कर्मचारीतन्त्र भित्रको चित्र ‘९६ गड्डी’

काठमाडौं । ‘फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ ? परीमा पनि सर्वोपरी ! भन कुन देशकी चरी हौँ’ प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको चित्रण हो । उपन्यासकार तिवारीले आफ्नो सृजनालाई २०४६ सालको जनआन्दोलन आसपासबाट प्रारम्भ गरेका छन् । उपन्यासका पात्र विज्ञान, राजीव र कुमुदा त्यतिबेलाका जुझारू विद्यार्थी नेता हुन् । उपन्यासमा विज्ञान र कुमुदा वामपन्थी पृष्ठभूमिका अनि राजीव प्रजातान्त्रिक धारका विद्यार्थी नेता हुन् । विसं २०४६ को जनआन्दोलनमा भएको प्रहरी दमनमा परी कुमुदाको मृत्यु हुन्छ । ‘निजामती कर्मचारीभित्रको भ्रष्टाचार र विकृतिलाई उपन्यासमार्फत देखाएर त्यसलाई न्यूनीकरण गरी सुशासन कायम गर्न पुस्तकले प्रेरित गरेको छ”, उपन्यासकार तिवारीले भने, ‘आफूले देखेका, भोगेका अनुभवलाई उपन्यासमार्फत ल्याएको हुँ, नयाँ पुस्तालाई त्यो मार्गमा नलाग्न प्रोत्साहन पनि हो ।’ उपन्यासमा विज्ञान र राजीव स्नातकोत्तर अध्ययन समाप्तिपछि राजनीतिमै लागिरहने या जागिर खाने भन्ने द्विविधामा पर्छन् । द्विविधाकैबीच उनीहरू दुवै निजामती सेवामा प्रवेश गर्छन् । निजामती सेवामा प्रवेशपछि पनि विज्ञान भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माणको पूर्वादर्शलाई बिर्सँदैन । विद्यार्थीकालका सपनालाई कार्यरूपमा उतार्ने भरमग्दुर प्रयत्न गर्दछन् । त्यसो गर्दा कार्यालयका अन्य कर्मचारी र ऊबीच द्वन्द्व सुरु हुन्छ । आजभोलि गर्दागर्दै द्वन्द्व उत्कर्षमा पुग्छ । फलतः ऊ चौतर्फी घेराबन्दीमा पर्छ । सबैतिरबाट एक्लो बनाइन्छ । घेराबन्दी र एक्लोपनका कारण विज्ञान विस्तारै खाने खुवाउने बाटो समात्न बाध्य हुन्छ । कालान्तरमा भ्रष्टाचाररूपी दलदलमा नराम्ररी फस्न पुग्छ । अन्ततः ९६ लाख रुपैयाँसहित रङ्गेहात पक्राउ परी जेल जान्छ । उपन्यासले मानिस जन्मदै भ्रष्ट भएर जन्मिदैन । त्यसको निर्धारण व्यक्तिले प्राप्त गर्ने शिक्षादीक्षा, सामाजिक परिवेश, परिवार, इष्टमित्र, सरसङ्गतले गर्छ भन्ने देखाउन खोजेको छ । भ्रष्टाचार गर्ने (खाने-खुवाउने) चतुर कर्मचारी गिरिधरीे भएको र त्यस्ता गिरिधरी जतिसुकै ठूलो भ्रष्टाचार गरे पनि पक्राउ पर्दैन भन्ने देखाउन खोजिएको छ । जनआन्दोलनको क्रममा सहादत प्राप्त गरे पनि कुमुदा विज्ञानको मनमस्तिष्कमा निरन्तर छाइरहन्ने गरेको विज्ञानको सपनामा आएर लोकतान्त्रिक मूल्यमा आधारित मुलुक बनाउन लाग्नु, भ्रष्टाचारमुक्त नेपाल निर्माणको वाचा–कसम नभुल्न भनेर सजग गराइरहेको प्रसङ्ग छ । उपन्यासको अर्को पात्र एसएसपी आलोक स्वाभिमानी र इमान्दार पात्र हो । ऊ कस्तै परिस्थितिमा पनि भ्रष्ट र अपराधीहरूसँग सम्झौता गर्दैन । सत्य, न्याय र सुशासनको पक्षमा चट्टानझैँ खडा हुन्छ । त्यसकारण ऊ वृत्तिविकासमा पछि पर्छ । अधिकांश समय पश्चिम नेपालको विकट पहाडी जिल्लामा सरुवा गरिन्छ । उपन्यासमा राज्य संयन्त्रको सर्वोच्च स्थानमा बस्ने मारफेल नामको पात्र पनि छ । जो विकृति, विसङ्गति र भ्रष्टाचारको पर्याय बन्न पुगेको छ । उपन्यासमा भ्रष्टाचार छानबिन समितिको अध्यक्ष चैतन्य प्रधानले केही लाख रुपैयाँ र सुरासुन्दरीको मोहमा भ्रष्टाचारमा लालमोहर लगाएको दृष्य पनि छ । साथै उपन्यासमा सुशीलाको हत्यारा पत्ता लगाउन सामनाले ठमेल नाइटक्लबमा काम गर्न थालेकोे सन्दर्भ आउँछ । सामनालाई साहसी र लडाकुमात्र होइन चतुर पात्रका रूपमा प्रस्तुत गरिएको छ । साहित्यकार भारती न्यौपानेलाई उक्त उपन्यासलाई सेतो पर्दामा देखिने र कालो पर्दाभित्रका निजामती कर्मचारीको यथार्थ चित्रण गरिएको महसुस भएको छ । ‘निजामती कर्मचारीभित्र सुशासन कायम गर्न विज्ञान विद्रोही पात्र भए पनि परिवार र साथीभाइको दबाबले अन्तिम भ्रष्टाचारमा गर्नुपर्ने बाध्यतामा पुर्याएको चित्रण पुस्तकमा छ,’ उनले पुस्तकबारे समीक्षा गर्दै भने, ‘साहित्यमार्फत महिला सशक्त पात्रलाई पनि झुक्न बाध्य पारिएका र बढुवाका लागि घुस खुवाउनुपर्नेजस्ता विकृतिको यथार्थ चित्रण गरिएको छ ।’ उपन्यासकार तिवारीले निजामती कर्मचारीभित्र देखिएको भ्रष्टाचारका काण्डलाई सृजनामार्फत बाहिर ल्याउने राम्रो हिम्मत भन्ने महसुस साहित्यकार न्यौपानेलाई भएको छ । ‘उपन्यासमा पैसाका लागि बाध्य भएर महिला ‘ठेमलको नाइट क्लब’मा पुग्न बाध्य हुन्छन्, तर त्यही क्लबमा जाने पुरूषहरू पहुँचवाला र उच्च ओहोदामै भएका जान्छन् भन्ने स्पष्ट देखाइएको छ, जुन यथार्थमा आधारित छ,’ उनले भने । साहित्यकार अनिला कोइरालालाई उपन्यासमार्फत पैसाको अगाडि कुनै वादले पनि काम गर्दैन भन्ने यथार्थ र सत्य उजागर गरिएको छ भन्ने लागेको छ । उनले भने, ‘उपन्यासमा सुशीला बाध्यताले आचरणविपरीत काम गर्छिन् र उनी भन्छिन् ‘शरीर बेच्नेभन्दा डरलाग्दा हुन्छन्, भ्रष्ट सोच राख्नेहरू’ देशको राजनीति, निजामती कर्मचारीका केही खराब सोचलाई सुन्दर तरिकाले उजागर गरिएको छ ।’ साहित्यकार सुदा मैनालीलाई निजामती कर्मचारीभित्रको विकृत सोच, भ्रष्टाचारको संस्कृति रोचक तरिकाले प्रस्तुत गरेको र कतिपय उच्च पदमा पुगेका निजामती कर्मचारीले महिलालाई हेर्ने नकरात्मक दृष्टिकोणका बारेमा उपन्यासमा स्पष्ट देखाउन खोजिएको सुनाए । उपन्यासका लेखक तिवारीले सामना गाउँमा दुई चितुवासँग युद्ध लडेकी साहसी र मुलुकमा सुशासन चाहने पात्रले विभिन्न मोहमा परेर आफ्ना पति विज्ञानलाई भ्रष्ट बनाउने काममा लागेको चित्रण गरेका छन् । लेखक तिवारी पूर्वप्रशासक छन् । उनले १३ वर्ष निजामती सेवामा र पछिल्लो बाँकी समय नेपाल कृषि अनुसन्धान परिषद्मा रहेर काम गरे । लमजुङ घर भई हाल तारकेश्वर नागरपालिका काठमाडौँमा बस्छन् । उनका यसअघि परित्यक्त, निलोफर र निहारिका कृति बजारमा आइसकेका छन् । पुस्तकमा निजामती कर्मचारीभित्रको संस्कृति र विकृतिलाई पनि उठान गरिएको छ । ‘कलमका साथी’ नामक संस्थाले शनिबार उक्त उपन्यासमाथि विमर्श गरिएको हुनाले उक्त पुस्तकमाथि चर्चा भएको हो । पैरवी बुक हाउसले प्रकाशन गरेको उक्त उपन्यास २८३ पृष्ठको छ । उक्त प्रकाशनले २०८१ असोज १६ गते सार्वजनिक गरेको हो । पुस्तक समग्र निजामती कर्मचारीभित्र केन्द्रित भएको छ । उपन्यासका धेरै स्थानमा पात्रहरूको भावनलाई कवितामार्फत प्रस्तुत गरिएको छ । एक प्रसङ्गमा भनिएको छ- ‘तिमी कृष्ण हुन्छौँ भने बनुँला नि म आधा ! तिम्री हुने कसम खाएँ, मुटुभित्र राखे सदा !’

