लिट्मस केबल्सको पावर पार्टनर्स मीट २०८२ सम्पन्न
काठमाडौं । लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो 'पावर पार्टनर्स मिट २०८२' काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो । उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको थियो । त्यसै अवसरमा, लिट्मसले 'श्रावण उत्सव' अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।
शंकर र अम्बे ग्रुपको लगानी रहेको रिद्धिसिद्धिले ४ अर्बको सिमेन्ट बेच्यो
काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको मुख्य लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा ४ अर्ब रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको छ । रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (सन् २०२५) मा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको हो । मकवानपुरको हेटौंडामा सन् २०१३ मा स्थापित रिद्धिसिद्धि सिमेन्टले सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको सिमेन्टको कारोबार गरेको थियो । क्लिंकर र सिमेन्ट उत्पादन बिक्री वितरण गरिरहेको यस कम्पनीले वार्षिक ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको रहेको छ भने, ०.८४ मिलियन मेट्रिक टन क्लिंकर उत्पादन क्षमता छ । क्लिंकरको करिब ८४ प्रतिशत सिमेन्ट उत्पादन गर्छ । कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ दीर्घकालीन ऋण र ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ । दीर्घकालीन ऋणका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सले त्रीपल बी माइनस रेटिङ र अल्पकालीन ऋणका लागि एथ्री रेटिङ प्रदान गरेको छ । त्रिपल बी माइनस रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम स्तर र एथ्री रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ ।
नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन
काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद् रहेका छन् । यसैगरी, रोजगारदाता परिषद, उर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीईओज् फोरम, महिला नेतृत्व फोरम, स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको छ । परिसंघले समितिहरुको सभापति तथा उपसभापतिहरुको चयन समेत गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरे । सो अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायहरुलाई स्पष्ट नीतिगत सुझाव दिन, उद्यमीहरुको प्रवर्द्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिहरुले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे । उनले समितिहरूको सहयोगमा परिसंघले आगामी दुई वर्ष प्रभावकारी रूपमा काम गर्ने बताए । उद्योग समिति सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी, राजश्व समिति सभापतिमा गोपाल अग्रवाल, उपसभापतिमा दिपक कुमार अग्रवाल र शेषमणी दहाल, कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा, मेक इन नेपाल स्वदेशी समिति सभापतिमा प्राशी अग्रवाल, उपसभापतिमा विदूषी राणा, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापतिमा चन्द्र चण्डन र उपसभापतिमा वर्ण न्यौपाने, पूर्वाधार समिति सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा बसन्त चन्द, बैंकिङ तथा फाइनान्स समिति सभापतिमा वरुण कुमार तोदी, पर्यटन समिति सभापतिमा पम्फा धमला, उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल, प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिमा लेखराज पोखरेल र उपसभापतिमा पवन कुमार शारडा, सदस्यता समिति सभापतिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समिति सभापतिमा आकाश गोल्छा, शिक्षा तथा सीप समिति सभापतिमा आषिश जजोडिया, उपसभापतिमा यश अग्रवाल, स्वास्थ्य समिति सभापतिमा मनिष खेम्का, उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् । यसैगरी, रोजगारदाता परिषद् सभापतिमा धु्रब रिजाल, उर्जा विकास परिषद् सभापतिमा आशिष गर्ग, उपसभापतिमा सन्जीव न्यौपाने, सूचना प्रविधि परिषद् सभापतिमा सन्जय गोल्छा, सीइओज् फोरम सभापति हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम सभापतिमा विदूषी राणा, उपसभापतिमा आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापतिमा अनुराग गोयल, उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् । सो कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ता, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दिप शारडा, प्राशी अग्रवाल, विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।