“मोडल सङ्गस अवार्ड २०२०” भारतको नयाँ दिल्लीमा हुँदै
काठमाडौं । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने उद्देश्यका साथ बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माझ बोल्दै अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एवम् व्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले बनाए । साथै, उनले अवार्डमा मनोनयनका लागि माघ २ गते देखि आवेदन फाराम खुल्ला रहने जानकारी दिए । आवेदन फाराम फेब्रुअरी २९ भित्र भरिसक्नु पर्ने साथै अवार्डको नोमिनेशन मार्च ७ मा सार्वजनिक भई मार्च २१ मा नोमिनेशन सर्टिफिकेट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला,संस्कृतिको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने हेतुले भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएकोले यसको महत्व अझ बढ्ने आशा आयोजक संस्थाले लिएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट आयोजक टोलीसंगै ख्याति प्राप्त कलाकार, लब्ध प्रतिष्ठित व्यक्तिक्त एवं संचारकर्मी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। मनोरन्जन र सिर्जनशीलताको क्षेत्रमा लागिपर्दै आउने क्रममा विभिन्न व्यक्तित्वहरुले समाजमा पुर्याउदै आएको योगदानको कदर गर्दै मोडल सङ्गस नेपालले उनीहरुलाई प्रोत्साहनका साथै हौसला प्रदान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेकोले हो । अवार्डलाई मर्यादित र आकर्षित तुल्याउन एक्यबद्ध हुँदै यस संस्करणमा हाम्रो साथ रहन्छु अवार्ड कार्यक्रमका एशोसियट पार्टनर ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए । त्यसैगरी, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनलका तर्फबाट क्रमशः राज लुइँटेल र टेक राज पाण्डेले बोल्दै ईभेण्टलाई व्यवस्थित बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।
निनाम हाङ राईकाे ‘मैना मैनी’ भिडियोसहित सार्वजनिक
काठमाडाैं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो । दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् । उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनिषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायाँकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । कार्यक्रममा प्रमुख अतिथि शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीत मार्फत आग्रह गरिएको गायक निनामले बताए । भिडियो हेर्न क्लिक गर्नुहाेस् ।
क्याभास एट थिएटर मलमा सामूहिक चित्र प्रदर्शनी, माघ ४ गतेसम्म जारी
काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् । युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो । सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् । प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिबद्धता जाहेर गरे । प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको बिम्बात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए । थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउ“दै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।