एनआइसी एशिया लघुवित्तले गर्यो १४.७५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनआइसी एशिया लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुरलाई वितरण गरिनेछ । लघुवित्तले ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै दुई बीमा कम्पनी
फाइल फोटो : प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गर्दै दुई कम्पनीका सञ्चालक काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार गर्न यी दुई कम्पनीले गत फागुन १८ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडियाका अनुसार दुई कम्पनी बराबर हैसियतमा मर्जरमा जान लागेका हुन् । तर मर्जपछि बन्ने कम्पनी सञ्चालक समितिको अध्यक्ष, सीईओ, डीसीईओ लगायतको विषयमा भने हाल टुंगो लागि नसकेको अध्यक्ष केडियाले बताए । ‘यस विषयमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने छ,’ उनले विकासन्युजसँग भने । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।
आइतबार ३० अंकले घट्यो सेयर बजार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ७३ दशमलव ३४ र उत्पादन समूहको उपसूचक एक सय ४२ दशमलव ४५ अङ्कले घटेको छ । आज बैंकिङ समूह १२ दशमलव ०८, विकास बैंक समूह २९ दशमलव ४०, वित्त समूह २९ दशमलव ६९, होटल तथा पर्यटन समूह ६८ दशमलव १० र जलविद्युत् समूह ५३ दशमलव ०४ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह एक दशमलव ०८, लघुवित्त समूह ८८ दशमलव ९०, म्युचुअल फण्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ६३ दशमलव ९५, व्यापार समूह सात दशमलव ८२ र अन्य समूह २७ दशमलव ७५ अङ्कले घटेको छ । आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै हिमालय डिस्टिलरीको आठ करोड ४४ लाख १८ हजार चार सय ५२ बराबरको कारोबार भएको छ ।