सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् । ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् । मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ । पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ । विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका. बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।

आयुर्वेद चिकित्सालयमा बढ्दै बिरामीको सङ्ख्या, २३ प्रकारका औषधी निःशुल्क पाइने

देउखुरी । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिइन् । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आएका उनले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताइन् । उनका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आएका थिए । ‘यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ’,  उनले भने, ‘हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो’ । चिकित्सालय परिसरमै भेटिएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताए । ‘२५ रुपैँयामा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनुभएको थियो र आएको हुँ,’ उनले भने । २३ प्रकारका औषधी निःशुल्क पाएको र सस्तो भएको उनले बताए । चिकित्सालयमा अन्तरंग, बहिरङग, कायाचिकित्सा, स्त्री/प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिए । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उनले बताए ।| विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताए ।  चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उनले बताए । चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भने, ‘अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।’ उनका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उनले बताए । अझैपनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडि र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताए । यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उनको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रुपमा विकास गरिएको हो । चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनी यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ हजार चार सय २१, आव २०७८/७९ मा ५० हजार ९६ र आव २०७९/८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०/८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ । रासस

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । ‘नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौं,’ उनले भने, ‘उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उनको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गरे । नेपालगन्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको नगरप्रमुख बिष्टले बताए । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरूलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उनले अनुरोध गरे । डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख विष्टले बताए ।