जति व्यस्त भएपनि दिनमा ४० मिनेट स्वास्थ्यका लागि छुट्याऔं : स्पोर्ट्स इन्जुरी सर्जन मानन्धर

आजभोलि नेपालमा स्पोर्टस् इन्जुरीको समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या बढ्दै जान थालेको छ । विभिन्न खेल खेल्दा , दौडिदा,  उफ्रिँदा वा कडा खालको शारीरिक व्यायाम गर्दा स्पोर्ट्स इन्जुरीको समस्या हुने गर्छ । शरीरका विभिन्न जोर्नी, टाउको, घाँटी छालामा इन्जुरी हुने गर्छ । नेपालमा यसको अवस्था, उपचार र यो विषयमा नागरिक कति सचेत छन् ? लगायतका विषयमा वरिष्ठ अर्थोपेडिक, आर्थोस्कोपीक तथा स्पोर्टस इन्जुरी सर्जन प्रा.डा. राजीव राज  मानन्धरसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको  सम्पादित अंश: स्पोर्टस् इन्जुरी भनेको के हो ? स्पोर्टस् इन्जुरी भन्नेबित्तिकै धेरैलाई प्रोफेसनल कुनै पनि खेल खेल्दा लाग्ने चोट भन्ने बुझिन्छ । तर खेल खेल्दामात्र होइन,  हामीले दौडिँदा, उफ्रँदा, खेल्दा वा कुनै शारीरिक व्यायाम गर्दा पनि स्पोर्टस् इन्जुरी हुन्छ । विशेष गरी स्पोर्ट्स इन्जुरी कन्ट्याक स्पोर्ट्स र नन्कन्ट्याक स्पोर्ट्स भनेर छुट्याउन मिल्छ । स्पोर्टस् इन्जुरी कन्ट्याक स्पोर्ट्समा धेरै देखिन्छ । जस्तै फुटबल भयो । अर्को रेस्लिङ- यसमा  पनि इन्जुरी हुने सम्भावना बढी हुन्छ । अर्को नन्कन्ट्याक स्पोर्ट्स जस्तो क्रिकेट, टेनिस, टेबल टेनिस, ब्याडमिन्टन, गल्फ, पौडी,  जिम्न्यास्टिक, प्रिन्टिङ, दौड, ट्र्याक एण्ड फिल्ड, साइकल दौड, आर्चरी, फ्रिस्टाइलमा  इन्जुरी नहुने होइन, तर कम हुन्छ ।  भनेपछि खेलाडीलाई मात्र नभई सामान्य मानिसलाई शारीरिक व्यायाम गर्दा हुने इन्जुरी पनि स्पोर्ट्स इन्जुरी हो भन्न मिल्यो त ? हो ।  सामान्यतया सर्वसाधारणलाई यो इन्जुरी हुँदैन । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई मात्र इन्जुरी हुन्छ भन्ने बुझाइ गलत हो । अझ यसको जोखिममा खेलाडीभन्दा ननखेलाडीहरू धेरै पर्ने गरेका छन् ।  नेपालमा यसको अवस्था कस्तो छ ? म यो क्षेत्रमा काम गर्न थालेको १८ वर्ष भयो । यो अवधिलाई हेर्ने हो भने आजभोलि स्पोर्ट्स इन्जुरीका बिरामीको सङ्ख्या बढेको छ । यसको पछाडिको कारण भनेको साधारण मान्छे पनि अहिले फिटनेसमा लागेको पाइन्छ । बिहान बाहिर निस्कने हो भने मर्निङ वाक गर्नेहरूको भीड देख्न सकिन्छ । जिम जानेहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ भने मान्छेले घरमै पनि मेसिनहरू ल्याएर व्यायाम गर्न सुरु गरेका छन् । यसमा सर्वसाधारणको रुचि बढेसँगै इन्जुरीका बिरामीको संख्या पनि बढेको छ । अहिले दैनिक ओपीडीमा आउने ३० देखि ४० प्रतिशत  यो समस्या लिएर पुग्नुहुन्छ ।  खेलाडी अथवा सर्वसाधारण यो समस्या लिएर अस्पताल बढी को आउनुहुन्छ ? खेलाडीमा पनि यो समस्या धेरै हुन्छ । तर कुरा के छ भने उनीहरूलाई यो विषयमा प्रशिक्षित गराइएको हुन्छ । कसैले कुनै खेल खेल्दा यो विषयमा पढ्नुभएको छ, कसैले तालिम लिएर खेल्नुभएको छ भने उहाँहरू सुरक्षित हुनुहुन्छ । तर, साधारण व्यक्ति कसैले हप्ताभर मेचमा बसेर काम गरेको छ, यताउति हिँड्न पाएको हुँदैन । उसले एक दिन बिदाको समयमा हप्तैभरि बसेको निकाल्नु पर्‍यो भनेर बिहानै घरबाट निस्कनुहुन्छ । यस्तो व्यक्तिमा कडा  इन्जुरी हुने सम्भावना अझ बढी हुन्छ । कुनै ज्ञान, कुनै सुरक्षाको सावधानी नअपनाएर फुटबल, ब्याडमिन्टन, बास्केटबल लगायत खेल खेल्नुहुन्छ वा रनिङमा जानुहुन्छ भने त्यस्तोमा इन्जुरीको समस्या बढी देखिन्छ । ६ दिन बसेको एक दिनमै निकाल्न खोज्दा के फिटनेस रहन्छ त ?   