राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने हो : हरिवंश आचार्य

काठमाडौं । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन् । त्यस्तो त आचार्यले चलचित्र ‘बलिदान’ मै आफूलाई भिन्न रुपमा प्रस्तुत गरेर वाहवाही पाएका थिए । तर, प्रदर्शनरत चलचित्र ‘भूठान’ मा उनी हाँसो हराएको मान्छेका रुपमा प्रस्तुत भएका छन् । कलाकारितामा ‘ह्युमर कमेडी’ को प्रयोग गर्ने अभिनेता आचार्यले यस चलचित्रमा दुई दृश्यमा मात्र हाँसेको हेर्न पाइन्छ । यसकारण पनि पछिल्लो केही चलचित्रदेखि उनलाई हास्य कलाकार नभई अभिनेता भन्न थालिएको छ । सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई गम्भीरतापूर्वक लिएर पात्रलाई जीवन्त बनाएका बहुआयामिक आचार्य विविधता मन परान । “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने म भिन्न देखिएको छु,” अभिनेता आचार्य भन्छन् । प्रस्तुत छ, अभिनेता आचार्यसँग कला यात्रा, चलचित्र निर्देशन र राजनीति प्रवेशको सम्भावना, नेपाली चलचित्रको विदेशी बजारलगायत समसामयिक विषयमा राससका नवीन पौडेल र भेषराज कार्कीले लिएको अन्तर्वार्ताको सम्पादित अंशः चलचित्र ‘भूठानमा’ हाँसो हराएको मान्छेको भूमिका गर्न कसरी तयार हुनुभयो ? मकहाँ धेरै चलचित्रहरुको पटकथा आउने गरेको छ । अहिले धेरैमा छोराछोरी विदेश र अभिभावक नेपाल रहेको कथा पाउने गरेको छु । तर, म आफूलाई नयाँ रुपमा प्रस्तुत गरौँ भन्ने सोचका साथ ती कथाहरु पढ्ने र सुन्ने गर्छु । तर, ‘सिचुएसनल कमेडी’ नभई संवादमा आधारित वा हाउभाउले गर्ने ‘कमेडी’ भएका कथा आइरहेका थिए । त्यही समयमा मैले ‘भूठान’ को पटकथा पाएँ । त्यो एकैपटकमा बुझ्न सहज थिएन, तर बुझ्दै गएपछि त्यसमा रहेको विविधताले मलाई आकर्षण ग¥यो । ‘बलिदान’ चलचित्रमा अभिनय गर्दा मैले सक्दिन कि भन्ने डर थियो, तर चलचित्र हेरेपछि धेरैले राम्रो गरेको प्रतिक्रिया दिनुभयो । ‘महाजात्रा’ मा पनि मैले केही फरक गर्ने कोसिस गरेको थिएँ । तर, निर्देशक प्रदीप भट्टराईले त्यसमा ‘ह्युमर’ हाल्नुभयो । तर ‘भूठान’ को पात्र नितान्त फरक छ । एकै पटक पढ्दा बुझिँदैन, अनि मैले दुई/तीनपटक पढिसकेपछि मेरो पात्र केही फरक र आफूले सोचेजस्तो पाएँ, त्यसछि कुरा अगाडि बढेको हो । तपाइँले चलचित्र ‘भूठान’ मा निर्वाह गर्नुभएको पात्र कसरी तयार भयो ? म पटकथा पढेपछि रुने दृश्यमा पनि ‘ग्लिसिरिन’ को प्रयोग गर्दिनँ । किनकि कथा र पात्र जोडिएपछि त्यसको भावना हामीमार्फत देखिनुपर्छ । चलचित्र ‘भूठान’ को कथाले मलाई केही आभाष गराइसकेको थियो । चलचित्र छायाङ्कन अगाडि भएको कार्यशालाले मलाई सहयोग गर्यो । तर, पनि आफैँलाई मैले निर्वाह गरेको विष्णुबहादुर केसी बन्न नसकिरहेको लागिरहेको थियो । एक दिन निर्देशक विनोद पौडेलले ‘दाइ, तपाइँ नेपाल जान पाउनु भएन भने के गर्नु हुन्छ ?’ भन्नुभयो । म एक्कासि निराश भएँ । किनकि विभिन्न कार्यक्रमका दौरान विदेश धेरै घुमिसकेको छु । म कार्यक्रम सकिनेबित्तिकै नेपाल फर्किन रुचाउने मान्छे । म निराश भएपछि अब यही भाव चलचित्रभर हुनुपर्छ भनेर निर्देशक पौडेलले भन्नुभयो । यसरी नै पात्र तयार भयो । छायाङ्कन अगाडि तपाइँको पात्रसँग मिल्दोजुल्दो व्यक्तिहरू भेट्नुभयो ? त्यहाँ (अमेरिका) मा रहनुभएका नेपाली मूलका भूटानीसँग भेटघाट गरेर उहाँको कुरा सुनेको छु । हाम्रो संस्कार र संस्कृतिमा केही फरक छैन, तर उहाँहरू आफ्नो देश फर्कन पाउनुभएको छैन । त्यो दुःखद हो । युवा काममा व्यस्त भए पनि वृद्ध उमेरका अभिभावकहरू भने खुसी कम हुनुहुन्छ कि जस्तो लाग्यो । म त्यसरी बस्नु परेको भए सायद जीवित रहन सक्दिन थिएँ । मैले त्यो कल्पना पनि गर्न नसक्ने तीतो सत्य हो । चलचित्र ‘भूठान’ मा तपाइँ पूर्ण रुपमा निर्देशकमा समर्पित हुनुभयो ? आफैँले यस क्षेत्रमा ५० वर्ष बिताइसक्दा पनि त्यो समर्पण गर्न सकिन्छ ? म कथामा ‘कन्भिन्स’ भएपछि निर्देशकलाई समर्पित गर्छु, किनकि चलचित्रको कप्तान नै निर्देशक हुन्छन् । म कार्यशाला गर्दा होस् वा दृश्य छायाङ्कन गर्दा आफ्नो काम दोहो¥याउनु पर्दा पनि झर्को नमानी गर्छु । किनकि हामी सबैको प्रयत्न राम्रो काम गर्ने नै हुन्छ । मैले चलचित्रमा चुम्बन गरेको छु, जहाँ शरीर नभई भावनाले एकअर्कालाई स्पर्श गरेको हो । श्रीमान्–श्रीमतीबीच यो स्वाभाविक हो । फेरि हामीले अन्तरराष्ट्रिय बजारलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका हौँ । मैले गरेका केही नयाँ दृश्य कलात्मक छन्, भद्दा लाग्ने छैनन् । अब आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि छ ? म चलचित्र निर्देशक बन्दिन होला । टेलिशृङ्खलामा छोटो समय र समूह हुने भएकाले गरेको हुँ । तर, चलचित्रको सुरुआतदेखि चलचित्र प्रदर्शन भएर चलचित्र भवनमा रहँदासम्म निर्देशकको दायित्व हुन्छ । मेरो उमेरका कारण पनि मैले त्यसरी समय दिन सक्दिनँ । अहिले मलाई विविधता भएको भूमिकाले आकर्षित गर्ने गरेको छ । म आफूलाई अभिनेताकै रुपमा व्यस्त पार्न चाहन्छु । मह सञ्चारमार्फत चलचित्र बनाउने योजना के छ ? चलचित्र निर्माणमा पनि अहिले योजना बनिसकेको छैन । तर, हाम्रा मित्र किरण केसीले विषयवस्तुसहित अन्य विविध विषयमा प्रयत्न गरिरहनुभएको छ । हामीले नगर्ने भन्ने होइन, तर तत्काल नै योजना बनिसकेको छैन । मैले हालै अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि अभिनय गरेको छु, त्यसलाई छोरा मोहित (मोहितवंश आचार्य) र सरोज ओलीजीले निर्माण गर्नुभएको छ । त्यसको पनि जिम्मेवारी मैले उहाँहरु दुवैलाई नै दिएको छु । किनकि पुस्तान्तरण पनि हुन जुरुरी छ । गत वर्ष नेपाली चलचित्रको बजार बढेको देखियो । ‘पूर्णबहादुरको सारङ्गी’ को व्यापार इतिहास नै बन्यो, तपाइँले समग्र चलचित्र क्षेत्रलाई कस्तो रुपमा बुझ्नुभएको छ ? हाम्रो चलचित्र हेर्न आउने दर्शक बढ्नु हामी सबैका लागि खुसीको खबर हो । ती दर्शकलाई पुनः चलचित्र भवनसम्म फर्काइरहनु हाम्रो दायित्व हो । तर, चलचित्र निर्माणमा