काेराेनाकाे कारण नेपालमा थप ३ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोनिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए । यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षिय भारतीय नागरिकको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १० गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका बिरामी थिए । यस्तै धनुषा सहिदनगर ८ का ३६ वर्षिय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरु र खोकीसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसियुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।  

काठमाडाैं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ र ललितपुरकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय २१ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८७, ललितपुरकाे ८५ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

नेपालमा थप १ सय ३९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १६ हजार ३ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६२६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।