आजभोलि व्यस्त दैनिकी प्राय: सबैको छ । नाम कमाउन, दाम कमाउन सबै व्यस्त हुन्छन् तर  हाम्रो जीवन नै स्वस्थ भएन भने त्यो नाम र पैसाको काम हुँदैन । म एउटा चिकित्सक भएको नाताले पनि भन्छु- हप्ताभर बसेर एकदिनभरि उफ्रेर राम्रो हुँदैन । बरु एक दिनमा कम्तीमा ३० मिनेट आफ्नो लागि छुट्याउनुपर्छ । म पनि उमेर ढल्कन लाग्यो, अहिले आएर बुझिँदैछ स्वास्थ्य नै धन हो भनेर ।   २४ घण्टामा १ घण्टा वा आधा घण्टा आफ्नो लागि छुट्याउनुपर्छ भन्ने थाहा छ तर, थाहा पाएर पनि हामीले ध्यान दिँदैनौं, बेवास्ता गर्दा कस्तो समस्या उत्पन्न हुन्छ ? पहिलेभन्दा आजभोलि मान्छे धेरै सचेत भइसकेका छन् । धेरैजसाेले फिट्नेस मेन्टेन गर्न खोज्नुहुन्छ तर केही व्यक्ति हुनुहुन्छ, जसलाई मेरो फुर्सद नै छैन भन्ने । तर उहाँलाई एक दिन शरीरले नै बुझाउँछ कि अलिकति व्यायाम चाहियो भनेर । जसले नियमित व्यायाम गर्नुहुन्छ, डाइटिङ गर्नुहुन्छ, आफ्नो जीवनशैली व्यवस्थापन गर्नुहुन्छ, उहाँहरूको उमेर बढी भएपनि जवान नै देखिनुहुन्छ । मेरो भनाइ के हो भने बाँचेर मात्रै बँच्ने होइन । रोग लागेर चोट लागेर औषधी खाएर बाँच्नु त के बाँच्नु ? क्वालिटी अफ लाइफ महत्त्वपूर्ण हुन्छ । यो मेन्टन गर्न आफ्नो दैनिक जीवनमा समय छुट्याउनुपर्छ । जति व्यस्त रहे पनि एक दिनमा ३०-४० मिनेट आफ्नो लागि छुट्याउन सजिलै सकिन्छ ।  यस्ता इन्जुरीबाट कसरी बच्ने ? कुनै पनि काम गर्दा हामीले त्यो विषयमा जानकारी लिएर गर्छौं । तपाईंलाई लाग्छ- अब म हरेक दिन व्यायाम गर्छु, तपाईंलाई कुनै खेलमा रुचि भयो, अब खेल्छुभन्दा सबैभन्दा पहिलो त्यो विषयमा रिसर्च गर्नुपर्‍यो । व्यायाम गर्दा कस्तो खालको गर्ने, त्यो आफ्नो शरीरलाई फिट छ कि छैन भनेर ध्यान दिनुपर्‍यो । मानौं तपाई कहिल्यै व्यायाम गर्नुभएको छैन, एकैदिन कडा खालका व्यायाम गर्नुभयो भने त्यसले इन्जुरी गराउँछ । यसका लागि विस्तारै योजना बनाउनुपर्छ, अर्को कुनै खेल खेल्दा त्यो कसरी खेल्ने तरिका र सुरक्षित कसरी रहने के कस्ता सामग्री प्रयोग गर्ने भन्ने कुरा खोज्नुपर्‍यो । मानौं तपाईंलाई फुटबल खेल्न मन पर्‍यो,  यसका लागि ‘नी क्याप्स, सुज लगाउनुपर्छ । यस्ता सामग्रीले शरीरमा चोट लाग्न दिँदैन । अर्को वार्मअप एकदम आवश्यक छ । कुनै पनि खेल खेल्दा मैदानमा गएर एकैचोटि खेल्ने होइन । शरीरलाई वार्मअप हुन समय लाग्छ । उफ्रने, जगिङ गर्ने गरिसकेपछि मात्र खेल खेल्न जानुपर्छ । यसो गर्दा मुटुको धड्कन मिल्छ, यो कुरामा विशेष ध्यान दिनुपर्छ । उदाहरणका लागि एउटा बास्केटबल खेल्दाको कुरा गरौं । प्रोफेसनल खेलाडीलाई बल लिएर बास्केटमा सुट गर्दा जुन जम्प गरेको हुन्छ, यसलाई ल्याण्डिङ कसरी गर्ने भन्नेबारे सिकाइएको हुन्छ । उफ्रेर गोडा जब भुँइ ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । यो मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भवना हुन्छ । हरेक खेलको यस्तो टेक्निकहरू हुन्छन् ।  