नेको सहकारी ठगी प्रकरण : घरजग्गा खरिद-बिक्रीमा पनि करोडौं अनियमितता, राजेन्द्रपुत्र प्रकाश पनि मुछिए
काठमाडौं । नेपाल स्वास्थ्य सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डे पनि मुछिएका छन् । सहकारीका संस्थापक अध्यक्ष पाण्डेले सहकारीको रकम अनियमितता गरेको विषय विकासन्युजले सम्प्रेषण गरेको थियो । अहिले उनको छोरा पनि सो प्रकरणमा मुछिएको फेला परेको हो । प्रकाश नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष हुन् । सहकारीको रकम अनियमितता सम्बन्धमा छानबिन गर्न गठित समितिले पाण्डेसँगै उनका छोरा प्रकाश पनि सो प्रकरणमा संलग्न देखिएको उल्लेख गरेको हो । समितिको प्रतिवेदनमा भनिएको छ, ‘प्रकाशको स्वामित्वमा रहेको स्वयम्भुस्थित जग्गा खरिद गर्ने नाममा संस्थाबाट २ करोड ५८ लाख ७९ हजार ३४० रुपैयाँ बैना दिइएको भएतापनि पछि उक्त कारोबार नभएको निर्णय भएको देखिन्छ ।’ सहकारी संस्थाको सञ्चालक समितिको निर्णयअनुसार उक्त रकम घरजग्गा खरिदका लागि २०६९ सालमा प्रकाश पाण्डेको नाममा स्वयम्भुस्थित कित्ता नम्बर १७५, ९, १२७, १२८, १८३ र १८२ मा रहेको जग्गा तथा भवन किन्न बैना स्वरूप खर्च गरिएको थियो । सुरुमा प्रति आना २५ लाख रुपैयाँ भनेर बैना गरिएको जग्गा २०७८ कार्तिक १३ गते प्रतिआना २८ लाख रुपैयाँकोे दरले सोही सम्पत्ति खरिद गरिएको प्रतिवेदनमा भनिएको छ । तर, बैना दिइएको मितिदेखि खरिद सम्पन्न भएको मितिसम्मको ९ वर्ष २ महिना अवधिभर उक्त रकमको कुनै पनि ब्याज लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । जग्गाधनीले मूल्य बढाएर घरजग्गा पास गराएको अवस्थामा उसले उपभोग गरेको बैना रकमको ब्याज तिर्नुपर्ने प्रचलन रहेको भन्दै संस्थाले त्यो ब्याज तत्काल असुल गर्नुपर्ने वा सो निर्णयमा संलग्न तत्कालीन सञ्चालकहरूले रकम संस्थामा भुक्तानी गर्नुपर्ने सुझावसहित कारबाही प्रक्रिया अघि बढाउन समेत प्रतिवेदनमा भनिएको छ । उक्त बैना रकम फिर्ता लिएको वा फिर्ता लिन माग गरिएको कुनै प्रमाण नभेटिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा घरजग्गा खरिद–बिक्रीमा देखिएको अनियमितता तथा कानूनी प्रक्रिया अवलम्बन नगरी गरिएको निर्णयका कारण संस्थाको करोडौं रुपैयाँ क्षति भएको उल्लेख छ । नेपालको सहकारी ऐन, २०७४ को दफा ४६ को उप दफा ३ अनुसार, सञ्चालकहरू निजी स्वार्थकै लागि निर्णय प्रक्रियामा संलग्न भएको पाइएमा उनीहरूबाट सिधै असुल उपर गर्न सकिने कानूनी व्यवस्था रहेकोले दफा १२२ को (च) अनुसार दुरुपयोगसम्बन्धी कसुर समेतमा कारवाही गर्न सञ्चालक समितिलाई निर्देशन दिइएको छ । दफा १२४ को घ बमोजिम विधि र प्रक्रिया विपरीत कार्य गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सकिने व्यवस्थाप्रति पनि प्रतिवेदनले सचेत गराएको छ । जग्गा बिक्रीमै साढे एक करोड अनियमितता ललितपुरको नख्खुमा रहेको मनमोहन मेमोरियल इन्स्टिच्युटको घरजग्गा बिक्री गर्दा १ करोड ५४ लाख ६५ हजार ४५ रुपैयाँ कम मूल्यमा बिक्री गरिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘अनुसूची ७ मा संलग्न गरिएको पत्रको क्र.स. १ मा उल्लेख भएको नख्खु ललितपुरको घर जग्गा बिक्री गरेपश्चात् १२ आना ३ पैसा ३ दाम जग्गा कम भई बिक्रीअघि निश्चित भएको रकमबाट एक करोड ५४ लाख ६५ हजार ४५ रुपैयाँ घटाई लिनु पर्ने वैधानिक कारण भेटिएन ।’ उक्त जग्गाधनी पुर्जामा उल्लेख भएको क्षेत्रफलभन्दा जग्गाको वास्तविक क्षेत्रफल कम हुन गएको वैधानिक कारण नभेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । स्वतन्त्र भ्यालुएटरबाट भ्यालुएसन गरेको नदेखिएको र घर जग्गा खरिद गर्ने पक्षले जग्गाको क्षेत्रफल कम भएकोले बिक्रीअघि निश्चित भएको रकमबाट रकम घटाउन अनुरोध गरेको नदेखिएको अवस्थामा बिक्रेताले मूल्य घटाउनु मनासिव नभएको प्रतिवेदनमा भनिएको छ । पोखरेल समितिको प्रतिवेदनले उक्त घर जग्गा खरिदमा अनियमितता भएको ठहर गरेको हो । घरजग्गा खरिद गर्दा नै जग्गाधनी पुर्जामा उल्लेख भएको क्षेत्रफलभन्दा जग्गाको वास्तविक क्षेत्रफल कमी भएको भए पनि जग्गाको वास्तविक क्षेत्रफल यकिन नगरी घरजग्गा खरिद गर्नु संस्थाको सम्पत्ति हिनामिना गर्नु नै भएको प्रतिवेदनमा उल्लेख छ । तसर्थ उक्त घरजग्गा खरिद गर्दा तत्कालीन सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूबाट बक्यौता उठाउन समेत ताकेता गरेको छ । घरजग्गा बिक्री अघि तोकिएको रकमबाट घटाई लिएको रकम एक करोड ५४ लाख ६५ हजार ४५ रुपैयाँ र २०७१ चैत्र १४ गतेदेखि हालसम्म चलन चल्तीको ब्याज समेत हुनेगरी एकमुष्ठ रकम तत्काल संस्थाको खातामा जम्मा गर्न पनि ताकेता गरेको छ । नेपालको सहकारी ऐन २०७४ को दफा ४६ अनुसार सञ्चालकहरूको निजी स्वार्थ समावेश भएको निर्णय प्रक्रियामा संलग्न भएकोले ऐनको दफा ४६ (३) अनुसार असुल उपर गर्न समेत समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सहकारी ऐनको दफा १२२ (च) समेतको कसुर गरेको भनी उक्त ऐनको दफा १२४ (घ) अनुसारको कारबाहीको माग राखी सम्बन्धित निकायहरूमा लेखी पठाउन सञ्चालक समितिलाई अनुरोध गरिएको छ । समितिको प्रतिवेदनमा बिक्री गर्दा कम गरिएको उक्त रकम तथा सोही रकममा २०७१ सालदेखि लिनुपर्ने ब्याजसहित तत्काल संस्थाको खातामा जम्मा गर्न निर्देशन दिइएको छ । अन्यथा सहकारी ऐन, २०७४ को दफा ४६, १२२ र १२४ अनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्न समेत प्रतिवेदनमा निर्देशन दिइएको छ । स्रोतका अनुसार संस्थाले यस विषयमा सम्बन्धित निकायहरू सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई औपचारिक पत्राचार गरी कारबाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको छ । बैंकिङ तथा सहकारी चलन चल्तीअनुसार बैना रकम राखिएको अवस्थामा यदि खरिद स्थगन वा ढिला भएमा सो रकमको ब्याज गणना गरिनुपर्ने अभ्यास भएपनि यस प्रकरणमा त्यस्तो नगर्नु संस्थाको आर्थिक हित विपरीत कार्य भएकोले खरिद प्रक्रियामा संलग्नहरू कारवाहीको भागिदार भएको प्रतिवेदनमा उल्लेख छ । उक्त निर्णय प्रक्रियामा संलग्न तत्कालीन सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहकारी ऐन २०७४ को दफा ४६ को ३ अनुसार निजी स्वार्थ समावेश भएको निर्णयमा संलग्न भएको ठहर गर्दै असुल उपर तथा कारबाहीको मागसहित सम्बन्धित निकायमा पत्राचार गर्न भनिएको छ । कारवाही गर्न सिफारिस सहकारीको रकम अनियमितता सम्बन्धमा छानबिन गर्न गठित समितिले ठोस प्रतिवेदनसहित तत्कालीन सञ्चालक समिति र पदाधिकारीहरूमाथि कारबाहीको सिफारिस गरेको छ । सेयर सदस्य पुण्यप्रसाद पोखरेल संयोजक र अर्का सेयर सदस्य दिनेश घिमिरे सचिव रहको ७ सदस्यिय नेको सहकारी अनियमितता छानबिन समितिले उक्त सिफारिस गरेको हो । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा धादिङका सांसद समेत रहेका राजेन्द्र पाण्डे लामो समय सञ्चालक समितिको अध्यक्ष रहेको उक्त सहकारीमा व्यापक अनियमितता भएको छानबिन समितिको निश्कर्ष छ । सम्बन्धित सामग्री : नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा नेको सहकारी पीडितले भने- ‘म मर्दैछु तर सञ्चालकहरुलाई जिउँदो राख्दिनँ’
नेको सहकारी पीडितले भने- ‘म मर्दैछु तर सञ्चालकहरुलाई जिउँदो राख्दिनँ’
डा.रामकुमार अधिकारी नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा शिर्षकमा विकासन्युजमा समाचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सहकारी सेवा लिमिटेड (नेको) को गम्भिर ध्यानाकर्षण भयो । यस विषयमा राजनीतिकरणका प्रयास पनि भएका छन् । सर्वोच्च अदातलमा भइरहेको बहसलाई पनि प्रभावित गर्न खोजिएको हाम्रो बुझाइ छ । एक दिन सत्य बाहिर आउने नै छ । म केही वास्तविकता भन्छु । वि.सं २०६२ सालमा २८ जनाले प्रतिव्यक्ति १ लाखका दरले लगानी गरेर मेडिकल कलेज स्थापना गर्ने उद्देश्यका साथ नेपाल स्वास्थ्य सहकारी सेवा लिमिटेड (नेको) स्थापना गरिएको हो । सुरुमा ठमेलमा १०० बेड क्षमताको अस्पताल सञ्चालन गर्यौं । पछि बिएस्सी नर्सिङ र बीएम पढाउने कलेज किन्यौं । त्यो कम्पनी सरोज देवकोटा र अञ्जनी कुमार श्रेष्ठले सञ्चालन गर्दै आएका रहेछन् । वि.सं २०६७ सालमा नेकोले मेडिकल कलेज खोल्नको लागि मनसाय पत्र (एलओआई) पायो । लगत्तै हामीले कलेज अफ टेक्निकल साइन्स चलाउँदै आएको कम्पनी पनि किन्यौं । त्यतिबेला सहकारीले कम्पनी किन्न पाउने व्यवस्था रहेछ । पछि कानुन संशोधन हुँदै गए । सहकारीले निजी कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था भयो । पछि हामीले १ अर्ब १७ करोड रुपैयाँ ऋण लिएर नेकोका लागि स्वयम्भूमा १७ रोपनी जग्गा किन्यौं । दहचोकमा ६२ रोपनी जग्गा किन्यौं । १०० रोपनीका लागि अझै १० रोपनी जग्गा कम थियो । विश्वविद्यालय खोल्ने भनेर धादिङको छत्रे देउराली र जीवनपुरमा ३०० रोपनी जग्गा किन्यौं । ७५० बेडको अस्पताल बनाउने हाम्रो योजना हो । एलओआई पाएपछि स्वयम्भूमा अस्पताल बनाउने काम सुरु भयो । भवन १० तलाको बनाउनु पर्नेमा पुग्ने पैसा थिएन । सुुरुमा हामी ३०० बेडको तयारीमा गर्यौं । श्यामसुन्दर जेभीले भवन निर्माणको ठेक्का पायो । तर, उसले समयमा काम गर्न सकेन । अरुले १/२ वर्षमा सक्ने भवन बनाउन हामीलाई ६ वर्ष लाग्यो । त्यसभित्र धेरै समस्या भए । त्यही बेला दहचोकमा बेसिक साइन्सको भवन बनाउने काम भए । त्यतिबेला चिकित्साशास्त्र अध्ययन संस्थानमा डा. अरुण सायमी डिन हुनुहुन्थ्यो । उहाँले ‘छिटो गर है, मेरै पालामा मेडिकल कलेजको लाइसेन्स लिइहाल’ भन्नुभएको पनि हो । तर, हामीले तयारी पूरा गर्न ढिलो भयो । वि.