बागलुङको निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित

बागलुङ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट दुई करोड बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ’ चन्दले भने । रासस  

हिमाल अस्पतालमा पीडित पक्षको धर्ना, आकस्मिकबाहेकका सबै सेवा प्रभावित

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धनाई दिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो । मोरङका गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाही गरेका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक डाक्टर जयदेव यादवसँग मंगलवार (हिजो) पत्रकार सम्मेलन गरी उचित क्षतिपूर्तिको माग गरेका थिए । आज पीडित पक्षले सो अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिइरहेका छन् भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन् । उनीहरुले ‘मान्छे मार्न पाइदैन्’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन्’ भन्नेजस्ता चर्का नाराबाजी लगाउँदै सो अस्पतालको मुख्यगेटमासमेत ताला लगाइदिएका छन् । पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरुको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । गत माघ २३ गते सामान्य रुघाखोकी र ज्वरो आएकी बालिका प्रशंशालाई उनका बुबा गंगा गौतमले उपचारका लागि सो अस्पताल पुर्‍याएका थिए । तर सो अस्पतालमा कार्यरत चिकित्सक यादवले कुनै परीक्षण नगराई औषधि दिएको र विरामी शिथिल भएपछि कान्ति बाल अस्पतालमा रिफर गर्दा पनि सो लेटरमा चिकित्सकको हस्ताक्षर समेत नगरेर लापरबाही गरेकाले उनको ज्यान गएको पीडित पक्षको आरोप छ । पीडित गौतमले चिकित्सक यादवको लाईसेन्स खारेज गर्न र आफूहरुलाई उचित क्षतिपूति दिलाउन माग गर्दै गत फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन्। त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको पीडित गौतमले बताएका छन्। प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित पक्षले सो अस्पताल परिसरमै धर्ना दिन सुरु गरेका हुन्। गौतमले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताए ।  

बिरामी सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौं, फागुन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति त्यसतर्फ गएका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन्। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन् ।