देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण : मन्त्री भण्डारी
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए । रोजगारी प्रवर्द्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे । मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रूपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे । कार्यक्रममा प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री टीका थापाले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि पलायन भइरहेका युवाका लागि यस्ता किसिमका श्रमाधान मेलाको अपरिहार्य भूमिका हुने बताइन् । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइन् । नगरप्रमुख गोपाल हमालले बेरोजगार युवालाई रोजगार बनाउने यस्ता मेला प्रत्येक वर्ष आयोजना गरिनुपर्ने धारणा व्यक्त गरे । सुदूरपश्चिम प्रदेशको गरिबी हटाउन राज्यले लगानी बढाउनुपर्ने उनको भनाइ थियो । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले रोजगारदाताले आवश्यकताअनुसार श्रमिक नपाउने अवस्थालाई यस्ता मेलाले सम्बोधन गर्ने बताए । नेपालमा नै गरिखाने वातावरण सिर्जना गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र यहाँको रोजगारीको अवस्था बुझ्न मेलाले थप सहयोग गर्ने अध्यक्ष पाठकको भनाइ थियो । कैलालीको धनगढीमा आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने मेलामा हालसम्म ३७ निजी क्षेत्रका परामर्श कक्ष रहेका छन् । मेलामा रोजगारी सिर्जनाका लागि दुई हजार ६ सय ६४ जनाको माग रहेको छ भने हालसम्म करिब पाँच हजार व्यक्तिको निवेदन परेको आयोजकले बताएको छ । मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सहआयोजकका रुपमा चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् । मेलामा वभिन्न कार्यशाला सञ्चालन हुनेछन् । सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीका विषयक कार्यशाला सञ्चालन हुनेछन् ।
बैंकका ठूला ऋणीलाई राज्यले वेवास्ता गर्यो : निर्माण व्यवसायी
काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारको पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएको बताएका छन् । शनिबार निर्माण व्यवसायी महासंघ अन्तरर्गतको एशोसिएट सदस्य समन्वय समितिको १२ औं साधरण सभामा बोल्दै निर्माण व्यवसायीहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले विगत लामो समयदेखि शिथिल बनेको निर्माण उद्योगलाई चलायमान बनाउने गरी बजेट आउन सकेको बताए । निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी गर्नुपर्ने अबौं रकम समेत अहिलेसम्म नपाएको भन्दै व्यवसायीहरुले नयाँ आयोजनाहरुमा टेण्डर गर्ने अवस्था नभएको बताए । व्यवसायीहरुले सरकारले निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याएकाले व्यवसायीमा थप निरासा थपिएको बताए । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिलेको परिवेशमा सरकारले चाहेर पनि गर्न नसक्ने कुराहरु धेरै भएपनि निर्माण व्यवसायीहरुको लागि गर्नसक्ने काम पनि नगरेको गुनासो गरे । उनले अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीका समस्यालाई प्राथमिकतामा नराखेको उल्लेख गरे । शिथिल अवस्थामा पुगेर ठूलो समस्यामा रहेका निर्माण व्यवसायीहरुसँग छलफल समेत नगरी बजेट ल्याएको जानकारी दिए । उनले अघिल्लो र वर्तमान अर्थ मन्त्रालयको नेतृत्वले निर्माण व्यवसायीलाई विभेद गरेको आरोप लगाए । पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरिनु राम्रो नभएको बताए । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरिनुले राज्यलाई बेफाइदा रहेको जानकारी दिए । उनले ५८५ अर्बको विना स्रोतका आयोजनाहरु सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्ने व्यवसायीको माग सम्बोधन नगरेको बताए । त्यस्ता आयोजनामा सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त नहुने अवस्था रहेको उल्लेख गरे । रणनीतिक सडक र पुलहरुमा सरकारले प्राप्त बजेट नराखेको जानकारी दिए । बजेटमा सरकारले विगतको भन्दा भौतिक पूर्वाधार र सहरी मन्त्रालयमा १९ प्रतिशत बढी बजेट राख्दा पनि उत्साहित हुने अवस्था नभएको भन्दै त्यो बजेट खर्च गर्नको लागि नराखिएको दाबी गरे । ‘पुँजीगत खर्चको ६० प्रतिशत खर्च गर्ने संस्था, मुलुकमा वार्षिक ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगलाई उपेक्षा गरेर बजेट ल्याउनु भयो । निर्माण व्यवसायीहरुले वाणिज्य बैंकहरुबाट करिव ३४२ अर्ब रुपैयाँमा कर्जा चलाउने उद्योगलाई वेवास्ता गरेको छ । हामीले ५८५ अर्बको बिना स्रोतका आयोजनाहरु ल्याएको छ । ती आयोजनाहरुलाई सम्बोधन नगरी बजेट ल्याउनु हुँदैन भन्दै गर्दा ती कुराको सम्बोधन सरकारले गरेन । सरकारले व्यवस्था गरेको १५ अर्बको बजेट निर्माण व्यवसायीले गरीसकेको कामको पनि भुक्तानी दिन प्राप्त हुँदैन’, उनले भने । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले सरकारले निर्माण व्यवसायीले विगतमा पाउँदै गरेको करमा छुट सुविधा समेत कटौती गरिएको भन्दै असन्तुष्टि जनाए । उनले सरकारले समयमा निर्माण सम्पन्न हुँदा पनि भुक्तानी समयमा नदिएको कारण समयमा कर तिर्न नसकेको बताए । निर्माण व्यवसायीहरुलाई भ्याटमा ठूलो चक्रवादी ब्याज अरु केहीमा नभएको बताए । पूर्वअध्यक्ष शर्माले गत वर्षसम्म सरकारले ५० देखि शतप्रतिशतसम्म मिनाहा दिएको तर अहिले त्यो पनि खारेज गर्दा ५ लाख भ्याट बाँकी भएका निर्माण व्यवसायीहरुले २५ लाख तिर्नुपर्ने अवस्था आएको जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ ३५ औं वर्षमा प्रवेश
काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्नका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताए । लघु, घरेलु तथा साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्घता व्यक्त गर्दै उनले जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको बताए । महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले ३५ वर्षमा महासंघ सात वटै प्रदेश, सबै जिल्ला, ३४१ वटा पालिकाहरुमा क्रियाशील रहेको भन्दै ३५ हजार भन्दा बढी उद्योगहरु महासंघका सदस्य रहेको बताए । उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको उनले बताए । सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनरकर्जाका बारेमा बजेट मौन देखिएकोले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीति मार्फत यसको व्यवस्था हुनुपर्ने बताए । देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुहरुको बजार प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरको निर्यात गृह स्थापनाका लागि महासंघले दिएको सुझावलाई बजेटमा नसमेटिएकोले यसलाई सुधार गरिनुपर्ने उनले बताए। महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगीहरुको छाता संस्थाको आवश्यकतालाई मध्यनजर गर्दै महासंघको स्थापना भएको स्मरण गराउँदै यस्ता उद्योगहरुलाई अर्थतन्त्रको इञ्जिन भनेर भने पनि व्यवहारमा देख्न नसकिएको बताए । कार्यक्रममा महासंघका सल्लाहकार अञ्जना श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्षहरु शेभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रिय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका सचिवहरु महेन्द्र चित्रकार र रुद्र न्यौपाने, केन्द्रिय महिला उद्यमी समिति वागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रिय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो, सचिव दीपा शाक्य, महासंघ काठमाडौं जिल्ला अध्यक्ष सीता कार्कीलगायतको उपस्थिति रहेको थियो । स्थापना दिवसकै अवसर पारेर महासंघ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासंघका संगठनहरुले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।