दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार डा. आचार्यलाई
काठमाडौं । विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीतिलगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुर्याए वापत उनलाई नगद ५० हजार रुपैयाँ सहित सो पुरस्कार प्रदान गरिएको हो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा आइतबार आयोजित कार्यक्रम प्रा. डा. आचार्यलाई पुरस्कार सहित दोसल्ला ओढाइ सम्मान गरेका थिए । सो अवसरमा प्रा.डा. आचार्यले दण्डपाणि अर्ज्याल स्मृति केन्द्रबाट हालसम्म सम्मानित/पुरस्कृत व्यक्तिहरूको जीवनीलाई स्मृति केन्द्रकै मुखपत्र ‘ज्ञानविन्दु’ पत्रिकामा जीवनी विशेषाङ्कका रूपमा प्रकाशित गर्नुपर्नेमा विशेष जोड दिएका थिए । पूर्वउपकुलपति प्रा.डा. शर्माले दण्डपाणि अर्याल स्मृति केन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएको भनी खुसी व्यक्त गरे । प्राडा शर्माले पनि १५ वर्ष पहिले यो पुरस्कार प्राप्त गरिसकेका छन् । त्यसैबीच जयराज आचार्य विषयक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केन्द्रका सल्लाहकार हरिहर अर्याल तथा साहित्यकार राजेन्द्रप्रसाद अर्याल, अनेसास, बिओटिका अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, अन्य कवि, लेखक साहित्यकारलगायत संस्थाका पदाधिकारी उपस्थिति थियो । वक्ताहरूले जयराज आचार्य र दण्डपाणि अर्ज्यालको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै स्मृति केन्द्रको भूमिकाको प्रशंसा गरेका थिए । ती कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँले गरेको थिए भने कार्यक्रम सञ्चालन महासचिव कपिलचन्द्र खनालले गरेका थिए । दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता रहेका थिए । रासस
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डासहित श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । उनले बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरू, सबै वस्तुगत संघहरू तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बजार अनुगमनमा नाममा व्यवसायीहरूले पाउने दुःख र हैरानी सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरूसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् । २०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनी उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।
प्रदिक्षा शर्मा र सागर केसीलाई सीईओको जिम्मेवारी, अन्तर्राष्ट्रिय विस्तारलाई तीव्रता दिने
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको नेपालको अग्रणी उत्पादन तथा निर्यात कम्पनी मनराम ग्रुपले आफ्ना विभिन्न व्यावसायिक इकाइहरूमा नयाँ नेतृत्व नियुक्त गरेको छ । कम्पनीका अनुसार यस कदमले नवप्रवर्तन, अन्तर्राष्ट्रिय विस्तार र दिगो विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ । प्रदिक्षा शर्मालाई मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ भने सागर केसीलाई मनराम फार्म प्रालिको सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । यी रणनीतिक नियुक्तिले कम्पनीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सन् २००३ मा स्थापना भएको मनराम ग्रुपले आफ्नो यात्रा परम्परागत नेपाली उत्पादन( जस्तै छुर्पी र हस्तकलाका सामग्री-संयुक्त राज्य अमेरिकामा निर्यात गर्दै सुरु गरेको थियो । समयसँगै कम्पनीले कृषि, डेरी, पेट उत्पादन, खाद्य सेवा तथा उत्पादन क्षेत्रलगायत विविध क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । हाल ग्रुपमा ४५० भन्दा बढी कर्मचारी कार्यरत छन् । गुणस्तर, नैतिक व्यावसायिक अभ्यास र नवप्रवर्तनप्रतिको प्रतिबद्धताका साथ कम्पनीले स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै विशेषगरी महिला सशक्तीकरणमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ । ग्रुपका अध्यक्ष सुमन श्रेष्ठले भने, ‘यी नेतृत्व परिवर्तनहरूले हाम्रो दीर्घकालीन रणनीतिलाई अझ मजबुत बनाउनेछन्। नयाँ नेतृत्वले नवप्रवर्तन, कार्यक्षमता र अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं ।’ व्यावसायिक गतिविधिसँगै कम्पनी सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको छ । मनराम फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा पुस्तकालय स्थापना र छात्रवृत्ति कार्यक्रम सञ्चालन जस्ता पहलहरू अघि बढाइएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर विस्तार र विविध उत्पादन पोर्टफोलियोमार्फत मनराम ग्रुपले नेपालको निर्यात क्षेत्र सुदृढ बनाउँदै व्यापार घाटा न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।