देशभर छठ पर्वको रौनक (फोटोफिचर)
काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाइ तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको छ । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेका छन् । तराईका जिल्लामा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको छ । आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाले व्रत लिने गरेका छन् ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा यसरी मनाइयो भाइटीका (फोटोफिचर)
काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघि भुकम्पको कारण क्षतिग्रस्त बनेपछि बीचमा बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो । यस मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।
बजारभरी छ्यापछ्याप्ती प्लास्टिकका फूल (फोटोफिचर)
काठमाडौं । सरकारले साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गर्दै सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको छ । तर, करिब ३ महिना भइसक्दा पनि बजारमा तिहार लागेसँगै छ्यापछ्याप्ती प्लास्टिकका फूलहरु देखिएका छन् । असन इन्द्रचोकमा ठूलो संख्यामा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् । यस्तै, बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न सूचना जारी गर्दै चेतावनी दिएको थियो । तर पनि यसको बजारमा केही पनि असर देखिएको छैन । तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जनाएको छ ।