कोरोना भाइरसबाट पैसालाई कसरी संक्रमणरहित बनाउने ? डा. रवीन्द्र पाण्डेकाे धारणा यस्ताे छ

काठमाडाैं । हामीले दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा फोहोर हुन्छ | एउटा नोटमा सयौं किसिमका ब्याक्टेरिया, फंगस तथा भाइरस हुन्छन | पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकोले पैसा बिभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन । नोटभन्दा क्वाइनमा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा २ दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । रुघा लागेको व्यक्तिको म्युकस, मयल, ठाउँ अनुसारको फोहोर नोटमा लामो समयसम्म रहन्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहन सक्ने बताएको छ। क्यासको बिकल्पको रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ | कार्ड पनि संक्रमित हुनसक्छ । ओंलाइन कारोबार भने सुरक्षित मानिन्छ ।  – चीनमा कोरोना संक्रमण सुरु भएदेखि पुराना नोट नष्ट गरिंदै आएको छ | टर्कीमा पैसालाई संक्रमणरहित बनाउने मेसिनको प्रयोग गरिएको छ । त्यस्तै कोरियामा नोटलाई १५० डिग्री सेल्सियसको तापक्रम दिएर मात्र बजारमा पठाइन्छ भने हंगेरीमा नोटलाई १४ दिन क्वारेन्टाइनमा राखेर तथा १७० डिग्री से तापक्रम दिएर बजारमा पठाइन्छ | यसको लागि अल्ट्राभ्वाइलेट रे को प्रयोग गरिन्छ । त्यस्तै कुवेतमा पैसालाई ४ हप्ता क्वारेन्टाइनमा राखिन्छ भने अमेरिकाले पनि संक्रमित ठाउँबाट ल्याएको पैसालाई क्वारेन्टाइनमा राख्दछ । – अध्ययनले बताएको छ, १० % कोरोना भाइरस ४ घण्टासम्म मात्र नोटमा रहन्छ | जसलाई रातभर सुख्खा ठाउँमा राख्ने हो भने वा २ घण्टा घाममा राख्ने हो भने सामान्यतया संक्रमणरहित हुन्छ | केहि देशमा नोटलाई सर्फ पानीमा भिजाएर घाममा सुकाउने गरिएको पाइन्छ भने किटाणु मार्नको लागि नोटमा आइरन गर्ने पनि अभ्यास रहेको छ । –  क्वाइनलाई स्प्रिट वा स्यानिटाइजरले सफा गरेर घाममा सुकाएर सुरक्षित गरिन्छ | हाम्रो परिप्रेक्ष्यमा ग्लोभ लगाएर मात्र पैसाको कारोबार गर्ने, पैसालाई भान्सा, बैठक वा सुत्ने ठाउँमा नराख्ने, प्रयोग भएको पैसालाई सुख्खा ठाउँमा फिजारेर राख्ने तथा सामान किन्दा खुद्रा मिलाएर दिने ( पैसा फिर्ता लिनु नपर्ने गरि ) गर्नु उपयुक्त हुन्छ । –  यी जति उपाय गरेपनि सबैभन्दा प्रभावकारी उपाय भनेको हात धुने नै हो | पैसा छोएपछि हातले नाक, मुख तथा आँखामा नछुने एबम साबुनपानीले मिचिमिची हात धुने नै हो | जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेकाे फेसबुकबाट साभार गरिएकाे । 

सरकारकाे कोरोना कोषमा सहयाेग गर्ने बढे, हालसम्म करिब २ अर्ब रुपैयाँ जम्मा

काठमाडौं। सरकारले कोरोना कोषमा सहयाेग गर्नेकाे संख्या बढ्दै गएकाे छ । काेराेना राेकथाम तथा न्युनिकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाले सरकारलाई सहयाेग गरेसँगै काेष पनि बढ्दै गएकाे हाे । हाल सम्म काेषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबार साँझसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताइएकाे छ। बुधबार मात्रै दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको बताइएको हाे । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालमा हालसम्म ९ जनामा काेराेना भाइरस देखिएकाे छ । जसमा एकजनालाइ निकाे भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् । सरकारले पछिल्लाे समय काेराेना परीक्षणकाे दायरा पनि बढाएकाे छ ।

नेपालमा कोरोनाः ८ उपचाररत, १७५ रेड जोनमा, १२२ आइसोलेसनमा, ८ हजार ५८० क्वारेन्टाइनमा

काठमाडौं । सरकारले कोेरोना भाइरस ( कोभिड–१९) को उपचार तथा जोखमि न्युनिकरणका लागि प्रभावकारी काम गरेको बताएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित ब्रिफिङमा सरकारले कोरोनाको जोखिम न्युनिकरणका लागि महत्वपूर्ण कार्य गरिरहेको बताएका छन् । हाल ८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार विश्वस्वास्थ्य संगठनको मापदण्डमा रही गरिरहेको बताए । हालसम्म नेपालमा ९ जना काेराेना संक्रमित भएका छन् जसमा एक जना निकाे भएर घर फर्किसके पछि ८ जना मात्र उपचाररत छन् । उनले अहिले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । हालसम्म नेपालमा कोरोनाको आशंकामा १ सय २२ आइसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै, उनले अहिलेसम्म कोरोनाको उच्च आशंका तथा आजसम्म १ सय ७५ जना रेड जोनमा रहेको ताए । सरकारले कोरोनाको जोखिम कमगर्न तथा सर्वसाधारणलाई सरकराको दायरामा ल्याउनका लागि दुई कलसेन्टर स्थापना गरेको उनको भनाइ छ । त्यसबाट हालसम्म कुल ३ हजार ३ सय ६ जनाको कल सम्बोधन भएको उनको भनाइ छ । एप र वेबसाइटमा इन्ट्रि भएका जिज्ञासालाई पनि सरकारले सम्बोधन गर्दै आएको उनले बताए । कोरोनाको न्युनिकरण तथा जोखिम कम गर्नको लागि सरकारले पीपीईको लागि कार्यविधि र शंकास्वदको व्यक्तिको उपचारको कार्यविधि बनिरहेको उनको भनाइ छ । यस्तै, कोरोना भाइरसको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको बताए । उनले काठमाडौ बाहिर चार सय एक जनाको नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए । “बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १ सय ३४ जना उपचाररत रहेका छन् । उनले हिजो बेलुकासम्म कैलाली र कञ्चनपुरमा १ सय ९८ जनाको ¥यापिट टेस्टकिट र पीसीआर मेसिनबाट गरिने स्वाब संकलन गरिएको बताए ।