यो विषयमा धेरैलाई जानकारी छैन, सचेतना कतिको आवश्यक ठान्नुहुन्छ ? धेरै आवश्यक छ । तर आजभोलि यस्ता विषयमा ज्ञान लिन हामीसँग धेरै पहुँच छ । सबैको हातमा मोबाइल र इन्टरनेट छ । हामीलाई चाहेको कुरा युट्युबमा खोज्न सक्छौं, धेरै चिकित्सकहरूले यसमा आफ्नो धारणा राखेका हुन्छन्, विभिन्न मिडियामा यस्ता आर्टिकल, समाचारहरू आएका हुन्छन्, यसका लागि हामीले खोजी गर्न सक्नुपर्‍यो ।  तपाईंले अहिलेसम्म कस्ता-कस्ता खेलाडीको उपचार गर्नुभयो ? कहिलेकाहीं तयारी अपनाउँदा पनि खेलाडीहरूलाई विभिन्न इन्जुरी भइरहेको हुन्छ । उहाँहरू अस्पताल आउनुहुन्छ । मैले अहिलेसम्म धेरै खेलाडीहरूको उपचार गरेको छु । १८ वर्षको अवधिमा मैले कम्तीमा ६ हजार बढीको उपचार गरेको छु । यसमा खेलाडी र सर्वसाधारण दुवै उत्तिकै पाएको छु । खेलाडीहरूलाई यो विषयमा जानकारी पनि गराइएको हुन्छ भने फिजियो थेरापीदेखि चिकित्सकको पनि सुविधा उहाँहरूलाई हुन्छ । उहाँहरूमा पनि यस्तो समस्या हुन्छ भने अझ बढी सर्वसाधारणलाई यस्तो समस्या भएको मैले पाएको/भेटाएको छु । खेलाडीहरू मात्र नभई अन्यलाई पनि हुन्छ यो समस्या ? यो इन्जुरी खेलाडीहरूलाई मात्र होइन । अन्य काम गर्ने व्यक्तिहरूलाई पनि हुन्छ । जस्तै- फ्याक्ट्रीमा काम गर्ने, घरमा पेन्टिङ गर्ने । कुइनोको छेउमा औंला सिधा गर्ने, नारी उठाउने हाम्रा टेन्डनहरू जुन हड्डीबाट उठेर आएको हुन्छन् । मानौं- एउटै फ्याक्ट्रीमा लामो समयदेखि काम गर्दै आउनुभएको छ, उहाँहरूमा टेन्डन सुनिने गर्छ । अर्को पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । पेन्ट गर्दा सोल्डरहरू चलाइराख्नुपर्छ । यसो हुँदा सोल्डरको कप टेन्डन जसलाई रोटेटर अफ टेन्डन भनिन्छ, त्यसमा इन्जुरी हुन सक्छ । इन्जुरी विभिन्न किसिमका हुन सक्छन् ।  स्पोर्ट्स इन्जुरी कत्तिको गम्भीर हुन्छ ? यस्ता समस्यालाई वेवास्ता गरिरह्यो भने गम्भीर पनि हुनसक्छ । पहिलो चरणमा टेन्डन सुन्निन्छ । हामीले यही चरणमै उपचार गर्न सक्यौं भने निको हुन्छ । र पछि फेरि त्यही काम गर्न पनि सकिन्छ । तर, बेवास्ता गरियो भने समस्या हुन सक्छ । विशेषगरी सोल्डरमा आएको यस्तो समस्यालाई वेवास्ता गरियो भने गम्भीर रूप लिन सक्छ । पहिले सुनिएको भागमा विस्तारै दुखाइ पनि बढ्दै जान्छ , दुखाइ व्यायाम गरेर औषधी खाएर मात्र निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाँका लगाउनुपर्छ ।  कहिलेकाहीं हाम्रो गोडामा चोट लागेर एक्सरे गराउँदा नर्मल देखिएपनि लिगामेन्ट इन्जुरी भएको हुनसक्छ ।  यस्ता समस्या लिएर अस्पतालमा पुग्ने बिरामीहरू कस्तो अवस्थामा पुग्छन् ? सर्वसाधारणले त यो विषयमा खासै जानकारी पाएको देखिँदैन । अस्पताल पुगेका धेरैजसो हात-खुट्टा, जोर्नी सुनिएको भनेर आउनुहुन्छ । चिकित्सकले हेर्दै जाँदा स्पोर्ट्स इन्जुरी भएको हुन्छ । घुँडामा चोट लागेर आएकाहरूमा एक्सरे नर्मल छ तर बढी सुनिएको हुन्छ । लिगामेन्ट इन्जुरी, रोटेटर इन्जुरी, स्पाइनल इन्जुरी, एक्सरे गरेर सबै थाहा हुँदैन। एमआरआई गर्नुपर्ने हुन्छ । अर्को कुरा सबै इन्जुरीमा अप्रेसन नै गर्नुपर्छ भन्ने पनि हुँदैन ।  