सीएनआई र पीडब्लूसीले सार्वजनिक गरे जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने प्रतिवेदन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र पीडब्लूसी (प्राइसवाटरहाउसकपर्श पीडब्लूसी) भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेका छन् । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो । नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्वपूर्ण मानिएको छ । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु सुझाइएको छ । यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य शृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरु कसरी पुँजीकरण गर्न सकिन्छ भन्ने विषयहरु प्रतिवेदनमा समेटिएका छन् । विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरुको लागि रोडम्याप तयार गर्न ठोस कदमहरु र योजनाहरुको रुपरेखा प्रस्तुत गरेको बताए । यसमा जोखिम न्यूनीकरण रणनीतिको रुपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरुलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरुजस्ता विभिन्न सरोकारवालाको भूमिकाका विषयहरुसमेत समेटिएका छन् । पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर सिंहले जलवायु अनुकूलन व्यवसायका लागि एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए। जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । यस प्रतिवेदनले एक लचिलो र दिगो व्यवसायीक वातावरण निर्माण गर्न सहयोग गर्ने उनको विश्वास थियो । सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरुमध्ये एक रहेको बताए । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने बताए । यो प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ । साथै, यसले व्यावसायिक सुरक्षामात्र नभएर राष्ट्रको समग्र आर्थिक स्थिरतामा पनि योगदान पुर्याउने विश्वास गरिएको छ । यो प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकुलनलाई बुझ्न र सम्बोधन गर्नका लागी महत्वपुर्ण मार्गनिर्देशन प्रदान गर्नेछ। यो रिपोर्ट व्यवसाय, नीति निर्माताहरु र संस्थाहरुका लागि जलवायु परिवर्तन अनुकुलन गर्न महत्वपूर्ण स्रोत हुने विश्वास गरिएको छ ।

उद्योग प्रतिष्ठानका प्राविधिकको क्षमता अभिवृद्धिका लागि तालिम सुरु

विराटनगर । उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि बाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तर प्रविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्षता तालिमको आयोजना गरिएको बताए । उनले उद्योगहरुले प्राप्त उर्जाको व्यवस्थापन गरी त्यसबाट बढी भन्दा बढी लाभ लिनसके उद्योगको उत्पादन खर्च कटौतिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उद्योगहरुको लागि आवश्यक दक्ष प्राविधिकको विकासलाई मध्यनजर गरी यसप्रकारको तालिम आयोजनालाई भविष्यमा पनि निरन्तरता दिने अध्यक्ष सुरानाले बताए । इन्स्योर परियोजनाका कोशी प्रदेश प्रमुख संजव कुमार राईले परियोजनाले आगामी दिनमा उद्योग प्रतिष्ठानका आवश्यकता अनुरुप नयाँ क्षेत्र पहिचान गरी सोही आधारमा पाठयक्रम विकास गरी थप तालिम संचालन गरिने जानकारी दिए । दक्ष जनशक्तिले उद्योगको उत्पादकत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस प्रकारको तालिम आवश्यक रहेको औल्याए । तालिमका प्रशिक्षक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धती र महत्वका विषयमा सिकाईने बताए । बाह्र दिनसम्म संचालन हुने तालिमका यस क्षेत्रका उद्योग प्रतिष्ठानका बीस जना प्राविधिकहरुको सहभागिता रहेको छ ।

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द, अघिल्लाे वर्ष पनि १५२ उद्योग बन्द

पर्सा । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए । घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए भने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए । आव २०७९/८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा एक करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो। उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले जानकारी दिए । रासस