सङ्ख्यात्मक वृद्धिले मात्र हामीलाई दीर्घकालीन रूपमा फाइदा पुग्दैन । हाम्रो घरेलु बजारले धान्न सक्ने र चलचित्र बुझेका निर्माता वा निर्माण समूह बढ्नुपर्छ । कुनै एक चलचित्रको व्यापार हेरेर चलचित्र निर्माणमा हौसिँदा त्यसले सुखद परिणाम नदिन पनि सक्छ । त्यसकारण चलचित्र बुझेर मात्र निर्माणमा आउन म नवप्रवेशीलाई आग्रह गर्दछु । नेपाली चलचित्र अहिले विदेशमा पनि प्रदर्शन हुन्छन् ? तपाइँले बजार बढेको पाउनुभएको छ ? विदेशमा नेपाली बढेपछि हाम्रो चलचित्र बढी हेरिएको हो । त्यहाँ पुग्नुभएका नेपालीले नै हेर्नुभएको छ । त्यहाँका स्थानीयले नहेरेसम्म बजार कसरी बढ्यो भन्न सकिन्छ ? किनकि यहाँ रहेका नेपाली नै अहिले अस्ट्रेलिया, अमेरिकालगायतका देशमा पुगेका छन् । पहिला यहाँ हेर्थे, अहिले विदेशमा हेर्छन् । स्थानीयले नहेरेसम्म विदेशी बजार बढ्यो भन्न सकिन्न । पछिल्लो समय नेपाली दर्शक बढेका मात्र हुन् । तपाइँले प्रहसन धेरै गर्नुभयो, नाटक गर्ने रहर भएन वा संयोग जुरेन ? मलाई प्रहसन र नाटक उस्तै लाग्छ । हामीले प्रयोग गर्ने मञ्च नै हो । प्रहसनमा हास्यव्यङ्ग्य हुन्छ भने नाटकमा विविधता हुन्छ । हामीले गत वर्ष ‘मह जात्रा’ नामक प्रहसन प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेका थियौँ । त्यही कुनै नाटक घरमा गरेको भए, नाटक हुन सक्थ्यो । त्यसकारण यी दुईमा धेरै भिन्नता लाग्दैन । हामीले प्रत्यक्ष दर्शकसमक्ष आफूलाई मञ्चमा प्रस्तुत गरिरहेका हुन्छौँ । आगामी दिनमा कस्ता चलचित्र गर्ने सोच बनाउनुभएको छ ? म विविधता रुचाउने भएकाले यही गर्छु भन्ने छैन । तर, आफूलाई आएको प्रस्तावमा ‘ह्युमर’ भएका चलचित्र गर्छु । ‘भूठान’ मा काम गरे भन्दैमा म त्यस्तै मात्र चलचित्रमा काम गर्न रुचाउछु भन्ने पक्कै होइन । आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्न चाहन्छु । मेरो आउँदो चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा मैले हरिबहादुरको भूमिका गरेको छु । यसले पनि मैले भनिरहेको विविधता झल्काउँछ होला । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले मह जोडीका रुपमा सहकार्यको ४५ वर्ष पूरा गर्नुभयो, यो सम्बन्ध टिकाइरहन महत्वपूर्ण कुरा के रह्यो ? म र मदन दाइ (मदनकृष्ण श्रेष्ठ) ले सहकार्य गरेको यही वैशाख १४ मा ४५ वर्ष पूरा भएको छ । हाम्रो जोडीले यो यात्रा पार गर्नुमा आपसी सम्बन्ध, पारिवारिक हार्दिकता र दर्शकको माया महत्वपूर्ण बन्यो । दर्शकले हामीलाई एकसाथ हेर्न इच्छा नराख्नु भएको भए हामीले यत्रो यात्रा पार गर्न गाह्रो हुन्थ्यो । अनि हामीलाई परिवारले सधैँ सहयोग गरेर अगाडि बढ्न मद्दत ग¥यो, हाम्रो सम्बन्धमा उनीहरू हाबी भएनन् । यसका साथै हामीले गरिरहेको कामले दुवैको नाम दियो, एउटा स्थान बनायो । हामीले एकअर्कासँग कहिल्यै आरिस (इगो) राखेनौँ, सधैँ दर्शकको भावनाअनुरुप प्रस्तुत भइरहयौँ । तपाइँ र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ, यद्यपि दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । तयारी छ केही ? दर्शकलाई जस्तै हामीलाई पनि सँगै काम गर्दा खुसी लाग्छ । त्यहाँ काम नगरेर पारिवारिक माहोलमा रमाएको महसुस हुन्छ । त्यसकारण कथा अनुकूल हुने बित्तिकै हामीसँगै देखिने नै छौँ । फेरि हामीलाई एकअर्काको सानो भूमिका छ भन्ने पनि लाग्दैन तर त्यो पात्रको अर्थ हुनुपर्छ । हामी मह जोडी छौँ भनेर मात्र दर्शकलाई खुसी बनाउन सकिँदैन । हामीले निर्वाह गर्ने भूमिका सशक्त, कथामा महत्वपूर्ण भएमा पैसा र समय खर्चेर चलचित्र भवन आइपुग्नुभएका दर्शक पनि खुसी बन्नुहुन्छ । हामीसँगै काम गर्छौं, केही समय मात्र लागेको हो । किनकि मैले मदन दाइसँग काम नगरे कोसँग गर्ने ? अहिलेको नयाँ पुस्ताले हास्यव्यङ्ग्यमा कस्तो गरिरहेका छन् ? बेलाबखतमा उच्छृङ्खल भए भन्ने पनि आउँछ नि ? मह जोडी बनेर हामीले काम सुरु गर्दा आफ्ना कुरा सिधै भन्न पाइने व्यवस्था थिएन । हामीले अभिव्यक्त गर्ने कुराहरूलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गर्थ्यौं । अहिले द्विअर्थी लाग्ने संवाद वा उच्छृङ्खल भएको भन्ने सुनिन्छ, केही भएका पनि छन् । तर, दर्शकले रुचाउनुभएको छ । ती फेरि नेपाली मात्र नभई विदेशी च्यानल वा डिजिटल माध्यममा उत्तिकै छन् । दर्शकले रुचाउनु भएकै कारण त्यस्ता कार्यक्रम बढेका छन् । यद्यपि यो क्षणिक लहर हो जस्तो लाग्छ । विस्तारै यो परिवर्तन हुँदै जान्छ । पछिल्लो समय टेलिभिजनमा शृङ्खला कम पाइन्छ, किन जस्तो लाग्छ ? हामी कहाँ शृङ्खला निर्माण लागत बढेको र त्यसबापत प्राप्त हुने लाभ कम भएकाले शृङ्खला निर्माणमा कमी आएको हुनसक्छ । विदेशमा रहेका उद्योगले प्रायोजन गरेर शृङ्खला निर्माणमा सघाउने गरेको सुन्छु । तर, यहाँ त्यो अवस्था निकै कम छ । यसलाई सरकारले भाषा र संस्कृतिको माध्यमका रुपमा बुझेर सघाउनुपर्छ । भारतीय टेलिभिजन नेपालमा हेरिनुले अहिले बिस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ । यसले भाषामा पनि प्रहार गरेको छ । उदाहरणका लागि विवाह नै लिन सकिन्छ । पहिले र अहिले वैवाहिक कार्यक्रममा तपाईँले सहजै अन्तर देख्न सक्नुहुन्छ । त्यसले आर्थिक भार थपेको छ, अभिभावक देखासिकी गर्न बाध्य छन् । त्यसकारण नेपाली कार्यक्रम, शृङ्खलालगायतलाई प्रोत्साहन गर्न सरकार नै अग्रसर हुनु जरुरी छ । ‘चिना हराएको मान्छे’ को लोकप्रियतापछि किताब लेखनबारे सोच्नु भएको छ कि ? मैले एउटा पाण्डुलिपि तयार गरेको छु । सम्भवतः तीनदेखि चार महिनामा त्यो किताबका रुपमा आउनेछ । राजनीतिमा आउने तपाइँको चाहना छ ? म बिस्तारै ‘रिटायर्ड’ हुँदैछु । त्यसकरण राजनीतिमा आउने सोच पनि मैले बनाउनु हुँदैन । हामीले अहिले राजनीतिमा युवा आउनुपर्छ भनिरहेका छौँ, युवालाई नै प्रोत्साहन गर्ने हो । उहाँहरूसँग नयाँ जोस, जाँगर र काम गर्ने शैली हुन्छ । हामीले युवालाई सघाउने र अगाडि बढाउने हो । रासस

जनता जिउँदै जल्दा किन जल्दैन सरकारको मन ?

