शताब्दी पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ विभाजन, पद्मज्योतिले बनाए आफ्नै नामको ग्रुप

काठमाडौ । अन्ततः ज्योति ग्रुप दुई व्यावसायिक ग्रुपमा विभाजन भएको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूह औपचारिक रूपमा अलग भएको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा-अदालत हुँदै अन्ततः व्यावसायिक समूह नै विभाजन हुने अवस्था सिर्जना भएको हो । दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले अब आ-आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् । आइतबार दाजु पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरे । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए । पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ ।   पद्म ज्योति । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । समूहका अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनका अनुसार पद्मज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् । पद्म ज्योतिले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए । साैरभ ज्योति । समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ । देशको पुरानो व्यावसायिक समूह ज्योति ग्रुप देशकै एक अग्रणी र परिचित समूह हो । मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेका थिए ।  

आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन् । उनले केही समय अघि सबैले नेपाल श्रीलंकाजस्तो हुने कुरा भनेपनि आफूले त्यो बेला नेपाल श्रीलंकाजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भएपनि अर्थतन्त्रमा चलायमान भएको बताए । अध्यक्ष ढकालले भने, ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन ।’ उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको जनाए । अध्यक्ष ढकालले भने, ‘हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौं । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ ।’ उनले उद्योग क्षेत्रहरू धरासायी भई व्यवसायीहरूले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचिमा परेको उल्लेख गरे । अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

एसएएफटीएले दक्षिण एसीयाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए । शुक्रबार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताए । उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (एसएएफटीए) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको औंल्याए । विशेष गरी नेपाल जस्ता साना अर्थतन्त्रहरूको स्थानीय उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्न गाह्रो परेको र छिमेकी देशका स्थापित क्षेत्रहरूसँग प्रतिस्पर्धा गर्नुपरेको ढकालले बताए । ढकालले एसएएफटीएले दक्षिण एसीयाली क्षेत्रभित्र व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नेपालको जलविद्युत् जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावनालाई उजागर गर्दै साझा ऊर्जा ग्रिडले सबै देशलाई स्वच्छ ऊर्जा स्रोतमा पहुँच प्रदान गर्न र जीवाश्म ईन्धनमा निर्भरता कम गर्न सहयोग गर्नसक्ने बताए । अध्यक्ष ढकालले दक्षिण एशियाली क्षेत्रले जलवायु परिवर्तनको असर भोग्नुपरे पनि अनुकूलन र न्यूनीकरणका लागि स्रोत सीमित रहेको बताए । स्रोत परिचालनमा रहेको ठूलो अन्तरको चर्चा गर्दै अध्यक्ष ढकालले क्षेत्रीय सहकार्य र अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसले न्यायसंगत हरित परिवर्तनलाई प्राप्त गर्न सहयोग पुर्‍याउने बताए ।