विदेशमा चिया निर्यात गर्न निकै महङ्गो, प्रतिकिलो चियाको कार्गो भाडा नै ९०० रुपैयाँ
इलाम, १९ पुस । यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महङ्गो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पुर्याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् । चिया निर्यातमा महँगो कार्गो भाडाले अधिकांश उद्योगीलाई कायल बनाइरहेको इलामका उद्यागी/व्यवसायी बताउँछन् । प्रतिकिलो रु ९०० सम्म तिर्नुपरिरहेको उद्योगी तथा व्यापारीले बताएका छन् । तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि नौ डलरसम्म कार्गो भाडा तिर्नुपरिरहेको चिया उद्योगी ज्योति अधिकारी बताउछन् । “मैले भर्खरै २० किलो चिया विदेश पठाएँ,” उनले भने – “तीन हजारको चिया ९०० रुपैयाँ भाडा खर्चेर पठाउनुपर्यो ।” थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ । धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने व्यवसायी बताउँछन् । कतिपय देशबाट थोरै मात्र चियाको माग आउने गरेको छ । त्यस्ता खरिदकर्ताका लागि चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको उद्योगी बताउँछन् । “कोही थोरै–थोरै चिया माग गर्ने व्यापारी पनि हुन्छन्,” अधिकारीले भने– “थोरै माग्नेलाई पठाउँदा भाडा महँगो पर्छ ।” थोरै चिया एयर कार्गोमार्फत विदेश पुग्छ । एयर कार्गोका लागि बढी मूल्य तिर्नुपरेको साना उद्यमीको गुनासो छ । थोरै चिया निर्यातका लागि पनि उति नै प्रक्रिया पूरा गर्नुपर्छ । एकपटक चिया निर्यातका लागि कागजात पु¥याउन तीन/चार दिन लाग्ने उद्योगी व्यवसायी बताउँछन् । किसानले थोरै परिमाणको चिया हुलाकमार्फत निकासीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । भारतलगायत चिया निर्यात गर्ने देशले चिया निर्यातमा त्यस्तो मूल्य छुट दिने गरेको चिया विज्ञ बताउँछन् । सरकारले केही खेतीबालीका लागि सहुलियतमा ऋणको व्यवस्था गरे पनि चिया खेतीलाई त्यस्तो सहुलियत नभएको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउछन्। “ग्रामीण स्वावलम्बन कोषमार्फत सहुलियत दरमा ऋण लगानी हुन्छ”, उनले भने – “त्यो रकम वित्तीय संस्थाहरूले मात्रै परिचालन गर्न पाउँछन्, सहकारीले पनि सो रकम लिएर परिचालन गर्न पाउने व्यवस्था हुनुपर्छ ।” बैंकहरूले चियालाई ऋण नदिँदा चिया खेती विस्तारमा प्रभाव परेको दाहालको भनाइ छ । चिया खेतीबाट उत्पादन लिन निकै समय पर्खिनुपर्ने जानकारी दिँदै उनी भन्छन् – “ऋण लिएको अर्को महिनादेखि किस्ता तिर्नलाई उत्पादन सुरु भएकै हुँदैन, त्यसैले चिया खेतीमा लगाइएको ऋणलाई लगानीका रूपमा हेरिनुपर्छ ।” तरकारीलगायत विभिन्न बालीको बिमा सुरु भए पनि नगदेबालीको बिमा नभएकाले समस्या भइरहेको किसानको गुनासो छ । मुस्किलले उत्पादन गरेको बिक्रीका लागि विदेश पठाउनु पर्दा पनि चियाको मूल्यको एक तिहाइ रकम ढुवानी भाडामा खर्चनु परिरहेको उद्योगीको गुनासो छ । रासस
श्रीलङ्कामा सन् २०१७ मा पच्चीस लाख विदेशी पर्यटक भित्र्याइने
