देशभरि सडक बनाउने विभागकै अगाडि धुलाम्य बाटो, अर्बौंको भवन फोहोरिँदै

काठमाडौं । सरकारको प्रशासनिक केन्द सिंहदरबारको बाहिरी परिसरमा ऐतिहासिक मोडेलको एउटा सुन्दर र भव्य संरचना मध्ये पर्छ सडक विभागको भवन । ठूलो क्षेत्रफलमा फैलिएको विभागको विशाल सुन्दर भवन आँफैमा मान्छेलाई चकित पार्ने प्रकारको मोडेलमा बनेको छ । सयौं कोठाहरु भएको यो सुन्दर भवन राणाकालीन समयमा निर्माण भएको हो । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि विभागले सो भवन छाडेर ललितपुर पुल्चोकबाट आफ्नो काम गर्दै आएको थियो । पुनर्निमाणको काम सकिएपछि ०८० भदौबाट विभाग फर्किएर सोही भवनबाट कार्यसञ्चालन गर्दै आएको छ । तर, दुःख लाग्दो विषय के छ भने विभागले मालको मूल्य बुझेन वा बुझ्न चाहेन पुनर्निमाण गरेर सुन्दर बनाइएको भवन धुलाम्य बनाउन शुरु भएको छ । सिंहदरबारको दक्षिणी गेटबाट बबरमहलतर्फ जाँदा र बबरमहलबाट सिंहदरबातर्फ छोटो बाटो प्रयोग गरेर जाने सवारी साधन वा पैदल यात्री जो सुकैले देख्न सक्ने यो चित्रले जोसुकैको मनलाई पक्कै पनि कटक्क बनाउँछ । पुनर्निमाण सम्पन्न भएर सेतो रंगले पोतिएको भवनको मुख्य प्रवेशद्वार देखि पश्चिम तर्फको मोहडा आफ्नै प्राङ्गणबाट उडेको धुलोले मैलो हुँदै गएको छ । प्राङ्गणकै धुलो भित्र छिरेर भवनको भित्री भागका गल्लीहरु पनि धुलोमय भएका छन् । एतिहासिक महत्व बोकेको पुरानो संरचना त्यसमाथि पनि अरबौं खर्च गरेर पुनर्निमाण गरिएको विभागको भवनको सही व्यवस्थापन विभागको नेतृत्वले गर्न नचाहेको देख्दा जो सुकैलाई पनि उदेक लाग्छ । विभागको प्राङ्गण फोहोर हुँदा सुन्दर भवन मात्रै मैलिएको छैन प्राङ्गणको बाटो भएर सिंहदरबार र बबरमहल क्षेत्र वारपार गर्ने पैदल यात्रु र सवारी साधन चालकलाई समेत सास्तीको अवस्था सिर्जना भएको देख्न सकिन्छ । देशैभरी हजारौं किलोमिटर सडक निर्मााणको जिम्मेवारी लिएको विभागले आफ्नै प्राङ्गण अगाडिको १५/२० मिटर क्षेत्रलाई किन ढलान वा प्लस्टर गरेन ? के विभागसँग यसकै लागि पैसा भएन वा नेतृत्वको इच्छा भएन ? के नेतृत्वले आफ्नो निजी सम्पत्तिको अवस्था पनि यस्तै राख्छन् ? विभाग परिसरको अवस्था देख्ने जो सुकैले पनि यो प्रश्न गर्छ । विभागका सहप्रवक्ता तथा सिनियर इन्जिनियर अमितकुमार शर्माले विभाग भवन बनिसकेपछि हतारमा सरेको कारण अगाडिको सडक निर्माणको काम सम्पन्न भइनसकेको बताए । उनले चालु आर्थिक वर्षभित्र विभागको प्राङ्गणको काम सम्पन्न हुनेगरी काठमाडौं सडक डिभिजन कार्यालयको तर्फबाट ठेक्का आह्वान गरेर अगाडि बढेको उनले बताए ।

यस्तो छ धरहरा र काठमाडौं टावरमा बनाइएको निःशुल्क पार्किङ (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरा र काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा सवारी साधन पार्किङ गर्न मिल्ने व्यवस्था गरेको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गर्दै महानगरले विकल्पको रुपमा उक्त दुई ठाउँमा निःशुल्क रूपमा पार्किङ सेवा दिने भएको हो । यससँगै धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबार अर्थात माघ १४ गतेदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध भएको छ । यससँगै सवारी चालकलाई सहज रूपमा उक्त क्षेत्रमा पार्किङ गर्न पाउने भएका छन् । महानगरका अनुसार उक्त तलामा १५ सयवटा बाइक तथा स्कुटर पार्किङ गर्न मिल्ने छ । हाल उक्त स्थानमा गाडि पार्किङ भने गर्न नमिल्ने बताइएको छ । यसअघि गत सातामात्रै महानगरले काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइ सकेको छ । जहाँ कार र बाइक गरेर १५ सय बढी पार्किङ गर्न मिल्ने महानगरले जानकारी गराएको छ । त्यस्तै, हाललाई निःशुल्क सेवा दिइएपनि पछि शुल्क लाग्न सक्ने बुझिन्छ ।  

सौराहामा रमाउँदै पर्यटक (फोटो फिचर)

काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको रोजाइमा विशेष गरी हात्ती, जीप, डुङ्गा सफारी हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहेको देखिन्छ । सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा डुङगा सयर गरेर पर्यटक मनोरञ्जन लिने गर्दछन् । पर्यटक हात्ती चढेर सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गल अवलोकन गर्ने गर्दछन् । रासस