उपचार नेपालमै सम्भव छ ? अहिले हरेक रोगको उपचार नेपालमै सम्भव छ । स्पोर्ट्स इन्जुरीको उपचार पनि नेपालमै हुन्छ । अहिले यो समस्या हुनेबित्तिकै यो विषयका विज्ञ चिकित्सकलाई पनि भेट्न सकिन्छ । त्यसपछि यसको उपचार के हुन्छ, कसरी गर्ने भन्नेबारे उनीहरूले  सल्लाह दिन्छन् । यो समस्या हुनेबित्तिकै अस्पतालमा पुग्नुपर्छ । कुनै पनि समस्या आयो भने घरमै बस्न हुँदैन ।  स्पोर्टस् इन्जुरीको अप्रेसन कुन माध्यमबाट गरिन्छ ? आभोलि संसार नै मिनिलेबल सर्जरीतिर गइरहेको छ । कस्मेटिकल रूपमा पनि बेटर, हेर्दा घाउ ठूलो पनि नदेखिने, बिरामीलाई धेरै दुखाइ पनि नहुने र डाक्टरलाई पनि सहज हुने, ब्लिडिङ पनि धेरै नहुने आर्थोस्कोपबाट गरिन्छ । पहिले पहिले पेटबाट पित्तको थैली निकाल्दा पनि ठूलो चिरेर निकालिन्थ्यो । अहिले सानो प्वाल पारेर पाइप पठाइन्छ । त्यस्तै, गोडा, सोल्डरलगायत विभिन्न ठाउँमा स-सनो प्वाल बनाएर आर्थोस्कोपबाट अप्रेसन वा उपचार गरिन्छ । यसो गर्न दुई तीन ठाउँमा स-सानो प्वाल पारिन्छ, एउटाबाट क्यामरा पठाइन्छ, अर्कोबाट काम गर्ने सामग्री पठाएर यो माध्यमबाट लिगामेन्टको उपचार गरिन्छ । यसो गर्दा दुखाइ पनि कम हुने, चाँडै निको हुने गर्छ ।  एउटा व्यक्तिले आफ्नो स्वास्थ्यको कसरी ध्यान दिने ? बेसिक कुराहरूमा ध्यान दिनुपर्छ- जस्तै डाइट । धेरैलाई थाहा छ, के खानुहुन्छ, के खानुहुँदैन भनेर । यसमा व्यक्ति स्वयंले पनि ध्यान दिनुपर्छ कि म के खाँदैछु भनेर । अर्को शारीरिक व्यायाम पनि आवश्यक हुन्छ । धेरै कडा खालको नभएपनि आफ्नो जीउलाई फिट हुने खालको व्यायाम हरेक दिन गर्नुपर्छ । अर्को कहिलेकाहीं समय मिलाएर हिँड्ने, कुनै खेल खेल्ने पनि गर्नुपर्छ । काम गर्नुपर्छ तर, दिनरात काम गर्दा पनि यसको नकारात्मक असर पर्छ । यो कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

१ सयमै सोपान फर्मास्युटिकल्सको सेयरधनी बन्ने मौका, बिक्रीमा राख्यो ३ लाख कित्ता सेयर

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आज मंसिर २४ गतेदेखि संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको हो । गत भदौ २४ गते सम्पन्न १५औँ वार्षिक साधारण सभाले चुक्ता पुँजी ९९ करोड रुपैयाँको १ः०.३० अर्थात् ३० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो । सोही बमोजिम कम्पनीले असोज १५ गतेदेखि कात्तिक ३० गतेससम्म अंकित मूल्य १ सय रुपैयाँ दरका २९ लाख ७० हजार कित्ता बिक्री खुला गरेको थियो । उक्त अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ता हकप्रद सेयर खरीदका लागि आवेदन प्राप्त भएको र रितपूर्वक आवेदन दिएका संस्थापक सेयरधनीहरूमा माग गरे बमोजिम बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँकी रहेको पौने ३ लाख कित्ता हकप्रद सेयर सर्वसाधारण लगानीकर्ताका बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले पुस ३ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

