फरवार्ड लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो । नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य १८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यका आधारमा सोमबार नेप्सेमा कारोबार हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
२८ अंकले घट्यो नेप्से, ४ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आइतबार सेयर बजार २८.८६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार घटेर १८५३.७४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट र दुई कम्पनीको सेयरमा नकारात्कम सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा इस्टर्न हाइड्रोपावर र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड रहेको छ भने नकारात्मक सर्किट लाग्नेमा रुरु जलविद्युत र पिपुल्स हाइड्रोपावर रहेको छ । नेप्सेको अनुसार आज ३७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कृषि विकास बैंकको भएको छ ।