‘पशुपति प्रसाद २ : भष्मे डन’ले चार दिनमा गर्यो ६ करोड कलेक्सन
काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए । ‘दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ’, निर्माता लामिछानेले भने । सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् । उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । ‘समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ’, अभिनेता कार्कीले भने, ‘यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।’ चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए। उनले भने, ‘यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।’ चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा छ करोड बढीको कुल व्यापार ‘ग्रस कलेक्सन’ गरेको जानकारी दिए । उनले भन, ‘चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।
दशैंको फुर्सदमा हेर्नुपर्ने उद्यमशीलताको प्रेरणा जगाउन सहयोग पुर्याउने चलचित्रहरु
काठमाडौं । सबै मानिसहरुलाई आ–आफूलाई प्रभावित पारेका फरक–फरक चलचित्रहरु हुन्छन् । कुनै फिल्म दुःख पर्दा हेर्न मन लाग्ने हुन्छ, कुनै फिल्म खुसीको समयमा त कुनै फिल्म उत्प्रेरणाको लागि । यतिबेला हामीले धेरै नेपालीहरुले मनाउने महान चाड बिजयादशमी मनाइरहेका छौं । सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रका उद्योग तथा व्यवसायमा एक प्रकारले छुट्टीको अवस्था छ । चाडबाडको रंगरमाइलो एवं फुर्सदको बेलामा उद्यम तथा व्यवसायमा रुची राख्नेहरुले केही चलचित्र हेरेर यो बेलामा उत्प्रेरणा लिन सकिन्छ । यहाँ केही चलचित्रको बारेमा चर्चा गर्न खोजिएको छ, जुन फिल्मले उद्यमशील सोच भएका व्यक्तिहरुलाई थप उत्प्रेरणा प्रदान गर्न सहयोग पुर्याउन सक्छन् । हामी सबैलाई थाहा छ की सफल उद्यमी तथा व्यवसायी बन्न कडा परिश्रम, दत्तचित्तता र उत्प्रेरणा चाहिन्छ । ९० प्रतिशत भन्दा धेरै स्टार्टअप उद्यम तथा व्यवसायहरु प्रतिस्पर्धा र सीमित अवसरको कारणले गर्दा असफल हुने गरेको अध्ययनले देखाएको छ । उद्यम तथा व्यवसायमा उत्कट चाहना हुनेहरुलाई कतिपय चलचित्रहरुले थप अध्ययन र ज्ञानको लागि सहयोग पुर्याउन सक्छन् । १. द सोसियल नेटवर्क ‘सोसियल नेटवर्क’ डेभिड फिन्चरद्वारा निर्देशित चलचित्र हो । सो चलचित्रले हावर्ड विश्वविद्यालयमा पढ्दा मार्क जुकरबर्गले कसरी फेसबुकलाई बनाए भन्ने विषयलाई देखाएको छ । चलचित्रमा जेसी आइजेनबर्गले मार्क जुकरबर्गको रुपमा जीवन्त तरिकाले भूमिका निभाएका छन् । मार्क जुकरबर्गलाई आर्थिक समस्या, अन्य मानिसहरुको वेवास्ता र कानुनी अड्चनका बाबजुद पनि धेरै इच्छाशक्ति भएको व्यक्तिको रुपमा चलचित्रमा हाइलाइट गरिएको छ । चलचित्रमा जुकरबर्गले दुई भाइहरुबाट मुद्दा र एकजना मिल्ने साथीबाट धोका पाएका थिए । विभिन्न चुनौतीहरुका बाबुजुद जुकरबर्गले फेसबुक स्थापना गरेका छन् । अहिले फेसबुक विश्वमा नै एउटा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । नयाँ उद्यमको स्थापना गरेर सफल हुन चाहने व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । चलचित्रले सफल हुनको लागि धनी हुन आवश्यक नभएको र सही विचारको आधार निर्माण गर्नुपर्ने बताएको छ । सकारात्मक नतिजाको लागि नेतृत्वमा आत्मविश्वास र अनुशासन हुनुपनर्पे शन्देश दिएको छ । २. मनीबल यदि तपाईं बेसबलको प्रेमी हुनुहुन्छ र उद्यमी हुनुहुन्छ भने यो चलचित्रले उत्प्रेरणा दिन्छ । यद्यपी चलचित्र बेसबलमा कम र ओकल्यान्ड ए का महाप्रवन्धक बिली बीनको बेसबल जित्ने दृष्टिकोणमा बढी केन्द्रित भएको छ । बीनले आफ्नो टोलीलाई बेसबल लिगमा सफलता हासिल गर्नको लागि तयार गर्न अपनाइएको अलोकप्रिय सेबरमेटिक प्रकृयाको विषयमा चलचित्रमा देखाइएको छ । उनले आफ्नो टोलीमाथि आइपरेका