श्रीलङ्का, १८ पुस । श्रीलङ्काले सन् २०१७ मा २५ लाख विदेशी पर्यटकलाई स्वागत गर्ने लक्ष्यसहित पर्यटकीय क्षेत्रको सुरधाका कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । सन् २०१६ मा २० लाख पर्यटक भित्र्याउन सफल भएको जानकारी गराउँदै श्रीलङ्काली पर्यटनमन्त्री जोन अमरातुङ्गाले सन् २०१७ को अन्त्यसम्म २५ लाख विदेशी पाहुनालाई स्वागत गरिने जानकारी दिएका छन् । सन् २०१६ मा श्रीलङ्का आउने अधिकांश पर्यटक अर्थात १८ लाख पर्यटक भारत तथा चीनबाट आएको बताउँदै यस वर्ष बन्दरानाइके इन्टरनेसनल विमानस्थलमा जनवरीदेखि अप्रिलसम्म विमानस्थल सुधारका कार्य हुने भएको जनाउँदै यस विषयलाई व्यवस्थित गर्दै पर्यटकको आवागमनलाई सहज बनाइने मन्त्री अमरातुङ्गाले बताए। यसका लागि विश्वभरका प्रमुख सहरमा मेघा प्रचार अभियान चलाइने र श्रीलङ्कालाई आदर्श पर्यटकीय भूमिका रुपमा विश्वसमुदायबीच जानकारी गराइने उनको भनाई थियो । रासस÷सिन्ह्वा
उपभोगमै ९५ प्रतिशत आय, प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ, बचत नै हुँदैन नेपालीको आम्दानी
काठमाडौं पुस १८, आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को राष्ट्रिय लेखा तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९४.७४ प्रतिशत अन्तिम उपभोग हुने गरेको छ । यो हालसम्मकै उच्च अनुपातको उपभोग हो । आव ०७१र७२ मा कुल उपभोग खर्च जीडीपीको ९१.२१ प्रतिशतमात्र थियो भने पाँच वर्षअघि ८६ प्रतिशतमात्र थियो । उपभोग बढ्दै जाँदा कुल राष्ट्रिय बचतमा त्यसको सोझो असर पर्छ । आव २०६७/६८ का जीडीपीको झन्डै १४ प्रतिशत राष्ट्रिय बचत हुने गरेकोमा गत आवसम्म आइपुग्दा यो ५.२६ प्रतिशतमा झरेको । तथ्यांक विभागका अनुसार अहिले नेपालीको प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय ७५२ डलरमात्र छ, यो अघिल्लो आव ०७१/७२ भन्दा १० डलरले घटेको हो । अमेरिकी डलरसँगको विनिमयमा नेपाली मुद्रा कमजोर भएकाले नेपालीको प्रतिव्यक्ति आय पनि घटेको हो । अहिले नेपालको अर्थतन्त्रको कुल आकार २२ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँमात्र पुगेको छ । गत वर्षको भूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ०.५६ प्रतिशतमा खुम्चेको विभागको प्रतिवेदनमा उल्लेख छ । खुम्चियो कृषि विभागका अनुसार जीडीपीमा कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चेको छ, जुन आव ०५८/५९ मा ३५.६ प्रतिशतमा थियो । यसैगरी उद्योग क्षेत्रको योगदान पनि ५.५३ प्रतिशतमा खुम्चिएको छ, अघिल्लो आवमा यसको अंश ६.५ प्रतिशत थियो । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ५४.३ प्रतिशत पुगेको छ, जसमध्ये रियल इस्टेट र व्यावसायिक क्षेत्र, शिक्षा र वित्तीय क्षेत्रको योगदान ह्वात्तै बढेको पाइएको छ । पछिल्लो दशकमा अत्याधिक विस्तार भएको रियल इस्टेट क्षेत्र र व्यावसायिक क्षेत्रले जीडीपीमा ९.२ प्रतिशत, शिक्षा क्षेत्रले ६.८ प्रतिशत र वित्तीय क्षेत्रले ५ प्रतिशत हिस्सा ओगटेका छन् । कृषिपछि अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने क्षेत्र भने थोक तथा खुद्रा व्यापार नै छ, जसले १४.२ प्रतिशत हिस्सा ओगटेको छ । होटल तथा रेष्टुँरा क्षेत्रको योगदान भने २.१ प्रतिशतमा स्थिर छ । कारोबार दैनिकबाट ।