आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्याउने विश्वास लिएको छ।
नेपाल एसबीआई बैंकको सीईओ बने रामकुमार तिवारी, २६ वर्षको बैंकिङ अनुभव
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआई बैंककाे सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल बिहीबारबाट सुरु हुनेछ । यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबारबाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । उनीसंग २६ वर्षको बैंकिङ अनुभव रहेको छ ।
नेपाल मुद्रा विप्रेषक संघ नेतृत्वमा रितेश मित्तल
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको १९औं वार्षिक साधारणसभाबाट नेपाल रेमिट इन्टरनेसनल प्रालिका प्रतिनिधि मित्तल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । संघ उपाध्यक्षमा सूर्य रेमिटका सञ्जय सिग्देल र महासचिवमा आईएमई लिमिटेडका दिवाकर पौडेल, कोषाध्यक्षमा एटीटी रेमिटका सञ्जीवकुमार पाठक र सचिवम प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटा चयन भएका छन् । त्यसैगरी, कार्यसमिति सदस्यमा सिद्धार्थ बैंकका विमल महत, ग्लोबल आईएमई बैंकका श्यामप्रसाद लामिछाने, प्रभु बैंकका मधुसुदन न्यौपाने र यूनाइटेड रेमिटका सुदन सिं सिलवाल छन् ।