शल्यक्रिया गरेर बच्चा जन्माउनेको संख्या बढ्दै, बाध्यता कि रहर ?

काठमाडौं। सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क थिईन्। महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उनी बताउँछिन्। नौ महिना लाग्नासाथ जाँच गराउन जाँदा एक्कासि बच्चाको धड्कन बढेको भन्दै चिकित्सकले शल्यक्रियाको सुझाव दिए । ढकाल परिवारले अघिल्लो महीनासम्म ‘सामान्य अवस्था छ’ भन्दै अन्तिममा शल्यक्रिया गरेको भन्दै चिकित्सकसँग प्रश्न गरे । चिकित्सकले पहिले आमा र शिशुुुुको अवस्था सामान्य भए पनि एकैपटक समस्या देखिएकाले सामान्य रुपमा सन्तान जन्मन नसकेको बताए । शिशु दुई साता शिशु स्याहार एकाइ (सिसियु) मा उपचार गराएर आमा र सन्तान गत साता घर फकिएका छन् । ढकाल मात्रै होइन काठमाडौँका ठूला अस्पतालमा प्रसूति सेवा लिन पुगेकामध्ये धेरैले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले प्रसूति सेवा लिन आउने कूल महिलामध्ये १५ प्रतिशतको मात्रै शल्यक्रिया हुने मापदण्ड तय गरेको छ । अस्पतालले गर्भवती र उनको परिवारले नै शल्यक्रियामार्फत सन्तानलाई जन्म दिन चाहेको बताउने गरेको छ । महिला भने चिकित्सकले शल्यक्रिया नगरी हुँदैन भनेकाले आफू बाध्य भएको बताउँछन् । भक्तपुरकी कमला नेपालले पनि पाँच महिना पहिले शल्यक्रियाबाट नै सन्तानलाई जन्म दिईन्। पाटन अस्पतालमा नै झण्डै दुई दिनसम्मको प्रसव पीडापछि चिकित्सकले सन्तानलाई असर पर्ने भन्दै शल्यक्रियाको सुझाव दिएको उनले बताईन्। पहिले शल्यक्रियाका लागि तयार नभए पनि सन्तानलाई नकारात्मक असर पर्छ भनेपछि बाध्य भएको उनले बताईन्। सरिता र कमला जस्तै धेरै महिला रहर वा बाध्यताले गर्दा शल्यक्रियामार्फत सन्तानलाई जन्म दिइरहेका छन् । प्रसूति सेवामा एक दशक पहिलेसम्म आक्कलझुक्कल मात्रै शल्यक्रिया हुनेमा अहिले यो क्रम ह्वात्तै बढेको छ । महिला अस्पतालले शल्यक्रिया नै गर्नुपर्ने अवस्था देखाएको बताउँछन् । अस्पतालले भने महिला आफैँ शल्यक्रियाबाटै सन्तानलाई जन्म दिने सोचेरै आउने बताउँछन् । पाटन अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा पवनकुमार शर्माले अधिकांश बिरामीको चाहनाका कारण प्रसूति सेवामा शल्यक्रिया बढेको बताए। समाज परिवर्तन हुँदै जाँदा एकातिर देखासिकी गरेर शल्यक्रिया गर्ने