निजगढमा सामूदायिक आँखा अस्पताल सेवा सञ्चालनमा

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढमा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको बुधबार उद्घाटन गरी सेवा सुचारु गरिएको छ । यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ । उद्घाटन पश्चात मुख्यमन्त्री सतिश कुमार सिंहले भने , ‘यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ ।’ निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले भने, ‘राम्रो आँखा उपचार भन्नासाथ तिलगंगा भनेर सम्झिथ्यौ जसको लागि काठमाडौं कि हेटौडा जानुपथ्र्यो तर अहिले तिलगंगा हाम्रै आगँनमा आएको छ । हामी निजगढवासी र वरिपरिका क्षेत्रका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी हो । यसको लागि हामी सम्पूर्णको तर्फबाट ह्रदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’ तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा।डा।सन्दुक रुइटले भने, ‘यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ ।’ द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भने, ‘यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ ।’ वर्तमानमा, नेपालमा करिव ९३,३०० जना दृष्टिविहिन छन् र करिव ७,८२,७०० जनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ तथापि, ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ । प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी, र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिनेछ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६।८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ । आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित २ लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ । विशार्टले थपे ‘फाउन्डेशनले तिलगंगा आँखा प्रतिष्ठानसँगको साझेदारीमा नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा गर्व महसुस गर्दछ ।’ नेपालमा महिलाहरू पुरुषहरूको तुलनामा दुइ तिहाई बढी दृष्टिविहिन वा दृष्टिको समस्यामा छन् । यस अस्पतालले बाह्य कार्यक्रम मार्फत विशेष प्राथमिकताका साथ आँखा स्वास्थ्यको पहुँच सम्बन्धि विद्यमान लैगिंक असमानता समाधान गर्ने दिशामा महत्वपूर्ण कदम चाल्नेछ । स्वास्थ्य क्षेत्रले विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनमा अनुमानित ४–५ प्रतिशत अंश रहेको देखिन्छ, त्यसैले यो अस्पतालले नवीकरणीय ऊर्जा प्रयोग गरि सौर्य उर्जाको उपयोग र प्रभावकारी वातावरण अनुकुल प्रणालीहरू प्रयोगमा ल्याउने छ ।

चिसो मौसममा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् टिप्स

काठमाडौं । हिउँदयाम सुरु भएसँगै चिसो बढ्न थालेको छ । चिसो मौसममा छाला सुख्खा हुने, छाला फुट्ने, ओठ फुट्ने, छालामा दाग र कहिले काहीँ सुन्निने जस्ता समस्या देखिने गर्छन् । यस्तो अवस्थामा कसरी छाला सुरक्षित राख्ने भन्ने चिन्ता धेरैलाई हुन्छ । के थाहा छ हामीले घरमैआफ्नो छालाको हेरचाह गर्न सक्छौँ । तपाईं हाम्रो भान्सामा यस्ता धेरै चीजहरू छन्, जुन जाडोमा छालाको लागि वरदान भन्दा कम छैन । आउनुहोस् आज हामी यो विषय जानकारी राखौँ । हल्का चिसो मौसम धेरै रमाइलो लाग्छ । तर, मौसममा हुने कुनै पनि परिवर्तनले तपाईंको स्वास्थ्य र अनुहारको सौन्दर्यमा गहिरो प्रभाव पार्छ। जाडोको सुरुवात चिसो हावाबाट हुन्छ, जसले छालालाई हानी पुर्याउँछ । यो मौसममा सुख्खापन, छाला फुट्ने, ओठ फुट्ने, छालामा दाग र कहिलेकाहीँ सुन्निने जस्ता समस्या देखिन थाल्छ । यस्तो अवस्थामा यो सिजनको सुरुमै आफ्नो छालाको हेरचाह गर्न सुरु गर्नु जरुरी छ । चिसो मौसममा छालालाई स्वस्थ्य र सुन्दर राख्न शुद्ध घ्यू राम्रो मानिन्छ । शुद्ध घ्यू शुद्ध घ्यूले खानेकुराको स्वाद मात्र बढाउँदैन, यो छालाको लागि वरदान भन्दा कम छैन । घ्यू स्वस्थ फ्याट र धेरै भिटामिनहरूको समृद्ध स्रोत हो, जसले छालालाई टाइट राख्छ र यसलाई पोषण दिन्छ । घिउमा छालालाई सुख्खापनबाट बचाउनुका साथै यसलाई चम्किलो र नरम बनाउने गुण पनि हुन्छ । भान्साकोठामा राखिएको घिउ खानामा मात्र नभई छालामा लगाउन पनि प्रयोग गर्न सक्नुहुन्छ । देसी घिउले अनुहारमा मालिस गर्दा छालाको रक्तसञ्चार पनि राम्रो हुन्छ । काचो दूध काचो दूध फ्याट र प्रोटिनले भरिपूर्ण हुने भएकाले सुख्खा छाला भएका मानिसहरुका लागि धेरै राम्रो हुन्छ । यसका लागि काँचो दूधमा कपास भिजाएर त्यसले अनुहारको मसाज गर्नुपर्छ । यसमा ल्याक्टिक एसिड पनि हुन्छ जसले छालाको दाग र दागलाई हल्का बनाउँछ । मह मह खाएर मात्र नभई छालामा पनि लगाउन सकिन्छ । मह लगाउनाले अनुहारमा चमक मात्र नभई छालालाई नरम र चम्किलो बनाउँछ । मह लगाउनाले छालाको घाउ, दाग र पिम्पल स्वतः निको हुन थाल्छ । तर यसको मतलब अनुहारमा मह धेरै प्रयोग गर्नुपर्छ भन्ने होइन । फेसप्याक वा यस्तै प्रकारको प्रयोग गरी अनुहारमा मह लगाउन सकिन्छ । यो लगाएको आधा घण्टापछि पानीले अनुहार सफा गरेर नरिवलको तेल लगाउन सकिन्छ । यसो गर्नाले छाला निकै चम्किलो बन्छ । नरिवलको तेल नरिवलको तेल शताब्दीयौंदेखि कपाल र अनुहारको सौन्दर्य बढाउन प्रयोग हुँदै आएको छ । यसले तपाईंको छालामा प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्छ । यसले छालालाई सुख्खापनबाट बचाउँछ र कोलाजेनलाई पनि बढाउँछ, जसले छालालाई कडा बनाउँछ। नरिवलको तेललाई सीधै छालामा पनि लगाउन सकिन्छ भने,त्यसमा गुलाबजल र एलोभेरा जेल मिसाएर अनुहारमा लगाउन सकिन्छ ।

कान्ति बाल अस्पताललाई काठमाडौं महानगरले गर्‍यो साढे ५ करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पंकज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए । उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।