भाइद्वारा दाजुको हत्या

काठमाडौं । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४  गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार बेलुका २६ वर्षीय दाजु मनोज चौधरीलाई हत्या गरी नहरमा फालेर फरार भएका २० वर्षीय विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले जनाएको छ ।  प्रहरीले निजलाई कोहलपुर नगरपालिका-१५ स्थित चन्हवाबाट पक्राउ गरेको थियो । कुटपिटबाट हत्या भएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याइएको छ । पक्राउ परेका विनोदको म्याद थपका लागि जिल्ला अदालत, बाँकेमा ल्याइएको प्रहरीले जनाएको छ । 

कम्पनी रजिस्ट्रार र उद्योग विभागको विवरण अब एकीकृत ड्यासबोर्डमा, आगामी वर्ष प्रदेशको डाटा पनि जोडिने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा आजदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त गर्ने उद्देश्यले ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको हो ।  उक्त ‘ड्यासबोर्ड’ बाट अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण वास्तविक समय (रियल टाइम) मै अद्यावधिक हुने छ । नेपालमा हालसम्म कति उद्योग तथा कम्पनी दर्ता भएर सञ्चालनमा छन् भन्ने जानकारी सर्वसाधारणले प्राप्त गर्न यसअघि निकै कठिन थियो ।  ‘ड्यासबोर्ड’ सञ्चालनपछि सहजै उक्त जानकारी प्राप्त गर्न सकिने उद्योग मन्त्रीको सचिवालयले जनाएको छ ।  यसबाट आगामी आर्थिक वर्षमा प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणसमेत समावेश गर्ने मन्त्रालयको योजना रहेको जनाइएको छ । सचिवालयका अुनसार ‘ड्यासबोर्ड’ मा हाल उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणाली हेर्न सकिनेछ ।  अन्य सूचना प्रविधि प्रणाली नभएका निकायको विवरण पनि ‘डाइनामिक फर्म’को माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।  उक्त प्रणालीलाई एपीआईमार्फत एकीकृत गरी रियल टाइम डाटा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा हटाइयो

काठमाडौं । सवारीसाधनमा जडान गरिएको कालो सिसाविरुद्ध ट्राफिक प्रहरीले थालेको अभियानमा गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ स्वयं सहभागी भएका छन् । अभियानलाई प्रभावकारी बनाउने सन्देश दिँदै उनीहरूले आफ्नै सरकारी सवारीको कालो सिसा हटाएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार पुगेर गृहमन्त्री गुरुङले आफ्नो सवारीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । त्यसपछि ट्राफिक प्रहरीले गृहमन्त्री र गृहसचिव दुवैको सवारीमा जडान गरिएको कालो सिसा हटाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन् । उनका अनुसार कालो सिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले विभिन्न आपराधिक गतिविधिमा यसको दुरुपयोग हुने गरेको छ । प्रहरीको भनाइअनुसार कालो सिसा भएका सवारीसाधनमार्फत लागुऔषधको ओसारपसार तथा सेवन, साना हतियारको अवैध ढुवानीदेखि सुन तस्करी र अपराधीलाई भगाउनसमेत सहयोग पुगेका घटनाहरू अनुसन्धानका क्रममा फेला परेका छन् । यही कारण ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक दुवै प्रकारका सवारीसाधनमा जडान गरिएका अनधिकृत कालो सिसा हटाउने अभियानलाई कडाइका साथ अघि बढाएको जनाएको छ ।