जापानको श्रम बजार स्थिर
काठमाडौं । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ । एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि भएर जनवरी महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६ करोड ७७ लाख ९० हजार पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जनवरीमा महिनामा ३.३ प्रतिशत पुगेको हो । जापानको राष्ट्रव्यापी काम–देखि–आवेदक अनुपात जनवरीमा १.२६ थियो, अर्थात् त्यहाँ प्रत्येक १०० जागिर खोज्नेहरूको लागि १२६ जागिरहरू थिए, जुन अघिल्लो महिनाको तुलनामा ०.०१ अङ्कले बढेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयबाट जारी भएको तथ्याङ्कले देखाएको छ । केही कम्पनीले श्रमिक अभावका कारण जागिरको दरबन्दी बढाउँदै लगेको छ भने कतिपयले बढ्दो लागतका कारण नयाँ कर्मचारी भर्ना गर्न सङ्घर्ष गरिरहेको मन्त्रालयले जनाएको छ ।
‘अमेरिकी ट्यारिफ’का कारण होन्डाले ‘सिभिक’ मेक्सिकोमा नभई ‘इन्डियाना’मा उत्पादन गर्ने
काठमाडौं । जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो अर्को पुस्ताको सिभिक हाइब्रिड कार मेक्सिकोको सट्टा अमेरिकी राज्य इन्डियानामा उत्पादन गर्ने निर्णय गरेको छ । कम्पनीले सम्भावित ट्यारिफहरूबाट जोगिनका लागि यस्तो निर्णय गरेको तीन स्रोतहरूले जनाएका छन् । यसले निर्माताहरू कसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका मेक्सिको र क्यानडाबाट आयात गरिने सामानहरूमा २५ प्रतिशत ट्यारिफको प्रभावबाट जोगिन प्रयास गरिरहेका छन् भन्ने देखाउँछ । धेरै कार निर्माता कम्पनीहरूले यी शुल्कहरूबारे चिन्ता व्यक्त गरेका छन्, तर होन्डाले यस्तो कदम चालेको यो पहिलो जापानी कार कम्पनी हो । स्रोतहरूका अनुसार जापानको दोस्रो ठूलो कार निर्माता कम्पनी होन्डाले सुरुमा अर्को पुस्ताको सिभिकलाई मेक्सिकोको गुआनाहुआतोमा उत्पादन गर्ने योजना बनाएको थियो । एक स्रोतले भनेअनुसार उत्पादन नोभेम्बर २०२७ देखि सुरु गर्ने योजना बनाइएको थियो । मेक्सिको चयन गर्नुको कारण उत्पादन लागत बढ्दै गएकाले इन्डियाना र क्यानडामा कार उत्पादन गर्न कठिन भइरहेको स्रोतहरूमध्ये एकले बताए । अब होन्डाले वार्षिक करिब २ लाख १० हजार नयाँ सिभिक मोडेल उत्पादन गर्ने लक्ष्यसहित २०२८ को मे महिनादेखि इन्डियानामा निर्माण गर्ने योजना बनाएको जनाइएको छ । यदि इन्डियानामा उत्पादनको मागभन्दा कम भएमा होन्डाले ट्यारिफ नलाग्ने अन्य राष्ट्रहरूबाट आयात गर्ने पनि सोच बनाएको स्रोतले जनाएको छ । होन्डाका प्रवक्ताले सिभिक उत्पादन योजनामा परिवर्तनबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरे । उनले कम्पनीले माग र व्यापार वातावरणलाई ध्यानमा राख्दै ‘वैश्विक रूपमा उत्तम उत्पादन र बाँडफाँट’ सुनिश्चित गर्ने बताए । मेक्सिको लामो समयदेखि जापानी तथा अन्य अन्तर्राष्ट्रिय कार निर्माताहरूको लागि कम लागतको उत्पादन केन्द्र रहँदै आएको छ । होन्डाले मेक्सिकोमा उत्पादित करिब ८० प्रतिशत गाडी संयुक्त राज्य अमेरिका पठाउँछ, जुन चीनपछि विश्वको दोस्रो ठूलो कार बजार हो । होन्डाका प्रमुख सञ्चालन अधिकृत शिन्जी अओयामाले नोभेम्बरमा चेतावनी दिएका थिए कि यदि अमेरिकाले स्थायी ट्यारिफ लगाउने हो भने कम्पनीलाई उत्पादन स्थान परिवर्तन गर्न सोंच्नुपर्ने हुन सक्छ । यो केसले देखाउँछ कि अमेरिकी ट्यारिफहरू कति अवरोधकारी हुन सक्छन्, विशेष गरी ती उद्योगहरूका लागि जसले छोटो अवधिमा उत्पादन योजना परिवर्तन गर्न सक्दैनन् किनकि तिनीहरूमा ठूला लगानी आवश्यक पर्छ र विभिन्न बजारका लागि छुट्टाछुट्टै उत्पादन लाइनहरू सञ्चालनमा हुन्छन् । होन्डाले गत वर्ष अमेरिकाभित्र १४ लाख कार र ट्रकहरू बेचेको थियो, जसमा एक्यूरा मोडेलहरू पनि समावेश छन् । कम्पनीले २ लाख ४० हजारभन्दा बढी सिभिक गाडीहरू बेचेको थियो, जसमा पेट्रोल र पेट्रोल-इलेक्ट्रिक