आर्थिक लगायतका समस्याहरुलाई छिचोल्दै अगाडि बढ्न अभ्यास नयाँ प्रयोगहरुलाई अवलम्बन गर्छन् । चलचित्रले धेरै स्टार्टअपहरुले बीनले जस्तै समस्याहरुको सामना गर्छन् र बाँच्नको लागि अनुकुलुन हुन तयार हुनुपर्छ भन्ने शन्देश दिएको छ । साथै चलचित्रले प्रत्येक उद्यमीले उद्यमको लागि विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ । ३. द वल्फ अफ वाल स्ट्रीट चलचित्रमा सम्पूर्ण कथा वास्तविक संसारको अवस्थालाई सरलिकृत रुपमा प्रस्तुत गरिएको छ, जसले मानिसलाई अत्यन्तै धेरै प्रेरणा प्रदान गर्छ । चलचित्रमा जोर्डन बेलफोर्टको उद्यममा भएको उकाली ओरालीलाई हाइलाइट गरेर देखाइएको छ । पात्रमा भएको उर्जा र बिक्री प्रतिको मानसिकताले तपाईंलाई वास्तविक वालस्ट्रीट र भित्री इन्साइडर ट्रेडिङको बारेमा बताउँछ । साथै यसले अर्थतन्त्रलाई राम्रो र नराम्रो आकार दिन कसरी भूमिका निर्वाह गर्छ भन्ने बारेमा देखाउँछ । सफल व्यवसायीहरु सधैं नै बेच्नको लागि तयार हुनुपर्ने, साथै उद्यमी लोभी र सहानुभूति नभएको हुन नहुने विषयलाई पनि चलचित्रले देखाएको छ ।
विद्यालयलाई सहयोग गर्न लायन्स क्लबले कन्सर्ट गर्ने, यम बरालको प्रस्तुति प्रज्ञा भवनमा
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने क्लवले जनाएको छ । ‘सामाजिक र साँस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रम राजधानीको प्रज्ञा भवनमा साँझ ५ बजेपछि हुनेछ । अत्याधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका-५ पिडामा रहेको डोल भञ्ज्याङ मा.बि. मा क्लबले सहयोग गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विद्यालयमा पर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा अवस्थित छ । क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रमबाट संकलन भएको केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ । यस कन्सर्टको मुख्य प्रायोजक ब्रमपटन इमिग्रेशन कल्सल्टेन्सी र इन्टेक अबोर्ड रहेका छन् भने सह प्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राझल, प्यासिफिक लिंक कलेज रहेका छन् । यस कार्यक्रमको मिडिया पार्टनरमा विकासन्युज डटकम, रेडियो थाहा, सवल नेपाल लगायत रहेका छन् । को हुन् बराल ? ईलामको फिक्कलमा जन्मिएका गायक यम बराल नेपाली आधुनिक गीत संगितका मुलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका सुप्रशिद्ध पार्श्वगायक तथा संगितकार हुन् । उनले २०४७ सालमा रेडियो नेपालमा सागर भन्दा गहिरो बोलको गीत गाएर नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेका थिए । उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । बादलुको घुम्टो, मन रोएको, अब चोटहरुले निष्ठुरीले छोडेर गईहालि, तिमिलाई सम्झिदा आर्शिबाद, मन, वेद, धुन जस्ता सुमधुर गीतहरु आजका पुस्तासम्म पनि सर्वाधिक चर्चित र अनुकरणिय छन । उनले अल्लारे, आगो, मुस्कान, साथि, म तिम्रो जस्ता १०० भन्दा वढी चलचित्रमा आफ्नो स्वर दिईसकेका छन् । उनले २००० भन्दा बढी गीतहरु रेकर्ड गराई सकेका छन् । अमेरिका, युके, कोरिया, कतार, जापान, फ्रान्स लगायत युरोपका धेरै राष्ट्रहरुमा पुगि आफ्नो साङ्गितिक प्रस्तुति दिईसकेका गायक बराल गोरखा दक्षिण बाहु चौथो, नारायण गोपाल पुरस्कार, छिन्नलता पुरस्कार जस्ता प्रतिस्ठित पुरस्कारहरुबाट पुरस्कृत भईसकेका छन् । लायन्स क्लब इन्टरनेशनल समुदाय र मानवीय सेवामा विश्वव्यापी नेतृत्व लिने संस्था हो । विश्वभरका भौगोलिक क्षेत्रहरू मध्ये लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगत काठमाडौँ निर्माण गरिएको हो । जसमा शैक्षिक परामर्श, उद्योग, व्यवसाय, पत्रकारिता, राष्ट्रसेवक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाद्वारा यो क्लब स्थापना गरिएको हो