एस डेभलपमेन्ट बैंकको २१ औं साधारण सभा, २० प्रतिशत लाभांश पारित
काठमाडौं, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभाले २० दशमलब २५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकका अध्यक्ष राजीव राजभण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले अघि सारेको २० करोड २५ लाख ८१ हजार ४ सय रुपैंयाँ बराबरको बोनस सेयर दिने निर्णय पारित गरेको हो । अघिल्लो आर्थिक बर्षको नाफाबाट यस्तो बोनस सेयर वितरण गर्न लागिएको हो । साधारण सभाले आगामी कार्याकालका लागि पाँच सदस्यिय सञ्चालक समिति पनि चयन गरेको छ । जसमा योगेन्द्र बहादुर शाक्य, राजिव राजभण्डारी, राजेन्द्र प्रसाद दाहाल संस्थापक समुह चयन भएका छन् । त्यस्तै, बिनोद रत्न तुलाधर र केशब बोहरा साधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयन भएका हुन् । संस्थाक समुहका सञ्चालक सबै अघिल्लो कार्यकालकै दोहोरिएका हुन् । बैंकले १२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । गत साउन २१ गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग अक्वायरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पर्खिरहेको बताएको छ ।
सनराइज बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा
काठमाडौं, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले आफ्नो एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा बैकिंङ् सेवाको संचालन गरेको हो । बैंकको गाईघाट शाखाका विश्वेश्वर नायकको उपस्थितिमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पंचावती गा.वि.स.का सचिव खिलराज कार्कीले गरेका हुन् । सो अवसरमा बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यम बाट कारोबार गरिन्छ ।
सिविआईएल क्यापिटलको ब्राण्ड एम्बेस्डरमा विजय लामा नियुक्त
काठमाडौं, ११ कात्तिक । सिविआइएल क्यापिटलले कम्पनीको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामालाई नियुक्ति गरेको छ । लामालाई बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो । उक्त बैठकमा सि.वि.आई.एल कम्पनी र नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित क्यापटेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लामाद्धारा यस कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिनेछ ।