कठोर बन्दै प्रचण्ड सरकार, थप दुई उद्योगको बिजुली काट्यो

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत््् प्राधिकरणले आज पुनः दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८५ करोड रुपैयाँ र लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न ४ उद्योगको बिजुली काटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत्््् प्राधिकरणलाई निर्देशन दिएको थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणले यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ । पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद््््््का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए ।

‘होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्छ, रोयल्टी शुल्कमा सहजीकरण गरौं’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै महत्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको छ । यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजिकरण गरिदिन माग गरेको छ । हाल ऐनमा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको भन्दै सो सम्बन्धमा तत्काल सहजिकरण गरिदिन माग गरेको छ । साथै, अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने र हाल संचालनमा रहेका होटलहरुबाट पनि बाहिरिने अवस्था सिर्जना भएको महासंघले जानकारी दिएको छ । होटल व्यवसायको सम्बन्धमा उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)ले होटल व्यवसाय सम्बन्धी विभिन्न संघ संस्थाहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार परेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए । सोही अनुरुप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरी निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । साथै, उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै होटल व्यवसायलाई पर्यटनमूलक उद्योगको वर्गमा पर्ने तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्ने गरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ । सोही अनुरुप महासंघले अर्थमन्त्री डा.महतलाई भेटी होटल क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलुकको कूल ग्राहस्थ उत्पादनमा समेत टेवा भन्दै सरकारको तर्फतबाट नीतिगत तहमा सहजिकरण गरिदिनुपर्ने माग अघि सारेका छन् । भेटमा अर्थमन्त्री डा.महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफुले अध्ययन गरेर सकारात्मक नतिजा दिने प्रतिबद्धता जाहेर गरे । अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति वस्नेत, प्रतिष्ठित होटल व्यवसायी शशिकान्त अग्रवाल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलगायतका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

५ महिनामा साढे ६ खर्बको आयात, निर्यात ६३ अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको हो । चालु आर्थिक वर्ष २०८०/८१को मंसिरसम्म ३.३९ प्रतिशत घटेर कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो । गत मंसिरसम्म ६.०९ प्रतिशत घटेर ६३ अर्ब २० लाख ७४ हजार रुपैयाँ निर्यात भएको छ । जबकी गत वर्षको मंसिरसम्म ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । समीक्षा अवधिमा नेपालको कुल ब्यापार घाटा ३.०९ प्रतिशत घटेर ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँको ब्यापार घाटा थियो । मंसिरसम्मको तथ्याङ्क अनुसार कुल वैदेशिक ब्यापार ३.६४ प्रतिशत घटेर ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक ब्यापार भएको थियो ।