सं २०७० सालमा चिकित्साशास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयले स्थलगत अध्ययन गर्यो । १०० जनालाई एमबीबीएस पढाउनको लागि पूर्वाधार पुग्छ, सबै कुरा ठिक छ भनेर लेखेर दिए । जब मनमोहन मेमोरियल हस्पिटलले मेडिकल कलेजको लाइसेन्स पाउन सबै तयारी पूरा भयो तब डा. गोविन्द केसी मेडिकल कलेजको नयाँ लाइसेन्स दिनुहुन्न भन्नेसहित विभिन्न माग राखेर अनसनमा बसे । त्यसपछि जब फ्याकल्टी बोर्ड बैठक बस्ने तयारी हुन्छ, तब गोविन्द केसी अनसनमा बस्न थाले । हामीले मेडिकल कलेजको लाइसेन्स पाएनौं । केसीको माग अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोग बन्यो । पछि केदारभक्त माथेमाको संयोजकत्वमा फेरी नयाँ आयोग बन्यो । त्यस आयोगले पूर्वाधार बनाइसकेको र एलओआई पाइसकेका अस्पतालहरुलाई कि लाइसेन्स दिनुपर्छ, कि राज्यले किन्नु पर्यो भन्ने सुझाव दियो । वि.सं २०७५ सालमा नयाँ ऐन आयो । जसले काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिमकल कलेजलाई लाइसेन्स नदिने र एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजको सम्बन्धन दिन नपाउने व्यवस्था गर्यो । उक्त कानुन बनेपछि हामी ढल्यौं । हामीले तत्कालीन स्वाथ्यमन्त्री गगन थापालाई हाम्रो सम्पत्ति सरकारले किनिदिनुपर्यो भन्यौं । तर, मन्त्रालयले किन्न सकिँदैन भनेर पत्र नै दियो । त्यसपछि हामी सम्पत्ति बेचेर उत्रने बाटोमा लाग्यौं। भवन बनाउने ठेकेदारलाई १२ करोड रुपैयाँ तिर्न बाँकी थियो । उसले बैना पनि गर्यो । तर, भूमि ऐनमा हदबन्दीभन्दा बढी जग्गा बेच्न नपाउने व्यवस्था रहेछ । हामीले एक रोपनी जग्गा बेच्च पनि नपाउने व्यवस्था रहेछ । लाइसेन्स पनि नपाउने, सरकारले सम्पत्ति पनि नकिन्ने, निजी क्षेत्रलाई बेच्न पनि नपाउने । कति ठूलो विपत आइलाग्यो अब । यस्तै, समस्याहरु भएर हो यो देशमा कसैले लगानी गर्दैनन् । १०० रोपनी जग्गा किनेर उद्योग लगाउँछ । उद्योग चलेन, घाटा भयो र जग्गा बेच्नु पर्यो भने सरकारले बेच्न दिँदैन । यस्तै नीतिले गर्दा लगानी गर्नेहरु टाँट पल्टिएर भाग्नुको विकल्प छैन नेपालमा । लाइसेन्स पनि नपाउने, सरकारले सम्पत्ति पनि नकिन्ने, निजी क्षेत्रलाई बेच्न पनि नपाउने । कति ठूलो विपत आइलाग्यो अब । यस्तै, समस्याहरु भएर हो यो देशमा कसैले लगानी गर्दैनन् । १०० रोपनी जग्गा किनेर उद्योग लगाउँछ । उद्योग चलेन, घाटा भयो र जग्गा बेच्नु पर्यो भने सरकारले बेच्न दिँदैन । यस्तै नीतिले गर्दा लगानी गर्नेहरु टाँट पल्टिएर भाग्नुको विकल्प छैन नेपालमा । छिमेकी भारत, चीन वा धेरै देशमा उद्योग लगाउन सरकारले जमिन निःशुल्क दिन्छ । ढल, पानी, बिजुली, बाटो सबै सरकारले प्रबन्ध गरिदिन्छ । उद्योग खोल्न निवेदन गरेको ३ घण्टामा सरकारले सबै अनुमतिहरु दिन्छ भारत सरकारले । हामीले मेडिकल कलेज खोल्न काम थालेको २० वर्ष भयो । तर, सफल भएनौ । बरु टाँट पल्टिएर भाग्नुपर्ने अवस्था सिर्जना भएको छ । म पनि प्रदेशसभामा निर्वाचित सांसद पनि भएँ । प्रदेश मन्त्री पनि भएँ । नेकोमा राजेन्द्रप्रसाद पाण्डे, डा. बंशीधर मिश्र जस्ता राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ । यस्ता व्यक्तिहरु संलग्न संस्थालाई काम गर्न यति गाह्रो छ भने नेपालमा सामान्य मान्छेले कसरी व्यवसाय गर्न सक्छ ? विषय परिस्थितिहरु निकै गम्भीर छन् । ‘मर्नुभन्दा बौलाउनु बेस्’ भन्दै हामी सर्वोच्च अदालत गयौं । वि.सं २०७५ सालमा हो हामीले सर्वोच्चमा मुद्दा हालेको । अहिलेसम्म फैसला भएको छैन । हालै मात्र दुर्गा प्रसाईंको बीएण्डसीले अनुमति पाएको छ, सर्वोच्च अदालतकै फैसाला र परमादेशअनुसार । पहिलाको कानुन अनुसार एलओआई पाएको हुनाले नयाँ कानुन बनाएर त्यसलाई रोक्न मिल्दैन भन्ने सर्वोच्चमा फैसलामा उल्लेख छ । १५ दिनभित्र सम्बन्धन दिन र विद्यार्थी भर्ना गर्न दिनु भनेर परमादेश नै जारी भएको छ । त्यसआधारमा मनमोहन मेमोरियल हस्पिटलले पनि मेडिकल कलेजको सम्बन्धन पाउनुपर्छ भन्ने हाम्रो माग छ । अदालतमा बहस यो पनि भएको छ बिएण्डसी त राजधानी बाहिर भएकोले सम्बन्धन पायो । मनमोहन त काठमाडौंभित्र हो । यसमा हामीले भनेका छौं- कानुनमा दुइटा विषय छन् । पहिलो, काठमाडौंमा १० वर्षसम्म लाइसेन्स नदिने । दोस्रो, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नमिल्ने । बिएण्डसीले छैटौं नम्बरमा सम्बन्धन पाउन मिल्ने, हामीले काठमाडौंमा लाइसेन्स नपाउने ? बिएण्डसीको हकमा कानुन उल्लंघन गर्न पाइने, मनमोहनको हकमा नपाइने ? कानुनको एउटा उल्लंघन र दुइटा उल्लंघन बराबर होइन ? हामी ८/९ जना यति पीडामा छौं कि अब हामी पत्रकार सम्मेलन गरेर भन्न मात्र बाँकी छ कि अदालतले ‘यति दिनभित्र फैसला गर्दैन भने हामी ८/९ जनाले आफूलाई सर्बोच्च अदालत भित्रै आगो लगाउने छौं ।’ हामी डुब्यौं, अहिले नेकोको कर्जा ३ अर्ब २५ करोड रुपैयाँ भएको छ । १ अर्ब १७ करोड कर्जाको ब्याज तीन महिनामा खापिँदै ३ अर्ब २५ करोड भयो । दिनको ८ लाख रुपैयाँ ब्याज खर्च हुन्छ । ८ महिना भयो हस्पिटलका कर्मचारीले तलब नपाएको । अस्पताल चलाउन यसका मुख्य व्यक्तिहरुले निजी घर सहकारीमा धितो राखेर, ऋण लिएर पैसा जुटाउँदै आएका छौं । हामी ८/९ जना यति पीडामा छौं कि अब हामी पत्रकार सम्मेलन गरेर भन्न मात्र बाँकी छ कि अदालतले ‘यति दिनभित्र फैसला गर्दैन भने हामी ८/९ जनाले आफूलाई सर्बोच्च अदालत भित्रै आगो लगाउने छौं ।’ अपराधीहरुको देशमा यो भन्दा अर्को विकल्प हामीसँग छैन अब । विकासन्युजमा नेकोका २८ जनाले ५ करोड १० लाख भन्दा बढी पेस्की लिएको समाचार आयो । त्यसमा मेरो नाममा पनि ४४ लाख ३० हजार रुपैयाँ पेस्की लेखिएको छ । कसरी त्यस्तो भयो, तपाईंलाई म भन्छु । हस्पिटल अगाडि, हाइटेन्सनमुनिको जग्गामा पार्किङ गरिरहेका थियो । जग्गाधनीले यहाँ पार्किङ दिन्न भन्यो । ८ वर्षअघि जग्गा सस्तो थियो । त्यो जग्गा किन्न १ करोड २५ लाख बैना दियौं । त्यो पैसा राजेन्द्र पाण्डे, जीवन प्रकाश शर्मा, रामकुमार अधिकारी, बंशीधर मिश्र लगायतको नाममा अलिअलि लेख्यौं । जीवनपुर र छत्रे देउरालीमा जग्गा किन्दा त्यसरी नै पेस्की लियौं । राजधानीमा १०० रोपनी जग्गा पुर्याउनु पर्ने, १० रोपनी कम भयो, हामीले दुई जना साथीहरुको नाममा ९ रोपनी १२ आना जमिन रहेछ, मूल्य करिब ३ करोड तय भयो, नेकोको नाममा जग्गा ल्यायौं । तर, सबै पैसा तिर्न सकिएन । फेरी १०० रोपनी हुन ४ आना पुगेन, दुबईमा रहेका बोध कुमारको ४ आना जग्गा लियौं । उसलाई पनि पैसा दिन सकिएको छैन । उसले नेकोको गत साधारणसभामा नै भन्यो– ‘म मर्दैछु तर सञ्चालकहरुलाई जिउँदो राख्दिनँ ।’ यस्ता समस्या कति छन् कति । हामीले सीटीईभीटी र विश्वविद्यालय दुवैका कार्यक्रम चलाइरहेका थियौं । पछि एउटै संस्थाले विश्वविद्यालय र सीटीईभीटीका कार्यक्रम चलाउन मिल्दैन, दुईमध्ये एक रोज्नुपर्छ भन्ने नियम आयो । हामीले दुवै कार्यक्रम बचाउने निर्णय गर्यो। नेकोको नाममा एउटा चलाउने, नेकोका विश्वासिला पात्रहरुको नाममा नयाँ कम्पनी खोलेर अर्को कार्यक्रम सञ्चालन गर्ने । ‘यो कम्पनी मेरो नाममा भए पनि सबै लगानी नेकोको हो, यसमा मेरो कुनै दाबी हुने छैन’ भनेर वकिल राखेर, लिखत गरेर, कुनै विवाद नहुने गरी नेकोका विश्वाशिला व्यक्तिहरुको नाममा कम्पनी खोलेर सञ्चालन गरेका छौं । यसरी हामीले दुवै कार्यक्रम सञ्चालन गर्दै आएका छौं । ती सबै विषय नेकोको वार्षिक प्रतिवेदनमा उल्लेख नै छ । नेपाल सरकारको उपसचिव सरहको जागिर छोडेर यस संस्थामा काम गर्न थालेको २० वर्ष भयो । ४ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निःशुल्क पूरा गरें । सबै बेदना सुनाउने हो भने जो कोहीको आँखाबाट आसुँ आउँछ । मैले मेरो सम्पूर्ण पेस्की फछ्र्यौंट गरी पाउँ भनेर ८ महिनाअघि निवेदन दिएको छु । दिनुपर्ने भए घर बेचेर दिन्छु, लिनुपर्ने भए लिन्छु भनेर माग गरेको छु । हिसाब किताब हेर्नेहरुले मलाई भनेका छन् कि–तपाईंले ७२ लाख रुपैयाँ पाउनु हुन्छ, सबै कटाएर । ७२ लाख रुपैयाँ पाउनु पर्नेले ४४ लाख रुपैयाँ खायो भनेर समाचार आउँदा बहुत चित्त दुःखेको छ । मेरो छोरो यूरोलोजिष्ट छ । अर्गान ट्रान्सप्लान्टेशन भक्तपुरमा काम गर्छ । किड्नी फेर्नी, लिभर फेर्नी नेपालमा टप ३/४ जना डाक्टर मध्येमा मेरो छोरो पनि पर्छ । उसले भनिरहेको छ कि कहीँ तिर्नुपर्ने बाँकी छ भने घर बेचेर तिरौं, केही समय डेरा गरेर बसौं । बदनाम नहौं भनेको छ । मेरो परिवारलाई पनि पीडा भएको छ । अपराधीहरुको देश विकासन्युजमा जे समाचार आयो त्यसको दूरगामी प्रभाव पर्ने देखियो । यसको प्रभाव अदालतमा पनि पर्ने देखियो । यो अपराधीहरु बसेको देशमा कसरी बस्ने ? म मेडिकल डाक्टर, पब्लिक हेल्थको एक्स्पर्ट हुँ । मसँग सहकारी कानुनका धेरै ज्ञान भएन । तर खराब नियत राखेर सहकारी खोलेका, चलाएका छैनौं । सञ्चालनका क्रममा गल्ती कमजोरी भएका पनि छन् । जतिबेला हामी दुइटा ठूला भवन बनाउन जुट्यौ, त्यतिबेला धेरै इट्टा चाहिने भयो । सेयर लगानी नै हुँदा सस्तो पर्छ भनेर शुभ उत्तम ईट्टा उद्योगमा १० लाख लगानी गर्यौं । तर, थोरै उत्पादन गर्ने र ढिला गर्ने भएकोले त्यसबाट खासै लाभ भएन । १३ रोपनी जग्गा भएको माथिल्लो थोपलमा जम्मा एक लाख हालेको हो । १ लाख हालेर मेडिकल कलेज खोल्नको लागि १३ रोपनी जग्गा देखाउन मिल्ने अवस्थामा हामीले त्यसरी लगानी गरेका हौं । महायज्ञ लगाइयो । पैसा जम्मा भयो । तत्काल अस्पताल बनाउने तयारी पुगेको थिएन । त्यतिबेला १ करोड २० लाख चम्पादेवीमा लगानी गरियो । यस्ता विभिन्न १० कम्पनीमा भएका लगानीबारे विकासन्युजमा समाचार आयो । कुनै पनि कम्पनीमा खराब नियतका साथ लगानी भएको छैन । कतिपय अवस्थामा नियम, विधिमा सबै नमिलेको पनि हुन सक्छ । तर कहीँ कतै एक रुपैयाँ पनि घोटला भएको छैन । यदि कहीँ कतै घोटला देखियो भने म भुण्डिएर मर्न तयार छु । (नेकपा एसका वरिष्ठ उपाध्यक्ष पाण्डे सहकारी ठगीमा मुछिए, पदाधिकारी मिलेर करोडौं रकम निजी कम्पनीमा शिर्षकमा विकासन्युजमा समाचार प्रकाशित भएपछि डा. अधिकारीले विकासन्युजसँग राखेको धारणा)
पहुँचले बनाउँछ उद्यमी, जन्मदै शक्तिशाली थिए बीरेन्द्र
बाई द बुक पढ्दै गर्दा त्यसभित्रको रोचक पक्षहरु साथीहरुलाई सुनाइरहेको हुन्थेँ, विभिन्न सन्दर्भ प्रसंगमा । त्यही क्रममा मित्र अजयकुमार कँडेलले भने, ‘बीरेन्द्र बहादुर बस्नेत यस्ता उद्यमी हुन् जसको फोटो सबै नेपालीले घरमा झुण्ड्याउन उपयुक्त हुन्छ ।’ बस्नेत बुद्ध एयरका अध्यक्ष हुन् । उनी कम्पनीको संस्थापक प्रबन्ध निर्देशक हुन् । सन् १९९७ अक्टोबर ५ मा बुद्ध एयरको पहिलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । २०८२ वैशाखमा प्रकाशित बाई द बुकमा बस्नेतले बुद्ध एयरको २७ वर्षको इतिहास लेखेका छन् । कम्पनीले भोगेका संघर्ष र कम्पनीले चुमेको सफलता उतारेका छन् । साथै, उनले बस्नेत परिवारको विरासत र बुद्ध एयरभित्रको पारिवारिक कलहलाई पनि समेटेका छन् । पुस्तकमा बस्नेतको व्यक्तिगत जीवनी पनि पढ्न पाइन्छ । नेपालको हवाइ सेवा क्षेत्रमा बुद्ध एयर एक सफल हवाइ सेवा प्रदायक कम्पनी हो । जोसँग १८ वटा जहाज छन् । करिब १५०० कर्मचारी छन् । कम्पनीले दैनिक ९ हजार यात्रुहरु उडाउँछ । बीरेन्द्र बस्नेतका अनुसार बुद्ध एयरले ४० भन्दा बढी हवाइ मार्गमा जहाज उडाउँछ । दैनिक ९ हजार यात्रुलाई सेवा दिन्छ । हवाइ सेवा दशैंको टिकाको दिन पनि खुला हुन्छ । नयाँ वर्षको पहिलो दिन पनि व्यस्त हुन्छ । दैनिक ९ हजारको दरले ३६५ दिन सेवा दिँदा वार्षिक ३२ लाख ८५ हजार यात्रुलाई बोक्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२२ मा ४९ लाख १३ हजार यात्रुले नेपालभित्र हवाइ यात्रा लिए । सन् २०२३ मा ४३ लाख २५ हजारले हवाइ यात्रा गरे । दुई वर्षमा औषतमा वार्षिक ४६ लाख यात्रुले हवाइ सेवा लिँदा रहेछन् । यस हिसाबमा आन्तरिक हवाइ सेवा बजारको करिब ७१ प्रतिशत हिस्सा बुद्ध एयरले लिएको छ । पुस्तकमा बुद्ध एयरको वित्तीय अवस्थाबारे जानकारी छैन । तर, कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारलाई एक खर्ब ७१ करोड रुपैयाँ नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको उल्लेख छ । त्यस आधारमा कम्पनीले उक्त आर्थिक वर्षमा भ्याटबाहेक ७ खर्ब ७४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेवा बिक्री गरेको भन्ने हुन्छ । जुन विवरण सही हुन सक्दैन । इक्रा नेपालको अनुसार सन् २०२४ मा बुद्धको कुल व्यापार १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार छ । पारिवारिक विरासत ‘म जमिन्दारको सन्तानको रुपमा जन्मिएँ । हाम्रो परिवार शिक्षित थियो । राजनीतिक रुपमा सचेत थियो’ बीरेन्द्रले पृष्ठभूमिमा नै लेखेका छन्, ‘विराटनगरमा सयौं विगाहा जमिन, राजधानीमा घर–घडेरी, गाडी, घोडा समेत भएकाले उनको परिवारलाई चिन्नेहरूले सम्भ्रान्त पनि भन्दथे ।’ १९११-१२ मा भएको नेपाल–तिबत युद्धमा मारिएका सिंहबीर आफ्नो कुप्राबा भएको, उनको निधनपछि श्री ३ जंगबहादुरले भोजपुरको दिङ्ला राम्रो खेत विर्ता दिएको, त्यसपछि नै उनको परिवार सम्भ्रान्त बनेको, हजुरबा नरबम बस्नेतले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको बुढीफुपू शिवकुमारीसँग विवाह गरेको, विवाहसँगै माइतीले शिवकुमारीलाई धनुकुटाबाट बिदा गर्दा प्रशस्त दाइजो, सुनचाँदी, गहना दिएको, शिवकुमारीले माइतीको पेवा लगानी गरेर परिवारलाई व्यापारमा लगाएको, सोही बेलादेखि बस्नेत परिवार व्यवसायमा लागेको उनले किताबमा उल्लेख गरेका छन् । सुरुमा भोजपुरको खुकुरी धरान, धनुकटा ल्याएर बेच्ने, धराने टोपी भोजपुर लगेर बेच्ने काम थालेको, व्यापारकै क्रममा शिवकुमारीको आठै भाई छोरा मुग्लान पसेको, सोही क्रममा, जनकपुरमा पुगेर माधव शमशेर जबराको फिर्ता सम्हालेको, विराटनगरमा पनि घर जग्गा जोडेको, कान्छो छोरो सुरेन्द्र बहादुर र सातौं छोरो योगेन्द्र बहादुर बस्नेतलाई पढाएको, नेपालबाट एसएलसी गरेपछि सुरेन्द्रले बनारसबाट एमए र एलएलबीसम्म पास गरेको, भूपाल समशेरकी छोरी तर्फकी एक्ली नातिनी आशारानीसँग सुरेन्द्र बहादुरले विवाह गरेको बर्णन बाई द बुकमा छ । ‘यसरी मेरो मावली मुढोल राजबंशसँग जोडिन पुग्यो’ बीरेन्द्रले खुलाएका छन् । जन्मदै शक्तिशाली पुर्ख्यौली थलो भोजपुर भए पनि बीरेन्द्रको जन्म सन् १९६४ मा भारतको बनारसमा भएको थियो । उनको मामाघर पनि भारतको महाराष्ट्र, मुढोलमा हो । उनको आमाले विवाहअघि भारतबाट मनोविज्ञान विषयमा एमए पास गरेकी थिइन् । बुबाले पनि भारतबाट एमए र एलएलबी पार गरेका थिए । बीरेन्द्रको जन्म आर्थिक रुपमा सम्भ्रान्त, शैक्षिक रुपमा उच्चस्तरको र पहुँचको हिसाबले शक्तिशाली परिवारमा भएको देखिन्छ । बीरेन्द्र तीन वर्षको हुँदा उनको परिवार नेपाल फर्कियो । राजा महेन्द्रको सरकारले बीरेन्द्रका बा सुरेन्द्रबहादुर बस्नेतलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि उनको परिवार राजधानी आएको हो । ‘बुबा राजा महेन्द्रको सक्रिय कार्यकर्ता जस्तो हुनुहुन्थ्यो । उहाँ नेपाल फर्कने बित्तिकै हुकुम प्रमाङ्गीबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुभयो । उहाँले जीवनमा धेरै समय सरकारी सेवामा बिताउनुभयो । न्यायाधीशपछि नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष, प्रमुख निर्वाचन आयुक्तदेखि उहाँ २ पटक मन्त्री पनि हुनुभयो’ बीरेन्द्रले लेखेका छन् । बुबा राजकीय पदमा, घर ललितपुरको जावलाखेलमा, शिक्षा गोदावरीस्थित सेन्ट जेभियर्स स्कूलमा । बीरेन्द्रका बाल्यकाल नै सुनौला अवसरबाट अगाडि बढे । त्यसमाथि बीरेन्द्रले सर्वाधिक गर्व गर्ने लायक जीवन त कक्षा ३ पछि सुरु भयो । जहाँबाट उनले शिक्षा मात्र सिकेनन्, अनुशासन, मिहिनेत धैर्यता सिके । जीवन उपयोगी नेटवर्क बनाए । जहाँ आत्मविश्वासी र उर्जाशिल व्यक्तित्वको आधार निर्माण गरे । छोरा बीरेन्द्र वीर विक्रम शाहलाई बेलायतको इटर्न कलेज पढाउँदा निकै प्रभावित भएको तत्कालीन राजा महेन्द्रले त्यस्तै सुविधा सम्पन्न स्कूल नेपालमा खोल्न बेलायती महारानीलाई प्रस्ताव गरे । राजाको इच्छा अनुसार स्कूल खोल्न बेलायत सरकारले ३० लाख पाउण्ड अनुदान दियो । बुढानिलकण्डमा ६०० रोपनी क्षेत्रफलमा अत्याधुनिक स्कूल सञ्चालनमा आयो । सुरुमा नाम नस्किए पनि पूर्वशिक्षा मन्त्री सुरेन्द्र बहादुर बस्नेत र उनको सानी आमाका छोरा बहालवाला शिक्षा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जोडबलमा बीरेन्द्र बहादुर बस्नेतले बुढानिलकण्ठ स्कूलमा पढ्ने अवसर पाए, दोस्रो व्याचको विद्यार्थीका रुपमा । बुढानिलकण्ठबाट शिक्षा, अनुशासन र कर्मको सिकाइ उच्च स्तरको भएको र आफ्नो सफलताको जग नै सोही स्कूल भएको भन्दै बस्नेतले पुस्तकको धेरै भागमा यसको चर्चा गरेका छन् । बीचमा बिग्रिए बीरेन्द्र एसएलसीमा ९४.८६ प्रतिशत अंकसहित पास भएका बीरेन्द्रको अमृत साइन्स क्यापसको प्रवेश परीक्षामा एसएलसीका बोर्डफस्ट भएका विद्यार्थीको भन्दा अगाडि नाम निस्किएको थियो तर उनी अन्तिम परीक्षामा फेल भए । कडा अनुशासनबाट फुक्काफाल हुनु, बरालिएका साथीहरुको संगतमा पर्नु र कलेजमा धेरै राजनीति हुनुले आफ्नो पढाइ बिग्रिएको उनको विश्लेषण छ । आईएस्सी फेल भएपछि जीन्दगी बर्वाद हुने चिन्ता उनीमा पलायो । तर, बुबाले ढाडस दिए । उनी बनारस गएर आइकम पढे, पास भए । आइकमको परीक्षा दिएर नेपाल फर्के लगत्तै बुबाको निर्देशनमा बीरेन्द्र बस्नेत मोरङको डाँगीहाटमा कृषि फार्म समाल्न पुगे । बुबाले खोलेको कृषि फार्ममा त्यतिबेला पनि ८०/९० जना कामदार रहेको बीरेन्द्रले उल्लेख गरेका छन् । फार्ममा माछा पालनदेखि फलफूल खेतीका काम हुन्थ्यो । उनीहरू सूर्योदयदेखि सूर्याअस्तसम्म दैनिक १२ घण्टा काम गर्दथे । आफूले फार्म सम्हालेपछि दोहोरो हिसाब राख्ने, कामदारको ज्याला दैनिक महिलालाई ६ रुपैयाँ र पुरुषलाई ८ रुपैयाँ रहेकोमा दैनिक २ रुपैयाँ थप गर्ने, खेतीमा आधुनिक औजारहरूको प्रयोग ल्याउने जस्ता सुधारका काम गरेको उनले बताएका छन् । त्यतिबेला फार्मको वार्षिक आम्दानी २०/२५ लाख रुपैयाँ हुने गरेको र त्यो त्यतिबेलाको ठूलो कारोबार भएको उनी बताउँछन् । फार्ममा काम गर्दै गर्दा उनले विराटनगरस्थित मोरङ आदर्श बहुमुखी क्याम्पसबाट बिकम पास गरे । २५ वर्षको उमेरमा बस्नेतले ललितपुरकी सुनिता सिजापतिसँग विवाह गरे । त्यतिबेलाको अन्तरजातीय विवाह पनि मागी विवाह थियो भन्ने बीरेन्द्रको दावी छ । उनले सुनितासँगको प्रेमकथा बाई द बुकमा लेखेका छैनन् । यति मात्र लेखेका छन्–‘हामी दुई जना छौं तर हाम्रो सोच, विचार सधैं एउटै भयो ।’ बिकम पास गरेपछि बीरेन्द्रले हावर्ड विश्वविद्यालयदेखि अन्य प्रख्यात विश्व विद्यायलहरुमा पढ्न आवेदन गरे तर नाम निस्केन । अन्ततः ३२ वर्षको उमेरमा दुई छोरी हुर्काउँदै उनी त्रिभुवन विश्वविद्यालयमा एमए अर्थशास्त्र पढ्न थाले । बीरेन्द्र बस्नेतले सेनामा जागिर खाने प्रयास गरे, सफल भएनन् । अमेरिकामा पढ्न जाने प्रयास गरे, सफल भएनन् । निजी कम्पनीमा जागिर खाए, रमाउन सकेनन् । कृषि फार्म चलाएर, त्यसमा पनि अडिन सकेनन् । अनिश्चित भविष्यबाट डराउँदै अब उनी सुनिश्चित भविष्यको खोजीमा लागे । बहुदलीय प्रजातन्त्र स्थापनापछिको सरकारले खुला अर्थनीति अपनायो । व्यवसायमा निजी क्षेत्रको लगानी वृद्धि हुँदै थियो । त्यही बेलामा हवाइ सेवा क्षेत्रमा पनि खुला आकास नीति आयो । हवाइ सेवा सञ्चालन गर्ने कम्पनीले ५ वर्षसम्म कर छुट पाउने भए । त्यसपछि त हो बीरेन्द्रले बुद्ध एयरमा हात हालेको । स्थापनादेखि नै बुद्धको व्यवस्थापनको मुल नेतृत्व बीरेन्द्रले गर्दै आएका छन् । यद्यपी यो सुरेन्द्र बस्नेतको पारिवारिक कम्पनी हो । सुरेन्द्रका दुई छोरा बीरेन्द्र र शिवेन्द्रबीच बुद्धको स्वामित्वको विषयमा भएका विवाद समाचार मात्र बनेन्, अदालतमा मुद्दा पनि पुग्यो । विवादले बाई द बुकमा पनि स्थान पाएको छ । बुकमा बीरेन्द्रको एकतर्फी विचार छन् र शिवेन्द्र गलत भन्ने वर्णन पढ्न पाइन्छ । बिउ शिवेन्द्रको, गोडमेल बीरेन्द्रको बुद्ध एयर र बीरेन्द्र बस्नेत परिपूरक नाम बनेको छ नेपालको हवाई क्षेत्रमा, सञ्चार क्षेत्रमा, व्यावसायिक क्षेत्रमा । तर, बाई द बुक पढ्दा प्रष्ट देखिन्छ कि बुद्ध एयरको बिउ शिबेन्द्रले यूक्रेनबाट ल्याएका रहेछन् । मानव सिर्जित नतिजाहरु सोच र कर्मको फल हो । सोच बिउ हो । गोडमेल गर्नु, मलजल गर्नु कर्म हो । बीउ र कर्मको नतिजा हो- फल । बुद्ध एयरमा बिउ शिबेन्द्र र कर्म बीरेन्द्रको देखिन्छ । बीरेन्द्रले विराटनगरका कृषि फार्म चलाउँदै गर्दा शिवेन्द्र पाइलट बनिसकेका थिए । यूक्रेनबाट पाइलटिङ सिकेर नेपाल फर्केका शिवेन्द्र एशियन हेलिकप्टर्समा काम गरिरहेका थिए । जब सरकारले खुला आकाश हवाइ नीति लियो तव शिवेन्द्रले हवाइ कम्पनी खोल्ने सोच बनाए र यस विषयमा साथीहरुसँग छलफल चलाए । परिणाम बस्नेत परिवारको ८ लाख, श्रवण गोयलको ८ लाख र बीरेन्द्र बैद्यले ८ लाख गरी २४ लाख पुँजीमा कम्पनी दर्ता भयो । दुई साथीलाई लिएर शिवेन्द्र हेलिकप्टर लिन रुस गए । एक महिनापछि फर्किए । रुस घुमेर २४ लाख रुपैयाँ सके तर हेलिकप्टर ल्याएनन् । हेलिकप्टर नकिन्दै कम्पनीको पुँजी सकिएपछि साझेदारहरुले कम्पनी बन्द गर्न चाहेको तर बस्नेत परिवारले गोयल र बैद्यलाई ८/८ लाख रुपैयाँ फिर्ता गरेर सबै स्वामित्व बस्नेत परिवारले लिएको बाई द बुकमा लेखिएको छ । जब कम्पनीको १०० प्रतिशत सेयर बस्नेत परिवारको स्वामित्वमा आयो तब बीरेन्द्र बस्नेत अगाडि बढे । भिनाजु फिजोनाथ नेपालीसहित जानकारहरुसँगको परामर्शपछि बीरेन्द्रले हेलिकप्टर नभई जहाज नै किन्ने निर्णयमा गए । ५० लाख अमेरिकी डलर अर्थात ३२ करोड रुपैयाँमा बिचक्रफ्ट १९०० डी जहाज किन्ने तयारीमा जुटे । मूल्यको १० प्रतिशत अर्थात ५ लाख डलर मात्र तिरेपछि निर्माता रेथियन एयरक्राफ्टले जहाज किस्तामा दिने रहेछ । ‘खल्तीमा पाँच हजार थिएन, पाँच करोड जुटाउने हुटहुटी बोकेर कुदेँ’ बीरेन्द्रले लेखेका छन् । पैसा जुटाउन उनले धेरै सम्बन्धहरु प्रयोग गरेका छन् । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग भेटेर दुइटा जहाज किन्न ६ करोड ५० लाख रुपयाँ सञ्चय कोष र औद्योगिक विकास निगमबाट दिलाउन माग गरे । नाताले सूर्य बहादुर र बीरेन्द्रबहादुर दाजुभाई थिए । सूर्यबहादुर थापाको हजूरबा टेकबहादुर थापा र बीरेन्द्र बहादुर बस्नेतको हजूरआमा शिवकुमारी दाजुबहिनी हुन् । हरेक वर्ष दशैंमा सूर्यबहादुर थापा बीरेन्द्रको घरमा बुबा सुरेन्द्रबहादुर बस्नेतसँग टिका लगाउन जाने गरेका थिए । त्यो लेवलको पारिवारिक सम्बन्ध भएकोले सूर्यबहादुरले बीरेन्द्रको प्रस्तावमा सहयोग गरेको देखिन्छ । प्रधानमन्त्री थापाले अर्थमन्त्री रविन्द्रनाथ शर्मालाई, शर्माले सञ्चय कोषका प्रशासक सञ्चारभक्त श्रेष्ठलाई भनेर कोष र बैंक अफ सिलोनबाट बुद्ध एयरलाई कर्जा दिलाएको पुस्तक पढेर बुझ्न सकिन्छ । त्यसअघि पनि बीरेन्द्रले कोषका प्रशासक सञ्चारभक्त श्रेष्ठ, नेपाल औद्योगिक विकास निगमका प्रमुख विकेमान सिंहलाई कर्जा प्रस्ताव गरेको, व्यावसायिक योजना पेस गरेको, धेरै पटक भेटेको तर उनीहरुबाट काम नभएपछि प्रधानमन्त्री थापाको पावर लगाएर कर्जा लिएको बीरेन्द्रले बाई द बुकमा खुलस्त लेखेका छन् । खल्तीमा थिएन ५ हजार पनि जतिबेला जहाज किन्न कर्जाको खोजीमा बीरेन्द्र भौतारिँदै थिए, त्यतिबेला आफ्नो खल्तीमा ५ हजार रुपैयाँ पनि नभएको उनले बताएका छन् । जाउलाखेलको घर बन्धकी दिएर सुलभ पन्तसँग ७० लाख रुपैयाँ ऋण लिएको, त्यही पैसाबाट पुराना साझेदारको पुँजी फिर्ता दिएको, कर्जा लिँदा बुझाउनुपर्ने कमिशन बुझाएको, सञ्चालन पूर्वको खर्चहरु गरेको, कम्पनी सञ्चालनमा आएपछि मात्र शुल्क तिर्ने गरी परामर्श सेवा पनि उधारो लिएको बीरेन्द्रले बताएका छन् । त्यतिबेला सेकेण्ड ह्याण्डको मारुती ८०० कार चढ्ने गरेको पनि उल्लेख गरेका छन् । हाल बीरेन्द्रले बुद्ध एयरबाट करिब १०० करोड नाफा आर्जन गर्छन । खुलापन बाई द बुकमा बीरेन्द्रका खुलापन पढ्न पाइन्छ । हजुरबा नरबम बस्नेत २० वर्षको उमेरमा ज्यान मार्ने अपराधमा जलन परेको र ६ वर्ष जेल बसेपछि छुटेको विषय पनि उल्लेख गरेका छन् । भाइ शिबेन्द्र बस्नेतसँगको विवाद पनि लेखेका छन् । कम्पनीको अडिटर र कर प्रशासनबीच विवाद भएको विषयमा समेत बुद्ध एयर कर प्रशासनले भनेअनुसार कर तिरेको घटनाहरु पनि चर्चा गरेका छन् । सानीमाका छोरा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, फूपुका कान्छो ज्वाँई नरेन्द्र कटुवाल, जो सूर्य बहादुरका स्वकीय सचिव भएर धेरै वर्ष काम गरे, उनीहरूसँग लिएको लाभको चर्चा गरेका छन् । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि पूर्व मन्त्रीहरू चक्रप्रसाद बाँस्तोला, महेन्द्रबहादुर पाण्डे, अर्जुन नरसिंह केसी, गोकर्ण विष्टसँग कसरी सम्बन्ध जोड्ने काम भयो र कसरी व्यावसायिक लाभ लिन प्रयत्न गरियो भनेर उनले पुस्तकमा वर्णन गरेका छन् । कोशीमा आएको बाढीले पुल बगाएपछि पूर्वी नेपाल र बाँकी नेपालको यातायात टुट्दा बुद्ध एयरले करिब ९ महिनामा ३३ करोड रुपैयाँ कमाएको र नयाँ जहाजहरू थप्न सफल भएको विषयलाई उनले खुलेर सविस्तार गरेका छन् । भर्खरै खुलेको बैंक अफ सिलोन बुद्धलाई कर्जा दिन सहमत भए पनि बैंकमा निक्षेप नै नभएको र त्यस अवस्थामा नेपाली सेनाको कल्याणकारी कोषबाट उक्त बैंकमा निक्षेप राख्न सम्बन्धहरु प्रयोग गरेको पनि खुलाएका छन् । जुन आजको बैकिङ अभ्यासमा पूर्णत दण्डनीय कर्म हो । ‘मेरो अनुभवले भन्छ, ‘नीतिगत निर्णय गर्ने तहका मानिससँग तपाँईको सम्पर्क, सम्बन्ध वा पहुँच छैन भने नेपालमा उद्यम शुरु गर्न असम्भव जस्तै छ, ’बीरेन्द्रले प्रष्ट लेखेका छन् । सम्बन्धहरुलाई सोसल क्यापिटल, नेटवर्क इज नेटवर्थको रुपमा परिभाषित गर्दै सम्बन्धहरू कसरी जोड्ने, कसरी प्रभावकारी कुरा गर्ने र आफ्नो पक्षमा निर्णय पार्ने भन्नेबारेमा उनले अनुभवहरू साट्दै ‘र्यापो बिल्डिङ’ (बहुपक्षीय छलफलमा आफ्नो पक्षमा निर्णय गराउने क्षमता) मा आफू पोख्त भएको पनि लेखेका छन् । सम्बन्धमा जोड दिने क्रममा उनले भनेका छन्–‘प्रधानमन्त्री सूर्यबहादुर थापासँग पारिवारिक नाता थिएन भने हामीलाई ऋण लिन कठिन हुन्थ्यो र जहाज किन्ने हाम्रो प्रयास असफल हुनसक्थ्यो ।’ व्यवसाय गर्दा परेका कयौं गाँठो फुकाउन सम्बन्ध प्रयोग गरेको उनले खुलस्त लेखेका छन् । व्यवसायमा गाँठो फुकाउन सम्बन्धको सदुपयोगलाई उनले जायज कर्मको रुपमा व्याख्या गरेका छन् । तर, उनले नेपालमा बढ्दो क्रोनी क्यापिटलिजले डरलाग्दो रुप लिएको र यसले स्वच्छ व्यवसाय गर्नेहरू पलायन हुन बाध्य पारिरहेको पनि उल्लेख गरेका छन् । नेता र कर्मचारीले व्यवसायी वा आफन्तको नाममा सेयर लगानी गरी खोलेका कम्पनीहरुले नीतिगत रुपमा सरकारबाट ठूलो लाभ पाउन थालेको र त्यस्ता कम्पनीहरूसँग अरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाबारे पनि उनले व्याख्या गरेका छन् । असंगती बाई द बुकमा नमिलेको विषयहरु पनि छन् । आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब ७१ करोड भ्याट मात्र तिरेको उल्लेख छ । जसअनुसार कम्पनीको बिक्री ७ खर्ब ७४ अर्बभन्दा बढी हुनुपर्छ । बाई द बुकको १२१ पृष्ठमा आईएफसीसँग लिएको कर्जा म्याद सकिनुभन्दा तीन वर्ष अगाडि नै चुक्ता गरेको उल्लेख छ । तर, १४२ पेजमा अहिले पनि (२०८२ साल बैशाखसम्म) कुल कर्जाको ८० प्रतिशत डलरमा नै रहेको लेखिएको छ । नेपाली बैंकले कर्जा दिने रुपैयाँमा नै हो । आईएफसीबाहेक विदेशी संस्थाबाट कर्जा लिएको उल्लेख छैन । यस अवस्थामा ९० प्रतिशत कर्जा डलरमा कसरी हुन गयो ? बुकमा प्रष्ट छैन । हालै बुद्ध एयरले ३ अर्ब ९ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको छ । ‘साझे कि बाझे’मा विश्वास समूहमा शक्ति हुन्छ, एकता नै बल हो, एक थुकी सुकी–सय थुकी नदी जस्ता संगठित कर्मको महत्वबारे बीरेन्द्र बस्नेत जानकार छन् । तर बुद्ध एयरको सफलताका आधारहरु मध्ये एकल स्वामित्वलाई उनले प्रमुखता दिएका छन् र बुद्ध एयरलाई भविष्यमा पब्लिक कम्पनी बनाउने वा साझेदारी थप्ने मार्गमा नलैजाने विषयमा जोड दिएका छन् । बीरेन्द्र ‘साझे कि बाझे’ मा विश्वास गर्दछन् । जहाँ साझेदारी हुन्छ, त्यहाँ विवाद हुन्छ भन्ने विषयले बीरेन्द्रको मस्तिष्कमा गढेको छ । बुद्ध एयर र बुद्ध इन्टरनेशनलमा भएको साझेदारीको पीडाबारे उनले थोरै मात्र पुस्तकमा लेखेका छन् । बुबा सुरेन्द्र बस्नेतको निधनपछि भाई शिवेन्द्रले बुद्ध एयरमा सिर्जना गरेको कलह, ३५ प्रतिशत सेयर लिएर बुद्ध एयर विभाजित गर्न खेलेको भूमिका र त्यसले आफूलाई मानसिक रुपमा पारेको पीडाबारे एउटा च्याप्टर नै लेखेका छन् । हवाइ सुरक्षा मापदण्डको परिपालनासहित गुणस्तरीय सेवा, प्रभावकारी सञ्चार तथा ब्राण्डिङ, कानुनको परिपालना, सामूहिक कार्यशैली, पारदर्शी सञ्चालन विधि, सुक्ष्म अध्ययनपछि मात्र निर्णय लिने संस्कार बुद्धको सफलताको आधारहरु देखिन्छन् । उनले कम्पनीको पुस्तान्तरणमा जोड दिएका छन् । छोरी आस्था र भतिजी देवयानीले कम्पनी अगाडि बढाउन सक्छन् भन्नेमा उनी विश्वस्त देखिन्छन् । सच्चिनु पर्ने दुई विषय व्यवसायी वा व्यवसाय उन्मुख जो कोहीले आफूमा पाइन लाउन बाई द बुक पढ्दा राम्रो हुन्छ । किताब पढिसक्दा बीरेन्द्रप्रति सम्मानभाव वृद्धि हुन्छ । अझ राम्रो गर्न बीरेन्द्र दुई ठाउँमा सच्चिनुपर्छ । शिवेन्द्र परस्त्री मोहको विषय बाई द बुकमा पढ्न पाइन्छ । उनको अराजक जीवनशैली र मदिरा मोहबारे राजधानीको महँगा होटलमा थुप्रै किस्साहरू सुन्न पाइन्छ । शिवेन्द्रका यस्ता चरित्रका बीच पारिवारिक द्वन्द्व व्यवस्थापनमा बीरेन्द्रले उदारताका साथ मिहिनेत गर्न जरुरी छ । दोस्रो, २७ वर्षको बुद्ध एयरलाई २७० वर्ष भन्दा बढी आकाशमा कसरी उडाउने भनेर बिरेन्द्रले दूरदृष्टि लिनुपर्छ । त्यसको लागि पारिवारिक कम्पनीबाट पब्लिक कम्पनी बनाउनु नै विश्वमा सफल र स्थापित मोडेल हो । पारिवारिक द्वन्द्व व्यवस्थापन गर्न र छोरी-भतिजीप्रतिको विश्वासबाट व्यवहारिकतामा रुपान्तरण हुन बीरेन्द्र बस्नेतले ढिला गरे भने नेपाली आकाशमा बुद्ध एयरको साम्राज्य खलबलिने जोखिम उच्च हुनेछ ।