बढेका छन् भने अर्कातिर पीडा नै सहन नचाहने महिला धेरै रहेको उनको अनुभव छ । उनले भने, “ज्योतिषी देखाएर फलानो दिन र फलानो चिकित्सकसँग नै शल्यक्रिया गराउँछु भन्नेको समेत सङ्ख्या दिनानुदिन बढ्दैछ ।” पाटन अस्पतालमा धेरै जिल्लाका साना स्वास्थ्य संस्थाबाट सिफारिस भएर आएका बिरामीको चाप धेरै भएको स्त्रीरोग विशेषज्ञ डा शर्माले बताए। देशभरका विभिन्न जिल्लाबाट जटिलखालका समस्या सिफारिस भएर आउने हुँदा ठूला अस्पतालमा शल्यक्रियाको दर बढी भएको उनले बताए। बिरामीको उपचारका क्रममा केही समस्या देखिएमा वा बिरामीका आफन्त उपचार सेवामा सन्तुष्ट हुन नसक्दा अस्पताल र चिकित्सकलाई आक्रमण गर्ने हुनाले पनि चिकित्सक जोखिम लिन डराउने उनले बताए। कानूनी व्यवस्थाका कारण पनि चिकित्सकले जोखिम लिनुभन्दा शल्यक्रिया चाँडो गर्ने गरेको उहाँले औँलाए। उनले भने, “कानूनी व्यवस्थाले चिकित्सकलाई असुरक्षित गरेकाले पनि उनीहरु जोखिम लिन चाहँदैनन् ।” सन्तानलाई जन्म दिँदा सामान्य भन्दा शल्यक्रिया गराउने क्रम बढिरहे पनि यो राम्रो नभएको अस्पतालले बताएको छ । शल्यक्रियामार्फत सन्तानलाई जन्म दिँदा त्यसले महिलालाई दीर्घकालीन रुपमा धेरैखालका नकारात्मक असर गर्ने डा शर्माले बताए। घाउ पाक्ने वा दुख्ने हुन सक्ने भन्दै धेरै दिनसम्म बिरामीलाई अस्पतालले त्यही राखेर उपचार गर्ने गरेको अस्पतालले बताएको छ । सामान्य रुपमा सन्तान जन्माएकी महिला त्यही दिन वा भोलिपल्ट घर फर्कने भए पनि शल्यक्रियाका बिरामीलाई हेरचाहका लागि एक सातासम्म अस्पतालमा राख्नुपर्ने उनले बताए। दीर्घकालीन रुपमा पनि एक पटक लागेको घाउ पूरै निको हुन गाह्रो हुने उनले बताए। उनले भने, “त्यसैले पनि हामी शल्यक्रिया गरिदिनु भन्दै आउने बिरामीलाई नगरी नहुने अवस्थामा बाहेक नगर्न भन्ने गरेका छौँ ।” पाटन अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मा एकाथरी महिलामा सन्तान गर्भमा आएदेखि नै शल्यक्रियाको योजना बनाउने गरेको बताए। शल्यक्रिया गर्न पाउनु आफ्नो अधिकार हो भन्दै धेरै महिला अस्पताल पुग्ने गरेका छन् । उनले भने, “आममहिलालाई शल्यक्रियाका कारण शरीरमा हुने नकारात्मक असर बुझाउन खाँचो छ ।” पाटन अस्पतालको केही वर्षदेखिको तथ्याङ्कले प्रसूति सेवामा सामान्यभन्दा शल्यक्रिया बढि देखाएको छ । रासस

