चोली फेर्दै ६० नाघेका उद्यमी
काठमाडौं । ‘उमेरले ६० आसपासका हामी कृषिमा फर्कदैछौं, व्यवसायमा नाफा त चाहिन्छ, हामीले स्वास्थ्य जीवन पनि जिउनुपर्छ, समग्र देशको हित पनि हेर्नुपर्छ,’ तत्कालीन जनता बैंकका अध्यक्ष तथा जलविद्युत उद्यमी केशवबहादुर रायमाझीले भने । ‘म पढेर मास्टर भएँ, आफ्नै लगानीमा स्कूल पनि चलाए, वाणिज्य बैंक पनि चलाए, अहिले कृषिमा लागेको छु, हिजो पनि १५ वटा पालिकाका अध्यक्षसँग कृषिमा लगानी वृद्धिबारे अन्तर्क्रिया गरेँ, कृषि क्षेत्रको विकासमा सरकारी लगानी बढाउनैपर्छ,’ तत्कालीन मेघा बैंक नेपालमा अध्यक्ष भोजबहादुर शाहले भने । ‘मेरो हजुरबा किसान नै हो, बुवा व्यापारमा लाग्नुभयो, मैले पनि उद्योग र व्यापारमा चार दशक बिताएँ, अहिले मैले चोली फेरेको छु, म कृषिमा लागेँ, अब मेरो फोकस कृषिमा नै हुनेछ,’ एनएमबी बैंकका पूर्वअध्यक्ष पवन गोल्यानले भने । तीनै जना फरक-फरक तीन वटा वाणिज्य बैंकका अध्यक्ष भइसकेका सफल उद्यमी हुन् । रायमाझी जलविद्युत क्षेत्रमा ठूला लगानीकर्ता हुन् भने बैकिङ क्षेत्रमा पनि उनको ठूलो लगानी छ । प्याप्सनको पूर्वअध्यक्ष समेत रहेका शाह पनि बैकिङ, शिक्षा र जलविद्युत क्षेत्रका व्यवसायी हुन् । बैंक तथा वित्तीय संस्था परिसंघको पूर्वअध्यक्ष रहेका गोल्यान झण्डै दर्जन ठूला कम्पनीमा मुख्य लगानीकर्ता छन् । उनीहरूसँगै मञ्चमा बसेका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पूर्वअध्यक्ष परितोष पौडेलले सुरुमै भने, ‘गुणस्तरीय जीवनका लागि गुणस्तरीय खाना चाहिन्छ, गुणस्तरीय खानाको स्रोत कृषि उपज नै हुन्, यस क्षेत्रमा शिक्षित र सक्षम मानिसहरू कृषिमा नलाग्ने हो भने कृषि क्षेत्रको विकास पनि हुँदैन, गुणस्तरीय खाना खान पनि पाइँदैन ।’ २२ वर्षअघि क्यान्सर, मधुमेह, ब्लडप्रेसर लगायत रोगले सताएपछि अर्गानिक खेतीमा लागेको ७२ वर्षिया प्रेम लामाले आफ्नो कथा सुनाए । ‘मलाई ग्यास्टिक, अल्सर हुँदै क्यान्सर भएछ, चिकित्सकका अनुसार आन्द्रा काटेर फाल्नुपर्ने अवस्थामा पुगेछु,’ उनले भने, ‘त्यसपछि मैले विभिन्न सञ्चारमाध्यममा अध्ययन गरेँ, अर्गानिक खानाले धेरै रोग ठिक हुन्छ भन्ने जानकारी पाएँ , औषधीसँगै म अर्गानिक खाना खान थालेँ, आफैंले अर्गानिक खेती सुरु गरेँ, मलाई सँन्चो हुँदै गयो, ७२ वर्षको उमेरमा म अचेल दैनिक १८ घण्टा काम गर्छु, अहिले म बलियो भएँ, जनता एग्रो एण्ड फरेष्टी लिमिटेडको सबै खेती मैले हेर्छु, हिमाल, पहाड, तराईका फार्महरूमा जान्छु, हाम्रा उत्पादनहरु विभिन्न देशहरुमा निर्यात भइरहेका छन् । बजार बिस्तार र अनुसन्धानका लागि विदेश पनि गइरहेको हुन्छ ।’ उल्लेखित सबै पात्रहरू अहिले जनता एग्रो एण्ड फरेष्टी लिमिटेडमा जोडिएका छन् । गोल्यान अध्यक्ष र शाह प्रबन्ध निर्देशक रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल, साविक एनसीसी बैंकका पूर्व अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, उत्प्रेरक नरबहादुर कार्की समेत रहेका छन् । २ अर्ब पुँजी प्रस्ताव गरेको यस कम्पनीमा प्रवर्द्धकले अहिलेसम्म ८५ करोड लगानी गरेको, ६५ करोडको प्रवर्द्धक सेयर बिक्री भइरहेको र ५० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव गरिएको कम्पनीका अध्यक्ष पवन गोल्यानले बताए । नेपालको माटो र हावापानी उन्नतस्तरको कृषि उत्पादनकन लागि उपयुक्त भएको बताउँदै यस क्षेत्रमा सरकार, किसान, व्यवसायी मिलेर काम गर्नुपर्ने बताए । ‘अहिले किसानहरूले एक हेक्टर जमिनमा काम गरेर जम्मा ४० हजार रुपैयाँ बराबरको उत्पादन गरिरहेका छन् । यसलाई सुधारेर किसानले प्रतिहेक्टर कम्तीमा २ लाख रुपैयाँ कमाउन सक्ने बनाउन सकिन्छ,’ उनले भने । खेतीबाट प्रतिहेक्टर वार्षिक २ देखि ४ लाख कामउन सकिने पुष्टि गोल्यान समूहअन्तर्गत रहेको कृषि फर्महरूबाट पुष्टि भइसकेको उनले दाबी गरे । कृषि उत्पादन वृद्धिका लागि किसानलाई मद्दत पुग्ने नीति सरकारले लिनुपर्ने उनले बताए । ‘सरकारले चिनी उद्योगीको संरक्षण गर्न ४० भन्सार लगाएको छ, उखु किसानलाई संरक्षण छैन, सीमापारीबाट उखु आइरहेको छ, मैदा उद्योगीलाई संरक्षण छ, गहुँ किसानलाई संरक्षण छैन,’ उनले भने, ‘सरकारले प्रत्यक्ष किसानलाई सहयोग पुग्ने नीति लिनुपर्छ, प्रशोधन गर्ने उद्योगीलाई मात्र संरक्षण गरेर पुग्दैन ।’ अध्यक्ष गोल्यानले विदेशबाट आयात हुने सबै कृषि सामाग्रीमा मूल्य अभिवृद्धि कर लगाउनु ठिक भएको तर नेपाल भित्र बेचविखन हुँदा मुल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गर्ने पर्ने पनि बताए । करार खेतीमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक कानुन संशोधन हुनुपर्ने, करार खेती गर्ने संस्थाले स्थानीय सरकार (गाउँ पालिका/नगरपालिका) संग करार गरि उत्पादन गर्न लगाएको उपज वापत कृषकले करार खेती गर्ने संस्था वा कम्पनीबाट प्राप्त गर्नु पर्ने रकम कृषकलाई दिने कुराको सुनिश्चितता स्थानीय सरकार (सम्बन्धित नगरपालिका, गाउँपालिका) ले गर्नुपर्ने गरी नीतिगत व्यवस्था भएमा किसानहरू लाभान्विन्त हुने उनले बताए । देशका ४५ प्रतिशत जमिनमा वन रहेको तर वन क्षेत्रबाट कसरी आर्थिक लाभ हासिल गर्ने भन्ने विषयमा सरकारको ध्यान नपुगेको उनले बताए । ‘काठ आयात गर्दा ५ प्रतिशत भन्सार लाग्छ, निर्यात गर्दा २०० प्रतिशत निर्यात कर लाग्छ, यो कस्तो नीति हो ?,’ उनले प्रश्न गरे । नेपालबाट ७०० अर्ब रुपैयाँभन्दा बढीको काठ निर्यातको सम्भावना रहेको तर सरकारको कर नीतिका कारण त्यो सम्भव नभएको उनको तर्क छ । ‘कृषि र वन क्षेत्रबाट हामीले धेरै लाभ लिन सक्छौं, त्यही देखेर हामी ६० वर्ष आसपासका बुढाहरू पनि कृषि व्यवसायमा लागेका हौं, हामी पढेलेखेका युवाहरूलाई बाटो देखाउँछौं, विदेश गएका नेपाली युवाहरूलाई पनि नेपाल फर्कन र कृषि तथा वनपैदावरमा आधारित व्यवसायमा लाग्न प्रेरित गर्दैछौं, जनता एग्रो एण्ड फरेष्टीमा जोडिन चाहानेलाई हामी स्वागत गर्दछौं,’ केशवबहादुर रायमाझीले विटमार्दै भने ।
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
फुङ्लिङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिन्छन् । पुख्रयौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आएका छन् । उनका बुबाले कागज बनाउने काम गर्थे । कागज उद्योगमा हुर्किएका उनले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिके । शेर्पाको पुख्र्यौली घर भोजपुर जिल्ला हो । उनले २०४९ सालमा तेह्रथुम जिल्लाको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गरे । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आएका छन् । अहिले उनको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् । कागज उद्योगबाट खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गरेका छ् । अहिले उनी घर बनाउने तयारीमा छन् । शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक चार लाख रुपैयाँ बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताए । शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको पाँच वर्ष भइसकेको छ । ‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन’, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।’ उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उनले जानकारी दिए । उनका अनुसार २० ग्राम कागजको प्रतिपन्ना २० र ४० रुपैयाँ ग्राम कागजको प्रतिपन्ना ४० रुपैयाँमा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुनेगर्छ । ‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ’, शेर्पाले भने, ‘गर्मी मौसममा बढीमा तीन घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न पाँच घण्टा लाग्छ ।’ घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता छन् । त्यसमध्ये केही उद्योग मात्र सञ्चालनमा छन् । रासस
लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसंघ परिसंघको छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा बुधबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देशबीचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५० औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताए । छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरीयाली लगानी कर्ताहरूलाई नेपालमा भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन, जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङलाई आग्रह गरे। सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताए । दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गरे । उनले शीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरीयाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङसँग आग्रह गरे । राजदूत पार्क टेइ योङले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल-स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारी प्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्याउने बताए । राजदूत तइयोङले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको बताए । उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्त गरे । नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको बताए । छलफलमा परिसंघका पुर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाँया शर्मा तथा महानिर्देशक डा. घनश्याम ओझा लगायतको सहभागिता रहेको थियो ।