बिन्ध्यवासिनीको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु एक अर्ब को १० प्रतिशतले हुने १०० अङ्कित दरका १० लाख कित्ता सेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका- ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ । साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दाहरूलाई छुट्याइएको कम्पनीले जनाएको छ । सार्वजनिक आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आजदेखि यही वैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ए आठ दशमलव आठ मेगावाट र रुदी बी छ दशमलव छ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेशीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशीशहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

उन्नति लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टब एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उन्नतिले ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भई डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । साधारण सभाले सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तले प्रतिसेयर १५९ रुपैयाँका दरले २ करोड ८३ लाख ७३ हजार ७३७ दशमलव ६७ रुपैयाँ मूल्य बराबरको १ लाख ७८ हजार ४५१ कित्ता सेयर बिक्री गर्न लघुवित्तले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग चैत २५ गते आवेदन दिइसकेको छ ।

८ महिनामा ८७३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । विसं २०७८ भदौ २ गते कीर्तिमानी बिन्दुमा पुगेको नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रम रोकिएको छैन । भदौ २ गते ३१९८.६० बिन्दुमा पुगेकै नेप्से वैशाख ८ गतेसम्म आइपुग्दा ८७३.१५ अंकले घटेर २३२५.४५ विन्दुमा सीमित भएको छ । पछिल्लो साता पनि सेयर बजारमा गिरावत आएको छ । सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साता ८९.७९ अंकले गिरावट आएको हो । नेप्से ३२०० विन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ । यो हप्तालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ । सातामा दुई दिन सामान्य वृद्धि भएता पनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन । साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको थियो । र, आइतबार कारोबारमा आएका २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता सेयर एक अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार भने नेप्से परिसूचक सामान्य १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा माथि पुगेको थियो । मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेका थियो । बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ । बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।