वार्षिकोत्सवमा नर्भिकले एकसाता सबै स्वास्थ्य प्याकेजमा छुट दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ । यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौं भित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।
कोरोना बढ्यो : समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव
काठमाडाैं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । ‘नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको छ, जसमा आधाभन्दा धेरै नयाँ प्रजातीको रहेका छन्, नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको छ,’ उनले भने । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको जानकारी दिए । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ । डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।
नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने
काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त गर्ने नेपालको पहिलो अस्पताल बनेको नर्भिक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको अस्पतालले दाबी गरेको छ । क्याथेटराइजेशन ल्याब स्थापना गर्ने नेपालको पहिलो निजी अस्पताल नर्भिक सुरक्षित स्वास्थ्य सेवाका लागि फोहोर व्यवस्थापन प्रणाली लागु गर्नेमा पनि पहिलो निजी अस्पताल बनेको अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताएका छन् । ३० वर्ष अगाडि ३० वटा बेडबाट स्वास्थ्य सेवा प्रारम्भ गरेको अस्पतालले अहिले क्यान्सरको रेडियोलोजी बाहेक सम्पूर्ण उपचार सेवा सञ्चालन गरिरहेको उनले बताए । केही समयदेखि अस्पतालले मृगौला प्रत्यारोपण सेवा पनि प्रारम्भ गरेको छ । अस्प्तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अहिलेसम्म अस्पतालले ५ जना बिमारीमा सफल मृगौला प्रत्यारोपण गरिसकेको छ । ३० वर्षको अवधिमा अस्पतालले झण्डै ३० लाख बिमारीहरुलाई उपचार सेवा प्रदान गरेको, जसमा ८० प्रतिशत पुराना बिमारीहरु र २० प्रतिशत नयाँ बिमारी थपिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बताए । उनका अनुसार अस्पतालले निर्माण गरिरहेको नयाँ आधुनिक भवनको काम सम्पन्न भएपछि नर्भिकले एफपिओ समेत जारी गर्ने तयारी गरको छ । ३० औं वर्षमा प्रवेशसँगै नर्भिकले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरेर स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुटको कार्यक्रम ल्याएको छ । जसमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट हुने अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार अस्पतालले सो प्याकेजमा लेजर र हाइड्रा, आइभिएफ र म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट ल्याएको छ । अस्पतालले पत्रकारहरुको लागि पनि लक्षित गरेर एक वर्षे प्याकेज ल्याउने तयारी गरेको अध्यक्ष सिंहले बताए ।