काठमाडौं । ललितपुरकी सविना आचार्य छोराछोरीसहित पाथीभरा दर्शन गर्न झापा पुगिन् । झापा माइतीघर भएकी उनी पहिले बाआमासँग भेट्ने र त्यसपछि पाथीभरा जाने योजनाका साथ छोराछोरीसँगै भद्रपुर गइन् । छोरी आउँदा आमाबुवा पनि मक्ख । छोरी दर्शनकै लागि ललितपुरबाट झापा पुगेपछि उनका बुबाआमा पनि छोरी नातिनातिनासँग पाथिभरा दर्शनका लागि तयार भए । धार्मिक क्षेत्र पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँमा श्रद्धालु भक्तजन पुग्छन् । टाढा–टाढाबाट पुग्ने त्यो ठाउँमा मौका जुरेर अवसर पाएको बेला सविना छोराछोरीसहित बाआमालाई लिएर पाथीभरा दर्शनको लागि तयार भइन् । उनीसँगै १६ वर्षकी छोरी आध्या, ९ वर्षका छोरा अभिनयव, उनका ७० वर्षका बुवा विनोद पौडेल र ६९ वर्षकी आमा सरिता पौडेल दर्शनका लागि घरबाट हिँडे ।  बैशाख ८ गते बिहान उनीहरू फुङलिङ बजारबाट मन्दिरका लागि हिँडे । सपरिवार भएकाले उनको परिवार बजारबाट मे १ च ३०११ नम्बर बोलेरोमा गए । जसका चालक थिए फुङलिङका ४५ वर्षका दुर्गा भट्टराई । सबेरै मन्दिर पुग्ने योजनाका साथ उनीहरू बिहान ४ बजे बजारबाट हिँडे । तर, सेवारो चोकमा नपुग्दै बोलेरोमा करेन्ट लागेर आगलागी भयो । गाडी चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भयो । घाइते सविना र छोराको उपचार जारी छ । मनोकामना पुरा होस् भनेर पाथीभरा दर्शनका लागि हिँडेकी सविनाले बाआमा मात्र होइन, १६ वर्षकी छोरीलाई समेत गुमाइन् । विद्युतको लतारिएको तारले यस्तो सम्मको दुर्घटना गराउनु निकै दुःखपूर्ण घटना हो । घटनापश्चात नेपाल विद्युत प्राधिकरणको कामप्रति सर्वत्र आलोचना भइरहेको छ । यो विषयमा सरकारको खासै ध्यान छैन । विद्युत प्राधिकरणले भने यो विषयमा छानबिन भइरहेको जानकारी गराएको छ ।  विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले यो विषयमा छानबिन गर्न प्रधिकरणको छानबिन समिति घटना स्थलतर्फ गइसकेको बताए । उनले छानबिन समितिले तयार पार्ने प्रतिवेदनअनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिने योजना प्राधिकरणको रहेको सुनाए ।  करेन्ट लागेर जलेको बोलेरो गाडी ।  ‘अहिले पीडित परिवार पनि काजक्रियामा हुनुहुन्छ, १३ दिनको काम सकेर उहाँहरूले निवदेन दिनुहुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि त्यो माग र छानबिन समितिको प्रतिवेदन अनुसार हाम्रो विनियमावलीमा रहेको व्यवस्था अनुसार क्षतिपूर्ति दिन्छौं ।’ ठाकुरले त्यो दिन रातभरि हावाहुरी चल्दा विद्युत् लत्रिएर झरेको र बिहानै गाडी त्यही तारमा अल्झिँदा यस्तो अवस्था सिर्जना भएको बताए ।  ‘हामीले समयमै थाहा पाएको भए अवस्था यस्तो आउने थिएन । राति हावाहुरी चलेछ, पोलमा रहेको तार लत्रेर भुइँमा झरेछ र पछि त्यही माथि गाडी पुग्दा यो अवस्था आयो,’ उनले भने ।  नेपाल विद्युत प्राधिकरणका प्रवक्ता  राजभाइ शिल्पकारले प्रदेशको छानबिन समितिले गरेको निर्णयपछि कति राहत दिने र के-कसरी अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट हुने धारणा राखे । अहिले छानबिनको काम भइरहेकाले पीडितले आवश्यक क्षतिपूर्ति पाउने उनले दाबी गरे ।  