हाइब्रिड मोडेलहरू दुवै छन् । सिभिक, सीआर-भी पछि होन्डाको अमेरिका बजारमा दोस्रो सबैभन्दा बढी बिक्री हुने गाडी हो । होन्डाका अनुसार अमेरिकाभित्र सिभिक बिक्री गत वर्ष २१ प्रतिशतले बढेको थियो । अमेरिकाभित्र होन्डाले बेच्ने करिब ४० प्रतिशत गाडी मेक्सिको र क्यानडाबाट आयात गरिन्छ । यसैगरी होन्डाले अमेरिकाभित्र उत्पादित करिब ६० हजार गाडीहरू मेक्सिको वा क्यानडामा निर्यात गर्छ । यदि ती राष्ट्रहरूले पनि जवाफी ट्यारिफहरू लगाउने हो भने होन्डालाई थप लागत वृद्धिको सामना गर्नुपर्ने हुन सक्छ । (एजेन्सीहरूका अनुसार) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
अमेरिकाको बढ्दो ‘ऋण’ नियन्त्रण गर्न ट्रम्प ‘असफल’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो तथा अन्तिम कार्यकालमा देशलाई महान बनाउन चाहन्छन् । यसका लागि उनी लगातार एकपछि अर्को ठूला निर्णयहरू गर्दैछन्, जसले धेरै देशहरूलाई चिन्तित बनाएको छ । तर, ट्रम्प देशको बढ्दो ऋण नियन्त्रण गर्न असफल भएका छन् । जनवरीमा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट फेडरल सरकारको कुल राजस्वको १८.७ प्रतिशत पुग्यो, जुन १९९० को दशकयता सबैभन्दा उच्च हो । सन् १९९२ मा यो १८.९ प्रतिशतको उच्चतम स्तरमा पुगेको थियो र जनवरीमा यो त्यसभन्दा केवल २० बेसिस पोइन्ट कम रह्यो । अर्थात् यो २३ वर्षको उच्चतम स्तरमा पुग्यो । ब्याजको लागत बढेपछि पछिल्ला १८ महिनामा अमेरिकाको नेट इन्टरेस्ट पेमेन्ट दोब्बर भएको छ । ब्युरो अफ इकोनोमिक एनालिसिसको तथ्यांकअनुसार अमेरिकी सरकारको राजस्वको १८ प्रतिशत ऋणको ब्याज तिर्नमात्रै जाने गरेको छ । यो ३० वर्षयताकै उच्च हो । पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढेको छ । कोरोना महामारी सुरु भएयता अमेरिकाको ऋण १६ ट्रिलियन डलरले बढेको छ । अमेरिकाको इतिहासमा सरकारले यति धेरै ऋण पहिला कहिल्यै लिनुपरेको थिएन । अमेरिकाले दैनिक १. ८ अर्ब डलरभन्दा बढी ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था आएको छ । यसले सरकारको आम्दानी घटेको र खर्च बढेको स्पष्ट देखाउँछ । ऋण कति पुग्यो ? अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पार गरेको छ, जुन देशको जीडीपीको करीब १२५ प्रतिशत हो । २००० मा अमेरिकामा ५.७ ट्रिलियन डलर ऋण थियो, जुन अहिले ३४.२ ट्रिलियन डलर पुगेको छ । २०१० मा यो १२.३ ट्रिलियन डलर र २०२० मा २३.२ ट्रिलियन डलर थियो । यूएस कांग्रेसको बजट दस्तावेजहरूअनुसार अर्को दशकसम्म देशको ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान छ । अर्थतन्त्र ध्वस्त हुनसक्ने अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि यति धेरै ऋण राम्रो कुरा नभएको विज्ञहरू बताउँछन् । अबको केही वर्षमा अमेरिकाको ऋण-जीडीपी अनुपात २०० प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ । अर्थात् देशको ऋण अर्थतन्त्रको दोब्बर पुग्नेछ । यदि यस्तो भयो भने ऋण चुक्ता हुनेबित्तिकै अमेरिकाको अर्थतन्त्र ध्वस्त हुनेछ । जसका कारण सरकारले अनुसन्धान तथा विकास, पूर्वाधार र शिक्षामा कूल खर्चभन्दा ब्याज तिर्न बढी खर्च गर्नुपर्नेछ । देशको अर्थतन्त्र राम्रो अवस्थामा रहेका बेला ऋण बढ्नु चिन्ताको विषय हो । सामान्यतया अर्थतन्त्र कमजोर हुँदा सरकारले आर्थिक वृद्धि बढाउन खर्च बढाउँछ । बढ्दो ऋणका कारण रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीबीच प्रायः विवाद हुन्छ । तर सत्य यो हो कि दुवै पार्टीको कार्यकालमा देशको ऋण बढेको छ । यसको असर देशको क्रेडिट रेटिङमा पनि देखिन थालेको छ । गत वर्ष अगस्टमा फिचले अमेरिकाको सार्वभौम ऋणको रेटिङ ‘डबल ए प्लस’ (एए +) बाट घटाएर ‘त्रिपल ए’ (एएए) गरेको थियो । मुडीजले पनि अमेरिकाको एएए कटौती गर्न सक्ने चेतावनी दिएको थियो । (एजेन्सीहरूको सहयोगमा)