इन्टरनेशनल डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न, एनसीसी बैंकमा मर्ज हुने प्रस्ताव पास

काठमाडौं, २९ असार । इन्टरनेशनल डेभलपमेन्ट बैंकको विषेश साधारणसभा मंगलबार राजधानीमा सम्पन्न भएको छ । साधारणसभाले एनसीसी बैंकसँग मर्जमा जाने सञ्चालक समितिको विशेष प्रस्ताव सर्बसहमतिमा पारित गरेको छ । डीडीए रिपोर्टका आधारमा एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १०० हुँदा इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रतिकित्ता ७३ रुपैयाँ स्वाप रेसियो मानेर मर्जमा जाने प्रस्ताव साधारणसभाले अनुमोदन गरेको छ । सो आधारमा इन्टरनेशनल डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेले मर्जपछि एनसीसी बैंकको ७३ कित्ता सेयर पाउने इन्टरनेशनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले जानकारी दिए । एनसीसी बैंकमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, कुमारी बैंक, इन्फ्राष्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम बैंक मर्ज हुने प्रक्रिया चलिरहेको छ ।

बिओकेद्धारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग

काठमाडौं, २८ असार । बैँक अफ काठमाण्डू (बिओके)ले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरेका छन् । हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्प पीडितहरुकालागि एकिकृत नमूनाबस्ती पुन निर्माण अन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडितहरुलाई उपलब्ध गराएको थियो । सहायता उपलब्ध गराउदैँ प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बिओकेले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउदै आएको र यसलाई भविष्यमा पनि निरन्तर्ता दिनु पर्नेमा जोड दिए । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरेका छन् ।

धरहरा पुनःनिर्माण कोषमा रकम हस्तान्तरण

काठमाडौं, २८ असार । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गर्नुभयो । उनले पुनःनिर्माणमा करिब रु तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो । रासस