ट्रामाडोल औषधी बिक्रीवितरण बन्द, दुरुपयोग भएको औषधी व्यवस्था विभागको ठहर
काठमाडौं । व्यापक दुरुपयोग बढेको भन्दै सरकारले ट्रामडोल एकल वा समिश्रित औषधी बिक्री वितरणमा रोक लगाएको छ । केही मुलुकमा नियन्त्रित भइसकेको र नेपालमा यसको दुरुपयोग बढदै गएको ठहर गर्दै औषधी व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो । विभागले बजार अनुगमन गर्दा सो औषधीको व्यापक दुरुपयोग भएको ठहर गरेको छ । औषधी सल्लाहकार समितिको बैठकले ती वनावटका औषधी सीमित स्थानबाट मात्र बिक्री वितरण गराउने र सोको प्रभावकारी नियमनको निर्णय गरेको विभागले जनाएको छ । चिकित्सकको प्रेस्किृप्सन आधारमा र रेकर्ड राखेर बिक्री वितरण गर्न विभागले निर्देशन समेत दिएको छ । यस्तै औषधीपसल र अस्पतामा बिक्री हुन बाँकी रहेको औषधी फिर्ता गराउन विभागले भनेको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा १० प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहकग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । हाल मुक्तिनाथ विकास बैंकले ९५वटा शाखा र १७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
मुनाल सहकारी र पोखरा हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता
काठमाडौं । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र पोखरा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक बासुदेव कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि सहकारीका कर्मचारीले पोखरा अस्पतालबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन । यस अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स्रे, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत सेवा प्रदान गरिरहेको छ । यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र परिवार लाभान्वित हुने मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताएका छन् ।