तर, यति ठूलो घटनामा सरकारले भने घटना कसरी भयो ? अवस्था कस्तो थियो भन्ने समेत सामान्य जानकारी राख्न उचित ठानेन । सोही ठाउँका सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमा यो विषयलाई उठान गरे पनि सरकारको प्राथमिकतामा भने यो घटना परेन ।  सरकारको नजरमा नपरेका यस्ता घटना उल्लेख्य छन् । गत माघ २७ गते काठमाडौंको कमलपोखरी भएको ग्यास सिलिण्डर  विष्फोट घटनामा पनि सरकार अनुदार बन्यो । चार जनाको मृत्यु, ७ जना घाइते हुने गरी भएको उक्त घटनामा पीडितको उद्दार गर्न पनि समयमै एम्बुलेन्स पुगेन । सिलिण्डर ग्यास पड्किएको कमलपोखरीमा रहेको शानदार मःम पसल । एम्बुलेन्स नपाउँदा मालवस्तु बोक्ने गाडीमा राखेर घाइतेलाई अस्पताल पुर्‍याइएको थियो । शानदार मःम पसलमा काम गर्दै आएका उदयपुर गाउँपालिका ७ का २२ वर्षका प्रदीप तामाङ, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका २५ वर्षका छिरिङ लामा, मकवानपुरको मनहरि गाउँपालिका ५ डिल्लीपुरका १८ वर्षका रवीन राई र उदयपुरको कटारी नगरपालिका ८, गालटारका २५ वर्षका  भीम बहादुर घले मगरेको उपचारकै क्रममा मृत्यु भयो ।  बाँकी घाइते भएकाहरू अस्पतालमा उपचारपछि घर फर्केका छन् । अहिले पनि उनीहरूले अस्पताल धाइरहनुपर्ने बाध्यता छ । कीर्तिपुर अस्पतालका अनुसार  घाइते भएकाहरू अहिले पनि फलोअफका लागि महिना दिनमा अस्पताल आउने गरेका छन् । रामेछापका शेरबहादुर श्रेष्ठले कमल पोखरीमा सञ्चालन गरेको मःम पसलमा ग्यास सिलिण्डर पड्किएको थियो । नेपाल आयाल निगमका प्रवक्ता मनोज ठाकुर भने प्रयोगकर्ताले नै यस्तो विषयमा चासो दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘ग्यास कहाँ दुर्घटना भएको छ, त्यो हुर्नुपर्‍यो, कुनै गोदाममा सिलिण्डर पड्केको छैन, ढुवानीको क्रममा सिलिण्डर पड्केको छैन, पड्कन्छ कहाँ भन्दा व्यापारिक प्रयोजनको क्रममा वा घरायसी प्रयोजनको क्रममा यस्तोमा पड्कँदा कुनै छानबिन समिति बनाउनुपर्छ वा क्षतिपूर्ति दिनुपर्छ भन्ने मलाई लाग्दैन ।’  उनी प्रयोकर्ताले नै यो विषयमा ध्यान दिनुपर्ने बताउँछन् । 'कुनै उद्योग वा व्यापारीले बीमा गरेको छ भने त्यही अनुसारको सुविधा पाउँछन् नभए यस्तो विषयमा त्यस्तो कुनै व्यवस्था था छैन,’ प्रवक्ता ठाकुरले भने । यस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने काम प्रहरीको भएको उनको तर्क छ ।  गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । घटनामा दुई जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भए । ठूलो परिमाणमा सार्वजनिक र निजी सम्पत्तिमा क्षति भयो । यो घटनालाई पनि सरकारले खासै चासो दिएन ।  गृहमन्त्री रमेश लेखकले घटनास्थलमा गएर अवलोकन गर्नु बाहेकको काम गर्न सकेनन् । संसद भवनकै आँगनमा भएको यति ठूलो घटनाको अवलोकन गर्नुपर्ने आवश्यकता प्रधानमन्त्री केपी शर्मा ओलीले ठानेनन् ।                 राजावादीको प्रदर्शनमा आगजनी भएको तीनकुनेको घर ।  