लेखक महेशराजको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक

काठमाडौं । साहित्य सुधा नेपालको आयोजनामा कवि तथा लेखक महेशराज खरेलको पहिलो काव्यकृति ‘मनको किरण’ सार्वजनिक भएको छ । शुक्रबार साँझ भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यकारहरूले खरेलको कवितासंग्रह सार्वजनिक गरका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन मन्तव्य दिँदै महेशराज खरेलको सार्वजनिक कवितासंग्रहमा केही कमीकमजोरी भए पनि कविता पठनीय रहेको बताए । ‘महेशजी खरिएको अनुभवकासाथ साहित्यिक क्षेत्रमा आउनु भएको छ । लामो समय वित्तीय क्षेत्रमा सक्रिय महेशराज खरेलले जीवनमा स्थायी रहने चिज साहित्य नै भएको अनुभूत गर्दै साहित्यलाई अंगाल्नु भएको छ । यस क्षेत्रमा उहाँले आफ्नो क्षमता र परिपक्वताको पूर्ण प्रयोग गर्नुहुनेछ,’ कुलपति उप्रेतीले भने । कार्यक्रमका अर्का अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कवि महेश खरेलमा दह्रिलो काव्य चेत भएको बताए । उनले साहित्यकारले स्वतन्त्र भएर लेखनमा क्रियाशील रहनुपर्नेमा जोड दिएका थिए । कवि डा. गीता त्रिपाठीले विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै खरेलका कवितामा चिन्तन पक्ष, जीवन दर्शन पक्ष बलियो भएको बताइन् । उनले कवि खरेलले नयाँ नयाँ बिम्बको प्रयोग पनि गरेको उल्लेख गर्दै कविका कवितामा धेरै कुरा अझैपनि छुटेको टिप्पणी गरिन् । यस्चै प्राज्ञ प्राडा हेमनाथ पौडेलले पनि समीक्षात्मक टिप्पणी गर्दै महेशका कवितामा अहिलेको युग र समय बोलेको बताए ।      

सधैंकाे लागि बन्द भयाे कमलपोखरीकाे कुमारी हल

काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ । क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएकाे थियो ।

अभिनेता अजय देवगनले किने १ अर्बको नयाँ घर, ३० कराेड ऋण, यस्तो छ नयाँ घर

काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् । उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । उनले नयाँ घर खरिद गर्नको लागि १९ करोड भारु अर्थात ३० करोड नेपाली रुपैयाँ ऋण लिएको पनि बताइएको छ । यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको बुझिएको छ । भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार हालसम्म अजय देवगनले नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको हाे ।