 वैदेशिक रोजगारीले थप्दैछ परिवारमा बिचल्ली

काठमाडौं । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । परिवारको सुखद भविष्यको आशामा पाल्पाको रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगेका थिए । उनी दुई छोरी र श्रीमतीको लालनपालन तथा साहुको ऋण तिर्न विदेशिएका थिए । उनले सोचेजस्तो भैदिएन वैदेशिक रोजगारी । कुमालको गएको असार १३ गते मलेशियामा निधन भयो । श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने श्रीमती जमुनाको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जमुनाको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो । लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले ३५ वर्षीया जमुनालाई ‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पुर्याइदियो । जमुनाकी दुई छोरी छन् । पन्ध्र वर्षकी जेठी छोरी कक्षा १० मा र चौध वर्षकी कान्छी छोरी कक्षा ८ मा पढ्छन् । दुई छोरी अहिले काकासँग बस्छन् । जमुना दिनभर मजदूरी गर्छिन् । सानो झुप्रोमा उनले अहिले एक्लो र निरस जीवन व्यतित गर्दै आएकी छन् । दाजुको वैदेशिक रोजगारीमा अचानक निधन भएपछि दुई छोरीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेको डोलराजका साहिँला भाइ कृष्णले बताए । जमुना आजभन्दा १८ वर्ष अघि डोलराजसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । दिनहुँ साहुको नमिठो वचन र चर्को ब्याजको पीडा सहन नसके पछि बाध्य भएर डोलराज विदेश पुगे । उनी विदेश पुगेपछि घरपरिवारमा खुशियाली छाएको थियो तर, त्यो खुशी चिरकालसम्म टिक्न सकेन । तीन वर्षसम्म विदेश बसेर कमाएको रकमले घरायसी खर्च र विदेश जाँदा लिएको ऋण चुक्ता गर्न नसकेपछि उनले ऋण तिर्न पुग्दो कमाएर मात्रै घर फिर्छु भनेर परिवारसँग वाचा गरेका थिए । श्रीमानको मृत्यु हुनु दुई महिना अघि फोनमा अन्तिम पटक कुरा भएको जमुना सम्झिन्छिन् । जमुनाले भनिन् – “म सधैं घरायसी काममा अल्मलिएको हुन्थे । श्रीमान् वैदेशिक रोजगारीमा व्यस्त थिए । श्रीमानसँग नि धेरै कुरा फोनमा हुन्नथ्यो । हामी दुबैलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र भइरहन्थ्यो ।” मिलनसार स्वभावका छोरा डोलराजले आफूप्रति दर्शाउने गरेको मायालाई सम्झँदै बिलौना गर्छिन् ७० वर्षीय आमा गनि कुमाल । उनले भनिन् – “छोरासँग फोनमा कुरा गर्दा घर आउ भन्थें । उनी साहुको ऋण तिर्न सकेको छैन आमा, सबै ऋण तिर्न सक्ने भएपछि मात्र घर आउँछु भन्थे । राम्रो सँग बस्नू, बिरामी परे औषधिमूलो गर्नू भनेर सम्झाउँथे ।” डोलराजका बुबा काला कुमाल ८२ वर्षको भए । उनी आफ्नो घरमा आउने जो कोहीसँग पनि छोरो गुमेकामा खिन्नता प्रकट गर्छन् । डोलराजको आकस्मिक मृत्युले कुमाल परिवार र आफन्तजनलाई नपुर्ने घाउ बनाइदियो । त्यस्तै, चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनको परिवार बिचल्लीमा छ । आठ महिना अघि वैदेशिक रोजगारीका लागि उनी कतारमा पुगेका थिए । गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा गैरे भेटिएका थिए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेका कारण दुई महिनापछि मात्र उनको शव नेपाल भित्रियो । गत पुस २ गते मात्रै उनको साँखरस्थित कालीगण्डकीको किनारमा दाहसंस्कार हुनसक्यो । साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका रामपुर नगरपालिका–५ सुन्दरटोलका चन्द्रबहादुर परियार अब सदाका लागि अर्काको सहारामा जीवन बिताउन बाध्य भएका छन् । ऋण खोजेर साउदी पुगेको सात दिनमै उनी तीन तला माथिबाट खस्न पुगे । परिवारलाई सहारा दिन भनी विदेश हिँडेका उनी जीवनभर अर्काकै सहारामा बाँच्नु पर्ने बाध्यता आइलाग्यो । आश बोकी विदेशी भूमि जानेहरुमा कतिपय लास बनी आउँछन् । केहीको सुदिन फिर्छन् भने केहीले पाउनु दुःख पाउँछन् । चन्द्रबहादुरलाई पनि दुःखको पहाड आइलाग्यो । उनलाई अब जीवनभर अर्काको साहानमा बाँच्नुको विकल्प छैन । एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहज रुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुगेका चन्द्रबहादुर गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि अपाङ्ग भए । आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा त्यो भन्दा दोब्बर पीडा उनलाई अब उपचार कसरी गर्ने भन्ने छ । ‘जिन्दगी खरानी भयो हे बरै बग्यो नि तिरैतिर, जानेलाई हाइसुक्खै भयो हे बरै बाँच्नेलाई पिरैपिर’ भनै झै हालतमा छन् वैदेशिक रोजगारीमा जाने धेरैको । थुप्रैको परिवार उजाडिएको छ । विदेशी भूमिमै पनि लाखौँ नेपाली तड्पिएर बाँचिरहेका छन् । तैपनि राहदानी बनाउने र विमानस्थलमा वैदेशिक रोजगारीका निम्ति लामबद्ध भएर बस्ने युवाको सङ्ख्या दिनहुँ बढिरहेको छ । रासस

कामना सेवा विकास बैंकद्वारा कुष्ठ रोगका बिरामीलाई ह्विल चियर प्रदान

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक समाराेहमा अस्पतालका संचालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट डा ब्रुस हयेज, प्रशासकअधिकृत युवराज आचार्य साथै बैंकका संचालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गरेका छन् । हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताए । बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।