प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मीले कानून र ढुंगेलले अनुसन्धान महाशाखा सम्हाल्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी विभिन्न महाशाखाका लागि जिम्मेवारी तोकेको हो  । नयाँ जिम्मेवारीअनुसार, निर्देशक कमल प्रसाद रेग्मीले कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसैगरी, हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई पनि विभिन्न महाशाखाहरूको नेतृत्व तोकिएको छ । निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त, ज्ञानेन्द्रको राजीनामा स्वीकृत

काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १३ गते बसेको बैठकले हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) रहेका ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए । २०७७ सालमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएर नबिल बैंकमा डीजीएममा नियुक्त भएर काम सुरु गरेका ज्ञवाली चार वर्षको बीचमा नायब महाप्रबन्धकबाट महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सीईओ बनेका हुन् । उनी गत पुसमा मात्रै बैंकको सिनियर डेपुटी सीईओमा बढुवा भएका थिए । सञ्चालक समिति र सेयरधनीहरूसँग नजिक भएर काम गरिरहेका ज्ञवाली एक क्षमतावान र प्रष्ट वक्ताको रूपमा पनि परिचित छन् । यो हिसाबले उनी सीईओ बन्न सक्ने अनुमान धेरैको छ । युवाहरूमाझ पनि उत्तिकै चर्चित ज्ञवालीले नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहको फ्लेवर बैंकमा चखाइरहेका छन् । ज्ञवालीलाई सीईओ बनाउनकै लागि गत पुसमा मात्रै वरिष्ठ डेपुटी सीईओमा बढुवा गरेर बाटो खुला गरेको भन्ने चर्चा पनि बैंकभित्र छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा पनि काम गरेको पनि अनुभव छ । कम्पनी सचिव पौडेलका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । ढुंगानाले दिएको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो । सम्बन्धित समाचार ज्ञानेन्द्रको एक्जिटपछि ‘इनहाउस’बाटै सीईओ रोज्दै नबिल, सुजित र मनोजबीच ‘नेक टु नेक’ नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु,’ मन्त्री पौडेलले भने । बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन् । मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरु प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन् ।