बेइजिङमा कोभिड सङ्क्रमण बढ्दै, दैनिक ५०० बिरामी अस्पतालमा

बेइजिङ । उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । चीनले गम्भीर बिरामीहरूको उपचारका लागि चिकित्सा सुविधाहरू तयार गरेको छ किनकि देशमा यी बिरामीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारी जियाओ याहुइका अनुसार तेस्रो श्रेणीका अस्पतालले गम्भीर अवस्थाका कोभिड–१९ का बिरामीका साथै अन्य गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्नुपर्छ । जिओले भने, ‘आधारभूत अवस्था भएका ज्येष्ठ बिरामी र बालबालिकालाई अवस्था परिवर्तन हुनेबित्तिकै सिधै तेस्रो श्रेणीका अस्पतालमा स्थानान्तरण गर्नुपर्छ । चीनको त्रिस्तरीय अस्पताल ग्रेडिङ प्रणालीको शीर्षस्थानमा तेस्रो श्रेणीका अस्पताल छन् । तिनीहरूसँग सबैभन्दा बढी अस्पताल बेडहरू छन् र उनीहरूले व्यापक चिकित्सा सेवा प्रदान गर्छन् ।’

फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)

टुडिखेलमा राखिएको निर्माण सामाग्री । काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् । तीनकुनेस्थित ढल मिसिएको वागमती नदि । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ । जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई भmुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ । फोटो : न्युज एजेन्सी नेपाल ।

बैंकहरुको विरोधमा गाडी व्यापारीको आन्दोलन (फोटोफिचर)

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नाडाले सरकार तथा राष्ट्रिय बैंकबाट जारी नीतिका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन आज एकै साथ ७ वटै प्रदेशमा भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । आयतको प्रतिबन्ध खुलाए पनि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरूमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरू ल्याएको विरोधमा नाडाले आन्दोलन गरेको उनले बताए । ‘पुँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भइसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौं कर्मचारीहरू समेत बेरोजगार बन्न पुगेका छन्,’ उनले भने । नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेको हो । माग पुरा नभए अझै कडा रूपमा प्रस्तुति हुने अध्यक्ष थापाले बताए ।