन र मूल्य निर्धारण क्षमताले २०२४ को मुख्य आम्दानी १२ प्रतिशतले बढाएको छ । ‘यी मजबुत आधारहरूमा हामी २०२५ मा अझ बढी वृद्धि हुने अपेक्षा गर्छौं,’ भिग्नाले भने । उनका अनुसार फरारीले २०२६ को उच्च लाभ लक्ष्य एक वर्ष अगावै प्राप्त गर्ने सम्भावना छ । फरारीका ग्राहकहरूले सामान्यतः कार कस्टुमाइज गर्ने गर्छन्, जसमध्ये मुख्य रूपमा रङ, लिभरी र कार्बन प्रयोग जस्ता सुविधाहरू पर्छन् । फरारीका वित्तीय प्रमुख (सीएफओ) एन्टोनियो पिक्का पिक्कनले बताएअनुसार २०२३ मा कस्टमाइजेसन सेवाबाट कुल राजस्वको १९ प्रतिशत योगदान थियो, जुन २०२४ मा २० प्रतिशतले वृद्धि भएको छ। चीन र अमेरिकी बजारमा अवसर फरारीले २०२४ मा अमेरिकी ग्राहकहरूलाई थप कारहरू डेलिभर गरेपछि राम्रो नतिजा प्राप्त गरेको छ । तर सीईओ भिग्नाका अनुसार भविष्यमा सम्भावित ट्यारिफहरूलाई ध्यानमा राखेर अमेरिका पठाइने कारहरूको ढुवानी बढाउने कुनै योजना छैन । २०२३ मा १३ हजार ७५२ कार अमेरिकामा डेलिभर गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ८९ वटा बढी हो । हाल फरारीले चीनमा कुल डेलिभरी १० प्रतिशतको सीमामा राख्ने नीति लिएको छ । भिग्नाका अनुसार चीनमा ईभी लोकप्रिय भएकाले नयाँ विद्युतीय कार त्यहाँका लागि ठूलो अवसर बन्न सक्छ । साथै पेट्रोल कारभन्दा ईभीमा कम कर लाग्ने भएकाले पनि चीनमा बजार विस्तार गर्न मद्दत पुग्नेछ । सान्दर्भिक सामग्री : १९ हजार करोड कर छलिको आरोप लगाएपछि भारतीय अधिकारीविरुद्ध फक्सवागनको मुद्दा एसियाली अटो निर्माताहरूको सेयरमा गिरावट, ट्रम्पको शुल्कका कारण अटो क्षेत्र उथलपुथल २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने निसान-होन्डा मर्जरमा मित्सुबिशी सहभागी नहुने बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी
अडानी ग्रुपलाई किन ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठग’ भनियो ? हिन्डेनबर्गको खुलासा यस्तो
काठमाडौं । अमेरिकी रिसर्च तथा लगानी कम्पनी हिन्डेनबर्ग रिसर्चको एक रिपोर्टका कारण अडानी ग्रुपको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । हिन्डेनबर्ग रिसर्चले एक अन्तर्वार्ताका क्रममा अडानी ग्रुपलाई किन निशाना बनाइयो भन्ने बारेमा खुलासा गरेको छ । अहिले हिन्डेनबर्ग कम्पनी बन्द भइसकेको छ । कम्पनीका संस्थापक नथान एन्डरसनले कानुनी वा अन्य जोखिमका कारण व्यवसाय बन्द नगरेको बताए । अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामी कुनै कानुनी वा अन्य जोखिमका कारण हाम्रो व्यवसाय बन्द गरिरहेका छैनौं र हामीले जारी गरेका सबै रिपोर्टहरूमा अझै पनि दृढ छौं ।’ एन्डरसनका अनुसार हिन्डेनबर्गको जनवरी २०२३ मा प्रकाशित अडानी ग्रुपविरुद्धको रिपोर्ट विभिन्न समाचारमाध्यमहरूमा ग्रुपबारे आएका समाचारहरूको परिणाम थियो । हिन्डेनबर्गले अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको थियो । अडानीविरुद्धको रिपोर्टपछि भारतमा चर्चित हिन्डेनबर्ग गौतम अडानी र उनको समूहविरुद्ध रिपोर्ट प्रकाशित गरेपछि हिन्डेनबर्ग रिसर्च भारतमा व्यापक चर्चाको विषय बन्यो । यद्यपि अडानी ग्रुपले रिपोर्टमा लगाइएका सबै आरोपहरूको पटक-पटक खण्डन गर्यो । एन्डरसनले केही मानिसहरूद्वारा हिन्डेनबर्गलाई ओसीसीआरपी र जर्ज सोरसजस्ता भारतविरोधी समूहहरूसँग जोड्ने प्रयासलाई ‘मूर्खतापूर्ण षड्यन्त्र’ को उपमा दिए । एन्डरसनले भने, ‘हामी यस्तो षड्यन्त्रकारी सोचलाई बढावा नदिने नीति अपनाउँछौं, त्यसैले हामीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनौं ।’ हिन्डेनबर्ग रिसर्च कम्पनी किन बन्द गरियो ? हिन्डेनबर्ग रिसर्चले विभिन्न कम्पनीहरूमाथि ठगीको आरोप लगाउँदै विस्तृत रिपोर्टहरू प्रस्तुत गर्दै आएको थियो । तर गत महिना एन्डरसनले आफ्नो कम्पनी बन्द गर्ने घोषणा गरे । कम्पनी अरू कसैलाई किन हस्तान्तरण गरिएन भन्ने प्रश्नमा उनले भने, ‘हिन्डेनबर्ग मेरो पर्याय नै हो । यदि यो कुनै सफ्टवेयर एप वा साइकल कारखाना हुन्थ्यो भने यसलाई बेच्न सकिन्थ्यो । तर जब कुरा मेरो अनुसन्धानको आउँछ, यसलाई कसैलाई दिन सम्भव छैन ।’ तर उनले हिन्डेनबर्गको टोलीले भविष्यमा कुनै नयाँ ब्रान्ड ल्याएमा आफूले समर्थन गर्ने बताए । यस कारण बनाइयो अडानीलाई निशाना एन्डरसन पहिलो पटक इलेक्ट्रिक ट्रक कम्पनी निकोलाविरुद्ध रिपोर्ट प्रकाशित गरेर चर्चामा आएका थिए । उनले कार्ल इकानको इकान इन्टरप्राइजेज लगायतका ठूला वित्तीय कम्पनीहरूलाई पनि निशाना बनाएका थिए । हिन्डेनबर्गको रिपोर्ट विशेष गरी अडानी ग्रुपविरुद्धको रिपोर्टबारे सोध्दा उनले भने, ‘हामी हाम्रो सबै अनुसन्धान निष्कर्षहरूसँग पूर्ण रूपमा अडिग छौं ।’ हिन्डेनबर्गले जनवरी २०२३ मा प्रकाशित रिपोर्टमा अडानी ग्रुपलाई ‘कर्पोरेट इतिहासको सबैभन्दा ठूलो घोटाला’ गरेको आरोप लगाएको थियो । रिपोर्टमा अडानी ग्रुपले सेयर मूल्यमा हेरफेर गरेको र वित्तीय अनियमितता गरेको दाबी गरिएको थियो । यसपछि ग्रुपका कम्पनीहरूको मार्केट क्याप १५० अर्ब डलरले घटेको थियो । अडानी ग्रुपले भने यी सबै आरोपहरू अस्वीकार गरेको थियो । भारतविरोधी भएको आरोप ? उच्चतम अदालतले हिन्डेनबर्ग रिपोर्टसँग सम्बन्धित याचिका खारेज गरिसकेको छ । समयक्रमसँगै अडानी ग्रुपले आफ्नो व्यावसायिक प्रदर्शन बलियो बनाउँदै गएको छ र बजारमा गुमाएको मूल्य पुनः प्राप्त गर्न सफल भएको छ । हिन्डेनबर्गले भारतको सेयर बजार नियामक संस्था सेबीकी अध्यक्ष माधबी पुरी बुचमाथि पनि ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को आरोप लगाएको थियो । हिन्डेनबर्गका अनुसार यही कारण अडानी ग्रुपविरुद्ध गहिरो अनुसन्धान हुन सकेन । तर बुचले यी आरोपहरू अस्वीकार गर्दै आफू नियामक प्रमुख बन्नुअघि नै अडानीले लगानी गरिसकेको र उनले सबै आवश्यक नियमनहरू पालन गरेकी बताएकी थिइन् । हिन्डेनबर्गको रिपोर्टलाई भारत विरोधी दृष्टिकोणबाट हेरियो नि भन्ने प्रश्नमा एन्डरसनले भने, ‘हामी सधैं भारतको क्षमतामा विश्वास गर्छौं । पारदर्शिता र मजबुत कर्पोरेट प्रशासन भारतको विकास कथा सफल बनाउनका लागि प्रमुख तत्वहरू हुन् ।’ हिन्डनबर्ग रिसर्चको स्थापना २०१७ मा भएको थियो । यसको अन्तिम प्रकाशित रिपोर्ट अनलाइन कार खुद्रा विक्रेता कारवानासम्बन्धी थियो ।