आज लुम्बिनी र सुदूरपश्चिम रोयल्स, कर्णाली र विराटनगर किङ्ग्स भिड्दै
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । त्यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ । जारी एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ । जारी एनपिएलमा तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।
एनपीएलमा छिरे करोडौंको बेटिङ गर्ने भारतीय सट्टेबाज, यी चार जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतीय चार जनालाई पक्राउ गरेको हो । आईपीएल प्रतियोगितामा स्पोर्टस् बाजी र प्रोबो लगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुनेगरी क्रिकेट मैदान भित्रैबाट सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न चार जनालई प्रहरीले पक्राउ गरेको हो । पक्राउ हुनेमा भारत कोलकत्ताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन्त कुमार र ब्रजेश कुमार रहेको सीआईबीले जानकारी दिएको छ । उनीहरूमाथि सट्टाबाजी गर्नु नहुने कसुरमा थप अनुसन्धान कार्य भइरहेको सीआईबीले बताएको छ । बेटिङ सञ्चालन गर्ने कुनै व्यक्ति वा समूहको बारेको कुनै माध्यमबाट सूचना वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा यस नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोमा जानकारी गराउनसमेत सीआईबीले आग्रह गरेको छ ।
एनपिएल : चितवनले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौं गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ । चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् । त्यस्तै काठमाडौंको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् । आजको खेलका लागि सुरक्षा व्यवस्था भने कडा पारिएको छ । यसअघि जनकपुर बोल्ट्स र विराटनगर किंग्सविरूद्धको उद्घाटन खेलमा व्यवस्थापनको कमजोरीका कारण दर्शक र सुरक्षाकर्मीबीच झडप भएको थियो । कतिपय दर्शकले टिकट काटेर पनि मैदानभित्र पस्न नपाउँदा तनाव सुरु भएको थियो । जसका कारण आज सुरक्षा व्यवस्था कडा पारिएको हो । शनिबार भएको एनपिएल उद्घाटन खेलमा जनकपुर बोल्टस्ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।