आफ्नो जनता आगो जलेर मर्दा सरकारले त्यसको दोष राजावादीलाई दियो । सुरक्षाकर्मीको नै गोली लागेर मृत्यु भएका कीर्तिपुरका सवीन महर्जन र आगोमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई राहत मिल्ने काम सरकारले गर्न सकेन । यति ठूलो घटनाको छानबिन गर्नुपर्छ भन्ने महसुस सरकारले गरेन ।  गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी रविन्द्र आचार्य सरकारले जुनसुकै ठाउँमा भएका यस्ता घटनामाथि अनुसन्धान गरिरहेको दाबी गर्छन् । कतिपय ठाउँमा प्रहरी, सम्बन्धित अन्य निकायले घटनाको अनुसन्धान गरिरहेकाले सरकारले कुनै काम नै गरेन, चासो नै दिएन भन्न नमिल्ने उनको धारणा छ ।  विपदमा भएका घटनाका विषयमा छानबिन गरी क्षतिपूर्ति दिने कामका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेकाले उसैले हेरिरहेको उनको तर्क छ ।     प्राधिकरणका प्रवक्ता रामबहादुर केसी भने यस्ता घटनामा प्राधिकरणको कुनै भूमिका नहुने धारणा राख्छन् । ‘ताप्लेजुङको घटना विद्युत प्राधिकरणसँग सम्बन्धित हो, सिलिण्डर पड्केको घटना पनि अर्कै निकायसँग सरोकार राख्छ, यी घटनामा हाम्रो भूमिका हुँदैन,’ उनले भने ।  उनले प्राधिकरणको काम प्राकृतिक विपदबाट भएका बाढी/पहिरो, आगलागी, चट्याङ लगायतका घटनाको विषयमा छानबिन र अध्ययन गर्ने रहेको सुनाए । नागरिक अभियन्ता तथा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सञ्जीव उप्रेती गणतन्त्र आएपछि जस्तो सरकार हुन्छ भन्ने अपेक्षा नागरिकको थियो, सो अपेक्षाअनुसार काम नभएको बताउँछन् ।  उनी गणतन्त्र र लोकतन्त्रपछि आम मान्छेलाई सर्वोपरि ठान्ने संस्कृतिको विकास होस् भन्ने चाहना भएपनि त्यस्तो हुन नसकेको बताउँछन् । ‘लोकतन्त्रको मूलमन्त्र आम मान्छे नै केन्द्रमा हुनुपर्ने हो । तर यहाँ त्यो भएन,’ उनी भन्छन्, ‘यहाँ आममान्छे केन्द्रमा छैनन्, नेता ठूल्ठूला व्यपारीलाई केन्द्रमा राखेर राज्य चल्यो,  यसो हुँदा नागरिकका मुद्दा सरोकारका विषय बनेनन् ।’  उनी ठूला मान्छेमाथि भएका घटना सरोकारका विषय बन्ने र सञ्चारमाध्यमले पनि सोहीअनुसारको प्राथमिकता दिनाले पनि आम नागरिकमाथि भएका घटनामा सरकारको चासो नभएको सुनाउँछन् ।  ‘आम मान्छेका कुरा जति आउनुपर्ने हो त्यति अझै बाहिर आएका छैनन्, सञ्चारमाध्यमले पनि घटना भएको बेला उठाउने त्यसपछि फलोअप नगर्दा सरकारले त्यस्ता घटना बिर्सदै गयो,’ उनी भन्छन्, ‘सरकारको चासोमा जनता पर्न सकेनन् ।’ बेलुन पड्किएर सामान्य घाइतेपछि हेलिकोप्टरबाट काठमाडौं आउँदै अर्थमन्त्री पौडेल ।  गत फागुनमा पोखरामा आयोजना गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन पड्किँदा भने तत्काल हेलिकोप्टर पुग्यो । किनकि त्यहाँ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । सामान्य जलन भएका उनीहरूलाई उद्दार गर्न तत्काल हेलिकप्टर पठाइयो भने घटना लगत्तै मन्त्रिपरिषदको बैठक बसेर कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बन्यो ।  उनीहरू सामान्य घाइते थिए । तर, सो घटनामा ठूलो छानबिन समिति बन्यो । पछि बेलुनमा हावा भर्ने एक जना भारतीय नागरिक पक्राउ परे । बेलुन पड्किएर सामान्य घाइते भएका मन्त्री र मेयर घाइते हुँदा छानबिन समिति बन्छ । तर, आधा दर्जन जनता एकै घटनामा परेर चिहान हुँदा समेत सरकारको प्राथमिकतामा पर्दैन । सरकारले त्यहाँ न कुनै छानबिन समितिको महसुस गर्छ न त थप त्यो विषयमा कुनै एक्सन लिन आवश्यक ठान्छ । जनता जिउँदै जल्दा पनि सरकारको मन भने कत्ति पनि जल्दैन ।   

