धेरै छाेराछाेरी हुने बुबाअामा धेरै धनी हुने, विवाहित छाेरीले पनि अाम्दानीकाे १०% अामाबुबालार्इ दिनैपर्ने
काठमाडौं । जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गर्न प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ/संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । नयाँ व्यवस्था लागू भएसँग धेरै छाेराछाेरी हुने बुबाअामा धनी र सुखी हुने भएका छन् । नयाँ व्यवस्था अनुसार एउटा मात्र छाेरा वा छाेरी हुने बुबाअामाकाे वृद्ध अवस्थामा अाम्दानी कम हुने भएकाे छ । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउछन्। बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुनसकेको छैन । धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा/छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठले नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गरे । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् । त्यति मात्र हाेइन, बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ ।
“नेताजीको भरपर्दो बात छैन, यिनको पनि गतिलो छाँट छैन”
“नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्षको उमेरदेखि सारङ्गी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका दुई छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्न सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटबासीले पैसा र चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो । देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि आफ्नो अवस्था भने चार दशक अघिकै जस्तो भएको बताउँदै शेरबहादुर गन्धर्वले खाने गाँस र बस्ने बासको अभावकै कारण कतिपय गन्धर्वहरू आफ्नो पुख्र्यौली पेशाबाट विस्थापित भई वैकल्पिक पेशा अपनाएको जानकारी दिए । कुनै दिन मुम्बई, गोरखपुर र कोलकाताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासुले बुहारी मारेको अनि फोकल्याण्डको टापुमा लड्दा लड्दै वीरगति प्राप्त गरेका खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज फाट्टफुट्ट देखिन थालेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बार्हमासा, सन्देश, धनसिरी, मल्लार, सरुमैरानी, कलाखलेनी, असारे लगायतका भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू अहिले गरीबीकै कारण पेशा परिवर्तन गर्न बाध्य भएको उनको भनाइ थियो । ‘सारङगीको धुनमा घटनाक्रमहरूलाई सिलसिलेवार कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा सबैको आँखा रसाउँथे’ बगरफाँटका ७४ वर्षीय टेकबहादुर कार्कीले भने, ‘गीत सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।’ सूचना र सञ्चारको पहुँचसँगै ग्रामीण क्षेत्रहरूमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्वहरू हिजोआज विकास निर्माण, जनप्रतिनिधि प्रतिको निराशा र सामाजिक वेथितिका गीतहरू समेत गाउन थालेका छन् । बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गन्धर्वहरू क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वहरूले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरूपलाई पनि परिवर्तन गरेका छन् । धेरै समयपछि बेनपा-२ बगरफाँटमा भेटिएका शेरबहादुरले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोखेका छन् । उनले सारङ्गीको धुनमा जनतामा व्याप्त निराशा र जनप्रतिनिधिहरूप्रतिको अपेक्षाका बारेमा र्याइँर्याइँ सारङ्गी रेट्दै तीतो यथार्थ व्यक्त गरे। गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुराहरूदेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए । सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइल जस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमुलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । रासस
शाकाहारी भोजनले शरीरमा कोलस्ट्रोलको मात्रा घटाई मुटुलाई स्वस्थ राख्दछ
काठमाडौं। मासु खानु र नखानुले शरीरमा खास प्रभाव पार्छ । मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ । यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ । अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । मासु नखाँदा शरीरलाई हुने १० फाईदा यस्ता छन्: १. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो । २. तौल नियन्त्रण हुन्छ मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ । ३. छाला स्वस्थ र सफा हुन्छ शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ । ४. शरीरमा फुर्ति बढ्छ मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ । ५. मुटु रोगको खतरा कम हुन्छ रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ । ६. कोलस्ट्रोल एक तिहाई कम हुन्छ यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ । ७. जीनले राम्ररी काम गर्छ मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ । ८. पोषणको कमी हुन सक्छ मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ । ९. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ । १० . मसल्स बन्न समय लाग्छ मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।