ग्लोबल आइएमई बैंकको १३ प्रतिशत लाभांश पारित
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १६औं वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिको १३.६ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले आर्थिक वर्षको २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर पाउने छन् । रकमको आधारमा सेयरधनीले करिब २ अर्ब ५२ करोड रुपैयाँ बराबको नगद लाभांश र ७१ करोड ३८ लाख रुपैयाँ बोनस सेयर पाउने छन् । २३ अर्ब ७९ करोड रहेको बैंकको चुक्ता पुँजी बोनस सेयरपश्चात २४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । दुई बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भइसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।
सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज आर्जन गर्ने भएको छ । सेबोनले शुक्रबार सूचना प्रकाशन गरी बोर्डमा रहेको लगानी योग्य रकमलाई वाणिज्य बैंकहरुको मुद्दती खातामा लगानी गरेर ब्याज आम्दानी गर्ने जनाएको हो । बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने सेबोनले जनाएको छ । आफूले दिन सक्ने एक वर्षे ब्याजदर सहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले अबको ५ दिन अर्थात् मंसिर २७ गतेभित्र आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्न सेबानले आग्रह गरेको छ । प्राप्त सिलबन्दी प्रस्तावहरु पेश गर्ने अन्तिम दिनको अपरान्ह ४ः१५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने जनाएको छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने सेबोनले बताएको छ । वाणिज्य बैंकहरुले संस्थागत मुद्दती खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।
माया खोला हाइड्रोको आईपीओ आजदेखि खरिद गर्न सकिने
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज (मंसिर २३ गते, शक्रबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयभित्र पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।