हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन गर्दै
बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उनको भनाई छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
बैंकको ब्याज तिर्न सकिएन भन्दै सिमेन्ट उद्योगीले बढाए मूल्य, निर्माण व्यवसायी चिन्तित
काठमाडौं । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगहरूले सरदर प्रतिबोरा एक सय रुपैयाँले बढाएका हुन् । चिनियाँ लगानीका सिमेन्ट उद्योगहरूसँगको बढ्दो प्रतिस्पर्धाका कारण मूल्य घटाएका उद्योगीहरूले निर्माण कार्यको सिजन सुरु भएसँगै मूल्य बढाएको जनाइएको छ । यसअघि प्रतिबोरा करिब ५ सय रुपैयाँमा बिक्री हुँदै आएको सिमेन्ट अब प्रतिबोरा ६ सयभन्दा बढी पुगेको छ । योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ प्रतिबोरा पर्नेछ। यता सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य बढाएकोमा निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको बेला सिमेन्टको भाउ बढ्दा आफूहरू थप समस्यामा पर्ने एक निर्माण व्यवसायीले बताए। मूल्य नबढाए सिमेन्ट उद्योगहरू धरासायी हुने निष्कर्ष निकाल्दै नेपाल सिमेन्ट उत्पादक संघले नै पहल गरेर मूल्य बढाएको हो । संघले यसअघि नै सिमेन्टको भाउ बढाउने प्रयास गरे पनि अनुकूल समयको पखाईमा बसेको थियो । चिनियाँ लगानीका उद्योगहरू होङ्सी र हुवासिन सिमेन्टले सस्तो मूल्यमा सिमेन्ट दिएपछि नेपाली लगानीका उद्योगहरुलाई पनि मूल्य घटाउनुपर्ने बाध्यता थियो । अहिले होङ्सी र हुवासिन पनि मूल्य बढाउन तयार भएपछि संघका सदस्यहरूले सहमति गरेर मूल्य बढाएका हुन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आफूहरू घाटमा रहेको भन्दै सिमेन्टको मूल्य बढाएको बताएका छन् । उनले भने, ‘हामीहरू घाटामा गयौं । हाल सिमेन्ट उद्योग ठूलो मारमा पर्यो । बैंकहरूको ब्याज थपिँदै गयो । त्यो तिर्न नसक्ने भयौं । त्यसैले केही राहत हुन्छ कि भनेर मूल्य बढाएका हौं ।’ नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सिमेन्टको मूल्य बिना कारण बढाएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘जुन बेला कामको सिजन हुँदैन । त्यो बेला उद्योगीहरूले सिमेन्टको मूल्य घटाउनुको सट्टा बढाउँछन् । जुन बेला कामको सिजन हुन्छ, त्यो सिमेन्टको मूल्य बढाउँछन् । यो मार पर्ने भनेको हामी निर्माण व्यवसायीहरूलाई हो । सिमेन्टको मूल्य किन बढाएको रहेछ ? उद्योग कम्पनीलाई छिट्टै चिठ्ठी लेखेर पठाउँछौं ।’ मूल्य बढाएपछि संकटमा परेका नेपाली लगानीका सिमेन्ट उद्योगलाई राहत मिले पनि उपभोक्ता भने मर्कामा पर्ने भएका छन् ।
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि
काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानहरूले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।