अर्थतन्त्र मन्दीतर्फ गएको तथ्याङ्कहरूले पुष्टि गरेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको सङ्केत तथ्याङ्कहरूले पुष्टि गरिसकेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले यो अवस्थामा उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न र सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य हुनु पर्ने बताए । उनले श्रम बजारको मागअनुसारको सीप विकासमा जोड दिँदै वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यवहारिक नीति नियमको पुनरावलोकन हुनुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यावहारिक बनाउन आफू तयार रहेको बताए । उनले सीप विकासलगायतका श्रम क्षेत्रका सबै विषयमा निजी क्षेत्रको सरसल्लाहमा छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले महासङ्घले राखेका सुुझाव कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट आफू सकारात्मक रहेको बताए । प्रतिनिधिमण्डलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र महानिर्देशकको सहभागिता थियो । यसैगरी महासङ्घका अध्यक्ष ढकाल र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का नेपालका लागि देशीय निर्देशक नुमान ओजकानबीच पनि भेटवार्ता भएको थियो ।
मन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट, लगानीका बारेमा छलफल
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको स्पष्ट पारेका छन् । नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे । साथै महामहिम राजदुतको कार्यकाल तथा नेपालको बसाइँ उपलब्धिमुलक र सुखद रहोस् भन्ने कामना व्यक्त गरे । मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षा ब्यक्त गरे । बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे । भेटका क्रममा मन्त्री रिजालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको समेत स्मरण गराएका छन् । तसर्थ उक्त प्रक्रियालाई दिगो र सहज बनाउन कम्तीमा केही वर्षसम्म जियसपि, उत्पत्तिका नियमहरूको मापदण्ड जस्ता यलडिसि सम्बन्धित सहुलियतपूर्ण व्यापारिक सुविधाको निरन्तरता महत्वपूर्ण रहने भन्दै मन्त्री रिजालले यस सम्बन्धमा नेपालले बेलायतको सहयोगको अपेक्षा गरेको समेत बताए । गत वर्ष कोप–२६ सम्मेलन सफलतापूर्वक आयोजना भएको सन्दर्भमा साझा विश्वव्यापी चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनको एजेण्डामा नेपाल बेलायतसँग मिलेर काम गर्न तत्पर रहेको मन्त्री रिजालले अवगत गराए । भेटका क्रममा मन्त्री रिजालले नेपालको हरित, उत्थानशील र समावेशी विकास रणनीतिलाई समर्थन गर्ने बेलायतको तत्परताको कदर समेत गरेका छन् । त्यसैगरी नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, विद्युतीय यातायात, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताए । नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोग प्रति मन्त्री रिजालले कृतज्ञता समेत व्यक्त गरे ।
सङ्कटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखिएका छन् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको सङ्कटग्रस्त अर्थतन्त्रमा विस्तारै आशाको किरण देखिन थालेको बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएको बताए । ‘विप्रेषण २५ प्रतिशतले बढेको छ, बैंकको सिडी रेसियो पनि ८५/८६ प्रतिशत छ, ब्याजदर घट्दो क्रममा छ, अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका सङ्केत देखिँदैछन्,’ उनले भने । अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको उल्लेख गरे । ‘अर्थतन्त्र सङ्कटमा पर्नुमा कुनै एउटा पक्ष मात्र दोषी छैन, यसका बहुआयामिक कारण छन्, यो अवस्थाबाट बाहिर निस्कन निजी क्षेत्र र सरकारले बलियो सहकार्य गर्नुपर्छ,’ उनले भने । अध्यक्ष ढकालले कोभिड-१९, रुस र युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारणले आर्थिक क्षेत्रमा सङ्कट देखा परेको बताए । आफू महासङ्घको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको उनको भनाइ छ । ‘सरकारसँग लगातार संवाद भइरहेको छ, कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ, सरकार, नियमनकारी या कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर सङ्कटको समाधानतिर लाग्नुपर्छ,’ उनले भने । निराशा मात्र बाँडेर नहुने भन्दै सकारात्मक कुराको प्रसार गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र सरकारले एक अर्कालाई हेर्ने दृष्टिकोण पनि बदल्नुपर्ने उनको धारणा छ । अध्यक्ष ढकालले राज्य सञ्चालनको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रलाई गृहमन्त्रालयको मयार्दाक्रमसमेत उपेक्षा गरिएको बताए । अर्थतन्त्रको सुधार, लगानी वृद्धि, रोजगारी सिर्जनालगायतका क्षेत्रमा महासङ्घले अगुवाइ गर्ने उनको भनाइ छ ।