चलचित्र समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम हो : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको बताएकी छिन् । बिहीबारदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौं संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताइन् । ‘चलचित्र मनोरञ्जन मात्र नभई समाजलाई रूपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो । यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ,’ उनले भनिन्, ‘सिङ्गो नेपाली चलचित्रकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले चलचित्रलाई झन् सुन्दर बनाउँछ ।’ मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि चलचित्र विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गरिन् । उनले चलचित्रसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । ‘अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ,’ मन्त्री शर्माले भनिन्, ‘यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।’ यही चैत ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिइन् । ‘कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो । हामी यसलाई अझै भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा छलफल र सहकार्य गर्ने वातावरण बनाएको छ ।’ महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताए । कार्यक्रममा निर्देशक प्रकाशबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित थिए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ । त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र हेर्न पाउँछन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । दर्शकले त्यस्ता चलचित्रलाई रोजेका छन् । यसले नेपाली निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पुर्याइरहेको छ । यो सम्पूर्ण प्रविधिको सहायताले सम्भव भएको हो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल) मै प्रदर्शन हुँदा दर्शकको आकर्षण झनै बढेको छ । दर्शकले विदेशी चलचित्र झैँ गुणस्तरीय रुपमा चलचित्र हेर्न पाएपछि अहिले नेपाल झैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए । ‘डिजिटल सिनेमा इनिसेटिभ (डिसिआइ) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । हामीले महापुरुष, छक्का पञ्जा ४ र जारीजस्ता चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन गर्यौँ । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुर्याउने झन्झट पनि हटायो’, उनले भने । उक्त प्रविधि नहुँदा निर्माता, निर्देशक स्वयम् चलचित्र बोकेर त्यहाँ प्रदर्शनका लागि पुग्नुपथ्र्यो । त्यसमा जोखिम अधिक थियो । तर, अहिले नेपालमै फाइल राखेर विश्वभर चलचित्र प्रदर्शन हुने गरेका छन् । निर्मातासँगै कलाकारसमेत रहनु भएका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगत रूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उनी निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो । खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए । ‘नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिनेछ’, निर्माता बानियाँले भने । उनले पहिलो चलचित्रदेखि विदेशी बजारलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेका छन् । पछिल्लो चलचित्र ‘महाजात्रा’ सम्म आइपुग्दा उनी स्थापितसँगै नयाँ बजार पनि खोज्नु प्रयासरत छन् । ‘अहिले चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार देखिएको छ । अन्य देशमा पनि प्रदर्शन हुन्छन्, तर हामीले नयाँ बजार खोज्न वितरकसँग सहकार्य गरेर प्रयास गरिरहेका छौँ । त्यसले दीर्घकालीन रुपमा हामी सबैलाई फाइदा पुर्याउनुका साथै देशको कला, संस्कृतिलाई पनि विस्तार गर्छ’, उनले भने । अष्ट्रेलियामा नेपालीको बसोबास बढेसँगै चलचित्रसम्बन्धी गतिविधि बढेको हो । त्यसैले अहिले नेपाली चलचित्रकर्मी अष्ट्रेलिया लक्षित गतिविधिलाई बढाउने गरेका छन् । केही चलचित्रको छायाङ्कन नै त्यहीँ गर्ने घोषणा गरिएको छ भने केहीमा त्यहाँ रहेका प्रवासी नेपालीले लगानी गरेका छन् । यसका साथै नेपाली चाडपर्वमा गीत सङ्गीतसम्बन्धी कार्यक्रम पनि उत्तिकै हुने गरेको छ । यस्तै विविध कारणले त्यहाँ कलात्मक गतिविधि बढेको छ । केही वर्षदेखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा सक्रिय देखिएका वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले व्यावसायिक रुपमा नेपाली चलचित्रको लागि आकर्षक बजार बनिरहेको जानकारी दिए । उनले भने,’नेपालका केही चलचित्र छायाङ्कन नहुँदै यहाँ प्रदर्शन गर्ने अधिकार हामीले खरिद गरिसकेका हुन्छौँ । यो दर्शककै मागका कारण भएको हो । ती निर्माण समूहका पछिल्ला चलचित्रले यहाँ गरेको व्यापारका आधारमा विदेश प्रदर्शन अधिकार खरिद गर्ने गरेका छौँ ।’ अन्तर्राष्ट्रिय बजारमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ लगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने गरेको उनले जानकारी दिए । यद्यपि, चलचित्रको बजार बढेसँगै बलियो बनाउने चुनौतीसमेत रहेको छ । प्रवासी नेपालीले समय निकालेर चलचित्र भवन पुगेको चलचित्र मन नपर्दा त्यसको असर आउँदो केही चलचित्रलाई पर्ने गरेको छ । ‘रीमै’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिँदै उनले बजार विस्तारसँगै टिकाई राख्नु चुनौती रहेको बताए । ‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ’, वितरक थापाले भने, ‘हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।’ नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहेका छन् । ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यद्यपि, अहिले बढिरहेको प्रदर्शन सङ्ख्याले दर्शक टिकाई राख्न चुनौती समेत थपेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारले थेग्न नसक्ने गरी नै चलचित्रहरू प्रदर्शन भइरहेका छन् । अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गालेका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने, ‘नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।’ पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ । नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्न सके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मदत गर्नेछ । रासस
गजलकारपछि बैंकर बनेका गिरी, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले ल्याएको थियो चर्चामा
काठमाडौं । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ? हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर, त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रूपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे । गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रूपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा रचना गरेका थिए । ‘२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडाैंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ’, उनले भने, ‘पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।’ काठमाडाैं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडाैंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडाैंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरू पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ ‘मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएकाे थियाे’, गिरीले विगत कोट्याए, ‘महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाइको प्रणय एल्बममा गजल समावेश भयो ।’ उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुवातमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्थ्यो । ‘त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्’, उनले भने, ‘स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।’ उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उनको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उनी पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । ‘जागीरले कहीँ न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न’, उनले भने, ‘फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रूपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।’ उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । ‘वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छु, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्’, गिरीले भने, ‘म बिना कसैकसैलाई… लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।’ उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । ‘कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने । गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडाैं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’ रासस