दशौं राष्ट्रिय खेलकुद अन्योलमा, खेलाडीलाई निराश बनाउँदै मन्त्री चौधरी

काठमाडौं । नेपाली खेलकुद विकासको मेरुदण्ड मानिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मन्त्री र राजनीतिक स्वार्थका कारण अन्योलमा परेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यबीचको राजनीतिक चलखेलले दशौं राष्ट्रिय खेलकुद आयोजनामा अड्चन आएको हो । सन् २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद नियमित अन्तरालमा आयोजना हुने लक्ष्य भए पनि राजनीतिक हस्तक्षेप र स्वार्थका कारण हालसम्म मात्र नौ संस्करण सम्पन्न भएका छन् । दशौं संस्करण गत मंसिरमै कर्णाली प्रदेशमा हुनुपर्ने भए पनि मन्त्री चौधरीको असक्षमताका कारण हालसम्म पनि आयोजना हुन सकेको छैन । गत चैत २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले बिना पर्याप्त आधार दशौं राष्ट्रिय खेलकुद स्थगन गर्ने निर्णय गरेको थियो । बोर्डका बहुमत सदस्यले असहमति जनाए पनि मन्त्री चौधरीले कार्यक्रम रोक्ने निर्णय लिएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बजेट सुनिश्चित भइसकेको अवस्थामा आयोजनामा अनावश्यक अवरोध ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले केही सीमित व्यक्तिको स्वार्थले राष्ट्रिय खेलकुद अन्योलमा परेको र यसले खेलाडी पलायनलाई प्रोत्साहन गर्ने चेतावनी दिए । यसैबीच, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पटक-पटक समयमै प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएको भए पनि मन्त्री चौधरीले कुनै ठोस कारणबिना खेलकुद स्थगन गरेका छन् । मन्त्री चौधरीले राष्ट्रिय खेलकुद स्थगनबारे प्रश्न गर्दा उपाध्यक्ष आचार्यको अनुगमन प्रतिवेदन र कर्णाली प्रदेशका मुख्यमन्त्रीको असहमतिको हवाला दिएका छन् । खेलकुद व्यवस्थापनको तयारी पूरा भइसकेको अवस्थामा बजेट विनियोजन, खेलाडी छनोट प्रक्रिया र समाग्री व्यवस्थापन पनि टुंगोमा पुगेको थियो । तर, मन्त्री चौधरीको नेतृत्वमा भएको निर्णयले राष्ट्रिय खेलकुद प्रतियोगितालाई गम्भीर संकटमा पारेको छ । पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन धमलाले मन्त्री चौधरीलाई नैराश्यता फैलाउने र खेलकुद विकासमा बाधा पुर्‍याउने आरोप लगाउँदै राजीनामाको माग गरेका छन् । यसैबीच, मन्त्री चौधरी र उपाध्यक्ष आचार्यको भूमिका र निर्णयमाथि चौतर्फी आलोचना भइरहेको छ । खेलकुद क्षेत्रका जानकारहरूले अब तत्काल स्पष्ट योजना ल्याई राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न नगरे विकास र खेलाडीहरूको भविष्यमा गम्भीर क्षति पुग्ने चेतावनी दिएका छन् ।