पर्वत अस्पतालमा ज्वरोका बिरामीका चाप बढ्यो

पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए । ‘पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ’, उनले भने । दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन । अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन् । ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ । मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछन् । जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ । पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो । जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको भनाइ छ । पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढेको बताइएको छ । रासस

कोरोना संक्रमित एकको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु ) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि। १।१६ देखा परेको छ ।

नवलपरासीमा ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

नवलपरासी । सङ्घीय सरकारको लागतमा नवलपरासीको बर्दघाट(सुस्ता पश्चिम बर्दघाटमा निर्माण हुने भनिएको ट्रमा सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ । अघिल्लो आर्थिक वर्षमा जग्गा प्राप्ति हुन नसकेपछि ट्रमा सेन्टर निर्माणका लागि आएको १० करोड रुपैयाँको बजेट फ्रिज भएको थियो । बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । जग्गा प्राप्तिका लागि गत माघ १७ मा सहरी विकास मन्त्रालयका उपसचिवको संयोजकत्वमा मन्त्रालयका उपसचिव, राष्ट्रिय आवास कम्पनीका प्रतिनिधि, सहरी विकास भवन शाखा चितवनका प्रमुख, परासी मालपोतका अधिकृत र बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनअनुसार थप प्रक्रिया अघि बढ्ने सबैलाई पायक पर्ने गरी चिसापानीमै ट्रमा सेन्टर निर्माण होस् भन्ने उद्देश्यले सम्बन्धित मन्त्रालय र निकायहरूमा पहल भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । बहुवर्षीय योजनाअन्तर्गत कूल ३३ करोड लागतमा बन्ने ट्रमा सेन्टरका लागि हाललाई चार करोड रकम योजनामा रहेको नगरले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा अत्यधिक दुर्घटना हुने र घाइतेहरुले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको छ । सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिकहरू भैरहवा, बुटवल र भरतपुर जाने अवस्था छ । रासस