साफ यू-२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने
काठमाडौं । भदौ २ गते देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् । कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु–१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग पनि खेलेका थिए । फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए । समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ’, कुशलले भने । दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् । नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका खेलहरु संयुक्त रुपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुने कम्पनीले बताएको छ । । नेपाली टोली जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।
एएफसी च्यालेन्ज लिग प्ले अफ एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटको प्ले अफको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच प्ले अफ दशरथ रंगशालामा २९ साउन मंगलबार साँझ ६ः०० बजे सुरु हुने कम्पनीले बताएको छ । यो खेलका लागि चर्च ब्वाइज युनाइटेड टोलीले राष्ट्रिय टोलीका लकेन लिम्बु, सनिश श्रेष्ठ, आयुष घलानसहित केही विदेशी खेलाडीहरुलाई अनुबन्ध गरेको छ । कम्पनीका अनुसार पारो एफसीले जापानका पूर्व स्टार होन्डालाई टिममा भित्राएको छ । होन्डाले ३ पटक विश्व कप खेलिसकेका छन्, उनी एसियाकै स्टार खेलाडी हुन् । होन्डा मात्र होइन यो पटक पारोले कुल ११ विदेशी खेलाडी दर्ता गर्दै टिमलाई मजबुत बनाएको छ ।
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’
काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमानलाई) अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो । को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो । बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । करिब चार वर्षको छायांकनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भने । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो ।