लाइन काटिएका २३ उद्योगमा बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार बेलुका जगदम्बा स्टिलबाट लाइन जोड्न सुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । ट्रंक लाइन र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको विद्युत लाइन जोडिदिने भएको छ । सरकारले लाइन जोड्न निर्देशन दिएसँगै प्राधिकरणले उद्योगहरुमा लाइन जोडिदिने भएको हो । शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो । यसअघि मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले लाइन जोड्न निर्देशन दिएसँगै डिकेटेड र ट्रंक लाइनको महशुल विवादबारे छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र उर्जा मन्त्रालयका सहसचिव रहेको तीन सदस्य समिति गठन गर्ने निर्णय गरेको हो ।

वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनी लगायत अन्यत्र बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘अनलाइनबाट पनि राम्रो बिक्री भइरहेको छ। अग्र्यानिक सामान पाइने पसलमा पनि साबुन बिक्री हुन्छ ।’ नेपाली विषयमा स्नातकोत्तर गर्नुभएकी घिमिरे पहिल्यैदेख अन्यत्र रोजगारी खोज्नुभन्दा आफैँ केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । उनले भनिन्, ‘केही वर्षअघि काठमाडौँको ठमेलमा विदेशीले प्राकृतिक साबुन खोजी गरेपछि यसको महत्व बुझेँ । ठमेलमै एक जना विदेशीबाट साबुन बनाउने तालिम पनि लिएँ । यसरी सिकेको सीप खेर जान दिनुहुँदैन भनेर त्यसलाई व्यवहारमा उतार्न थाले ।’ विगत छ वर्षदेखि धरान-१५ स्थित आफ्नै घरमै साबुन उद्योग सञ्चालन गरिरहेकी उनी ५० हजार लगानीमै साबुन उत्पादन सुरु गर्न सकिने बताउँछिन् । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘मैले त छ वर्षअघि २५-३० हजार लगानीबाट सुरु गरेकी थिएँ। यसबाट सोचेभन्दा राम्रै फाइदा भयो’, उनले भनिन्, ‘अहिले सामाजिक सञ्जालबाटै धेरै माग आउँछ । पसलबाट पनि माग आउँछ । साबुनबाटै आफूलाई चाहिने खर्च पूरा गरेकी छु ।’ उनले पछिल्लो समय महिलालाई साबुन बनाउने तालिम पनि दिँदै आएकी छन् । उनले उदयपुरको गढी गाउँपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकालगायत स्थानमा तालिम सञ्चालन गरिसकेकी छन् । उनी भन्छिन्, ‘आफ्नै गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउँदा देशको पैसा बाहिरिन पाउँदैन । यसबाट उपभोक्तादेखि देशसम्मलाई फाइदा हुन्छ ।’ फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने उनको बुझाइ छ । यसका लागि घर परिवारको साथ र स्थानीय सरकारले सहयोग गरे धेरै महिला घर बसेरै स्वरोजगार बन्न सक्ने उनको धारणा छ । ‘थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सक्छन्’, उनी भन्छिन्, ‘हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ।’ रासस