गजलकारपछि बैंकर बनेका गिरी, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले ल्याएको थियो चर्चामा
काठमाडौं । गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ? हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर, त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रूपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे । गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रूपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा रचना गरेका थिए । ‘२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडाैंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ’, उनले भने, ‘पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।’ काठमाडाैं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडाैंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडाैंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरू पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ ‘मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएकाे थियाे’, गिरीले विगत कोट्याए, ‘महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाइको प्रणय एल्बममा गजल समावेश भयो ।’ उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुवातमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्थ्यो । ‘त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्’, उनले भने, ‘स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।’ उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उनको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उनी पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । ‘जागीरले कहीँ न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न’, उनले भने, ‘फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रूपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।’ उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । ‘वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छु, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्’, गिरीले भने, ‘म बिना कसैकसैलाई… लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।’ उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । ‘कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने । गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडाैं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’ रासस
काठमाडौंमै झल्कियो खोटाङ
काठमाडौं । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि काठमाडौं बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाइन् । काठमाडौंको एक विद्यालयमा कक्षा-१२ मा अध्ययनरत तामाङले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी लिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन ५ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा आएकी रोजिनाले भनिन्, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु काठमाडौंमै बसेर अवलोकन गर्न पाउँदा सिङ्गो खोटाङ कस्तो रहेछ भन्ने थोरै भए पनि जानकारी लिन पाइयो । चित्रकला हेरेपछि खोटाङ मेरो घुम्नै पर्ने सूचीमा परेको छ । त्यहाँ पुगेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरु घुम्ने छु ।’ काठमाडौंको एक क्याम्पसमा बीबीए पढ्दै गरेकी अर्घाखाँचीकी कुसुम श्रेष्ठ पनि सोही चित्रकला प्रदर्शनीमै भेटिएकी थिइन् । ‘चित्रकला प्रदर्शनीमा सिङ्गो खोटाङको रुप झल्किएको पाएँ । अर्घाखाँचीको मान्छेलाई काठमाडौंमै बसेर खोटाङको धर्म, संस्कार, संस्कृति र परम्पराबारेमा चित्रकलामार्फत जानकारी लिने अवसर मिल्यो । यो कार्यक्रमले खोटाङलाई चिन्नलाई सहयोग गरेको महसुस गरेकी छु ।’ भक्तपुर बस्ने धनगढीका गणेश कडाल पनि श्रीमती र बच्चासहित चित्रकला अवलोकनका लागि आएका थिए । चित्रकलाको प्रशंसा गर्दै यसबाट खोटाङको संस्कृति र परम्परा बुझाउने प्रयास गरिएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा रोजिना, कुसुम र गणेशजस्तै दैनिक करिब पाँच सयले चित्रकला अवलोकन गर्दै आएका छन् । दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ । दिक्तेलमा गत असोज-१७ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्डलगायतका ठाउँको क्यानभास चित्र उतारेका छन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनबारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के-के कर्माचार्यले बताएका छन् । ‘प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु ऐतिहासिक छन् । यो नगरपालिकाको सम्पत्ति हो । यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्’, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहेका उनले भने, ‘चित्रकला कलामध्येका एउटा अद्भूत कला हो । यसलाई जसले जसरी अर्थ्याउन पनि सक्छन् । क्यानभास चित्रलाई युगौंयुगसम्म राख्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र सङ्कलन गर्न सफल भएको छ । यो ऐतिहासिक कार्य हो । यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ ।’ चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएका छन् । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो । संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्को शृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ’, उनले भने । स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले बताएका छन् । ‘चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ’, उनले भने, ‘नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ ।’ स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका प्रत्यक्ष क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल लगेर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यी चित्रहरुलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ’, उनले भने, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौं । आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ ।’ रासस
डिशहोमले पाकिस्तान सुपर लिगको लाइभ गर्ने
काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर डिशहोमले १७ फेब्रुअरीबाट प्रत्यक्ष प्रसारण गर्न थालेको डिशहोमका प्रतिनिधिले जनाएका छन् । १७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने विश्वास डिशहोमको छ । एक्शन स्पोर्ट्स एच.डि. मा यो विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा रम्न सक्ने डिशहोमले जनाएको छ ।