पुस्तक समीक्षाः ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पछ्याउँदा

काठमाडौं । लोकगीत जनसमुदायको धड्कन हो, यो कहिल्यै मर्दैन । यो समाजले गाएको हुन्छ, समाजले बचाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । नेपाल भूगोलमा सानो भए पनि पनि विश्वमा यसको अलग्गै पहिचान बनाउने मुख्य तीन आयाम भूगोल, प्रकृति र संस्कृति नै हो । कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । त्यसमा पनि लोकसंस्कृतिले जनताका धड्कनलाई बोक्ने हुँदा लोकसमुदायका आँशुहाँसो, सुखदुःख, मिलनबिछोड, जीवनयापनका अनेक उकालीओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासको प्रतिनिधित्व गर्छ । हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै वैशिष्ट्य छ । लोकसंस्कृतिको मुहान नै मान्ने गरिएको गण्डकी क्षेत्र, त्यसमा पनि लमजुङ जिल्लामा बढी गाइने यस गीतको महिमा मुलुकमा मात्र सीमित नरहेर विश्वका कुनाकुनामा फैलिँदो छ । यसको लय नेपाली गीतसङ्गीतका स्रोता र पारखीका हृदयमा अमिट छाप छाड्न सफल भएको छ । ठाडो भाकामा सामान्य लोकगीतभन्दा केही फरक शैली र मौलिकपन छ । यसमा गीत गाउने पुरुष उभिएर अर्थात् ठाडै भएर गाउने भएकाले यसलाई ठाडो भाका भनिएको हुनसक्छ । सामान्यतः यसमा महिला नाच्दैनन्, तिनले बसेरै गाउँछन् । ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ । अघिल्लाका तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ । पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको छ । यसरी ओझेलमा परेको अमूल्य सम्पदालाई संरक्षण गर्दै यसको ऐतिहासिक पक्षदेखि अहिलेको अवस्थासम्मको विषयवस्तुलाई गहन ढङ्गबाट खोजी लमजुङ दुराडाँडा निवासी लालबहादुर भुजेलले पुस्तकका रूपमा ल्याएर भावी पुस्तालाई ठूलो गुन लगाएका छन् । भुजेलको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ पुस्तकले ठाडो भाकाका बारेमा जान्न, बुझ्न मात्र होइन, थप अध्ययन अनुसन्धान गर्नेहरूका लागि पनि बाटो नै खोलिदिएको छ । पुस्तक पढेपछि ठाडो भाकामा जो कोहीले पनि आफूलाई घुलन गराएरै छाड्छ । ठाडो भाकामा केटा पक्ष र केटी पक्षबीच तत्कालै ठाडै सवालजवाफ नगरी अनुनयविनय पारामा घुमाएर शालीन ढङ्गले उत्तर दिइन्छ । आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा अर्को पक्षको इज्जत, आमोद एवं मान–मर्यादा–प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खुबै ख्याल गरिन्छ । लेखकले भने जस्तै यसमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रिस–रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परी नम्र र सहिष्णुता अवलम्बन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ । यसमा तितो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन, तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीका भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ । मौलिक संस्कृतिका प्रतिपादक एवं प्रवद्र्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले सुरुमा यस भाकाको श्रीगणेश गरेका थिए। यसमा बौद्धसिं गुरुङ र उहाँका उत्तराधिकारीका रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे । मोतीलालका शिष्यका रूपमा पञ्चसुब्बाले लमजुङ र कास्कीमा यसलाई विस्तार गरे । सुरुमा ठाडो भाका केटाकेटाबीच गाउने गरिन्थ्यो, यसो गर्दा रौनक नभएपछि महिलाले पनि गाउन थाले र यसप्रति जनमानसको आकर्षण बढ्दै गयो । विसं २००७ अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्मा ठूलो बाहुल्य थियो भने विसं १९७० का दशकदेखि २०३० का दशकसम्म गण्डकी प्रदेशको भूभागमा ठाडो भाकाले बजार पिटेको राष्ट्रकवि माधव घिमिरेले पुस्तकका भूमिकामा लेखेका छन् । कृतिमा शुभकामना मन्तव्य भनिए पनि ठाडो भाकाका सम्बन्धमा घिमिरेबाहेक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिविद् डा जगमान गुरुङका अमूल्य विचार पनि पठनीय मात्र छैनन्, नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा पाइने थुप्रै जानकारीले यसको गरिमालाई अझ उजिल्याएको छ । राष्ट्रकवि घिमिरेले आफ्नो भूमिका लेखनका क्रममा गण्डकी भेगमा कुनै बेला ठाडो भाका गायकगायिकालाई मात्र लोकदोहोरीका कलाकार ठानिने गरेकामा पछि यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपालीको हृदयको ढुकढुकी साबित भएको प्रसङ्ग उल्लेख गरेका छन् । ठाडो भाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायकगायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै नथाक्ने प्रसङ्ग उल्लेख गर्दै डा गुरुङले ठाडो भाका लोकसांस्कृतिक अलौकिक धरोहर, आफ्नै व्याकरण भएको विनयशील, शिष्ट विधा भएर पनि विलयका सङ्घारमा पुगेको भनी चिन्ता व्यक्त गरेका छन् । संस्कृतिविद् जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणका काममा खटिएर जाँदा ठाडो भाकासँग परिचित हुन पाएको र जनस्तरबाट औधि रुचाइएको लोकगीतका रूपमा पाएको उल्लेख गरेका छन् । २५४ पृष्ठको प्रस्तुत अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा छ अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन् । पहिलो अध्यायमा गण्डकी क्षेत्रको परिचयदेखि ठाडो भाकाको उत्पत्ति, विकासक्रममा विशिष्ट योगदान पु¥याएका बौद्धसिं, मोतीलाल, बखतबहादुर गुरुङ, पञ्चसुब्बा, देउबहादुर दुरा, मनिराम दुरा, आफली घर्तिनीदेखि भेडीखर्के साइँला भनिने दीर्घराज अधिकारीसम्मको व्यक्तित्व र उनीहरूले ठाडो भाकामा पु¥याएको योगदानको चर्चा छ । दोस्रो अध्यायमा विभिन्न भेगमा गाइएका फरक शैलीमा ठाडो भाकाको चर्चा छ भने यसको पृष्ठभूमि र परिभाषा केलाइएको छ । तेस्रो अध्यायमा विभिन्न शीर्षकका ठाडो भाका छ, जसमा जनजीवनका अनेक पक्षदेखि सामाजिक कुरीति चिर्न गरिएका प्रयत्न र जीवनका सुखदुःखको लय छ । सो अध्यायमा लेखकले भूकम्प र बाढीपहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, ज्येष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षालगायत विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारिएको छ । चौथो अध्यायमा पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण छ भने पाँचौंँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । यसमा ठाडो भाकाका हस्ती मानिएका देउबहादुर र पञ्चसुब्बा तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण दिन खोजिएको छ । छैटौँ अध्यायमा ठाडो भाका कसरी जगेर्ना गर्न सकिन्छ र यसको महत्त्व के छ भनेर प्रकाश पारिएको छ । चार परिशिष्ट समेटिएको पुस्तकमा पहिलामा ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरिएको छ भने परिशिष्ट–२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनीतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित हलो क्रान्तिसम्मको चर्चा गरिएको छ । परिशिष्ट–३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चसुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ । परिशिष्ट–४ मा केही सुन्दर तस्बिरसमेत समावेश गरिएको छ । लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गर्नुभएको छ भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन् । ठाडो भाकाको लोक सांस्कृतिक इतिहासजस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवद्र्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन् । ठाडो भाकामा अन्तर्निहित भाषिक संरचनादेखि यसले समेटेको ग्रामीण जनजीवनका अनेक विषयवस्तु पनि केलाइएको छ । जे होस् खोजमूलक अनुसन्धान र साधना हेर्दा बिदावारिधि उपाधिका लागि तयार पारेजस्तो देखिने कृतिले नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नामा ठूलै योगदान दिनेमा कसैको भिन्न मत रहने छैन । लेखकले ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन् । लेखक भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य छ । यस कृति चाहिँ लोकसाहित्य र संस्कृतिप्रेमीका लागि पठनीय र सङ्ग्रहणीयसमेत छ । नेपाली लोकगीत र लोकसंस्कृतिका अध्येता लेखकका साँघुटारमा केही रात (नियात्रासङ्ग्रह), पराकाष्ठा (हाइकुसङ्ग्रह), अकर्मण्यता (ताङ्कासङ्ग्रह), परिवेश (कवितासङ्ग्रह), भुन्टे खरायो (बाल–कवितासङ्ग्रह), चट्पटे र पानीपुरी (बाल–कवितासङ्ग्रह) कृति प्रकाशित छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरिएको भनेर चर्चा हुने गरेको छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे । विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँसु कविको क्षमता थियो भन्ने गरिएको छ । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक रूपमा पनि देवकोटा सक्रिय भएका थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई विसं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थियो । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।