काठमाडौं ।  काठमाडौंकि एक २३ वर्षीय युवती ग्यास गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै  थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोडेर हेर्दा उनी बेहोसी अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्छन्, ‘बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।’ जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन् । मङ्सिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ । डा बम भन्छन्, ‘जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बोन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।’ झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बोन मोनोअक्साइड अत्यधिकमात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ । ‘कोठा गुम्सिएर कार्बोन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बोन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बोन मोनोअक्साइड पोइजनिङ हुन्छ’, उनी भन्छन् । कार्बोन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरु देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरुलाई अनुभव गर्न नपाइ बेहोसी अवस्थामा बिरामीहरु भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउनुहुन्छ । लामो समय बेहोसी अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ । छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठ भन्छन्, ‘आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बोन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।’ उनले कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा  भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको बताउँछन्। डा श्रेष्ठ भन्छन्, ‘सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला बाल्नु हुँदैन । पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका  पूर्ण रुपमा बन्द गरेर नुहाउनु हुँदैन ।’ विज्ञकाअनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने ,घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकी प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ । डा श्रेष्ठ भन्छन्, ‘उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।’ धेरै जसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोस पछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभएपनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पुर्‍याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पुर्‍याउँछ । त्यस्तो बिरामी बाँचेपनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ । भने बिरामी श्ययामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा श्रेष्ठको भनाइ छ । चिकित्सकहरु ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिनुहुन्छ । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ की छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडा नजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने उनको सुझाव छ । रासस